काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाको आईपीओ बाँडफाँड भएको छ । उक्त आईपीओ बुधबार बिहान सेयर निष्काशन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलको केन्द्रिय कार्यालयमा भएको हो ।
क्यापिटलका अनुसार रितपूर्वक आवेदन दिएकामध्ये ३० हजार ९ सय २९ जनालाई गोलाप्रथा विधिमार्फत ३ लाख ९ हजार २९० कित्ता सेयर बाँडफाँड गरिएको छ । उनीहरुले पहिलो लटमा १० कित्ताको दरले सेयर पाएका हुन् । र, बाँकी रहेको ५ कित्ता सेयर भने त्यसमध्ये पनि ५ जनाले थप एक एक कित्ताको दरले कूल ११ कित्ता सेयर पाएका छन् ।
सिडिएस एण्ड क्लियरिङ्गका अनुसार लघुवित्तको आईपीओमा १९ लाख ५२ हजार ४६० जनाले आवेदन दिएका थिए । त्यसमध्ये १८ लाख ६४ हजार ६४० वटा आवेदन रितपूर्वक रहेको क्यापिटलले जनाएको छ । यससँगै ८७ हजार ८२० वटा आवेदन भने रद्ध भएको छ ।
लघुत्तिले साउन २४ गतेदेखि साउन २९ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका ३ लाख ३१ हजार कित्ता आईपीओ निष्काशन गरेको हो ।
जसमध्ये ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुका लागि र बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याएको थियो ।