
काठमाडौं । विश्वकै एक अग्रणी इलेक्ट्रोनिक्स र स्मार्टफोनहरुको ब्राण्ड सामसङले नेपाली कम्पनी हिम इलेक्ट्रोनिक्ससंगको सहकार्यमा नवलपरासीमा टिभी कारखाना स्थापना गर्ने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडु र सामसङ इलेक्ट्रोनिक्सका ग्लोबल अध्यक्ष तथा सीईओ एचके पाकले संयुक्त रुपमा कारखानाको सिलन्यास गरेका छन् ।
कारखानाले सन् २०२३ देखि उत्पादन शुरु गर्ने लक्ष्य लिएको छ । सन् १९९७ देखि कोरियाली ब्राण्डको रुपमा परिचित सामसङका उत्पादन २०२३ पछि नेपालको घरेलु ब्राण्डको रुपमा उभिने भएको छ ।
हाल सामसङले आफ्नो साझेदार मार्फत् नेपालमा उपभोक्तामुखी इलेक्ट्रोनिक्स उत्पादनहरु टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ्ग मेसिन, माइक्रोवेव र स्मार्ट फोनहरु बिक्री वितरण गर्दै आइरहेको छ । नेपालमा ५०० भन्दा बढी इलेक्ट्रोनिक्स रिटेल स्टोरहरु र ग्राहक सेवा केन्द्रहरुको बलियो सञ्जालमार्फत् सामसङले सेवा प्रदान गर्दै आइरहेको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले स्थानीय उत्पादन क्षमताहरु वृद्धिमा जोड दिने सरकारको नीति रहेका बताउँदै यस्तो उद्योगले बैदेशिक व्यापार घाटा कम गर्न मद्दत पुग्ने बताए । उनले सामसङ जस्तो बहुराष्ट्रिय उद्योगले नेपालीसँगको साझेदारीमा नेपालमा उद्योग खोल्नेले नेपालको बारेमा अन्तराष्ट्रिय बजारमा पनि राम्रो सन्देश जाने बताए ।
सोही समारोहलाई सम्बोधन गर्दै गोल्छा अर्गनाइजेसनका अध्यक्ष एवं हिम इलेकट्रोनिक्स प्रबन्ध निर्देशक शेखर गोल्छाले नयाँ टिभी कारखाना नेपालको लागि एउटा कोसेढुङ्गा साबित हुनेछ । कारखानाको स्थापनाले देशमा उद्योगधन्दाको विकाससंगै दक्षता र उत्पादकत्वमा वृद्धि भई विश्व बजारमा थप प्रतिस्पर्धी बनाउन मद्दत पुग्ने विश्वास उनले व्यक्त गरे ।
उनले हिम इलेकट्रोनिक्स र सामसङबीच २२ वर्ष लामो सहकार्यको सुखद भएको र यसैको परिणाम दुई कम्पनीबीचको साझेदारीमा उद्योग स्थापना गर्न सफल भएको बताए ।
नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष समेत रहेका शेखर गोल्छाले यो कारखाना स्थापनासँगै नेपालको उत्पादन यात्रामा एक महत्वपूर्ण अध्यायको शुरुवात गर्ने, स्थानीय उद्यम, नवीन सीप र दक्षता, आविष्कारहरु तथा रोजगारीका साथ देशमा इलेक्ट्रोनिक्सको क्षेत्रलाई रुपान्तरण गर्ने सम्भावनाहरु व्यापक बनाएको बताए ।
समारोहलाई सम्बोधन गर्दै सामसङ दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङले लामो समयदेखिको साझेदार हिम इलेकट्रोनिक्ससंग मिलेर हामीले नवलपरासीमा स्थापना गर्न लागेको यो नयाँ एलइडि टिभी कारखाना नेपाली जनता प्रतिको हाम्रो निरन्तर प्रतिबद्धताका साथै सामसङका उत्पादनहरु प्रति उपभोक्ताहरुले देखाएको बढ्दो विश्वास एवं मायाको प्रतिक रुपमा व्याख्या गरे ।

उक्त समारोहमा लुम्बिनी प्रदेशका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अजय शाही, गोल्छा समूहका अध्यक्ष तथा हिम इलेक्ट्रोनिक्स प्रबन्ध निर्देशक शेखर गोल्छा, सामसङ्ग दक्षिण पश्चिम एशियाका क्षेत्रीय अध्यक्ष एवं सिइओ केन काङ, दक्षिण कोरीयाका राजदूत पार्क चोँग सुक, नवलपरासीका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल लगायतको उपस्थिति रहेको थियो ।