काठमाडौं । पिपुल्स पावर लिमिटेडको आईपीओ आइतबार बाँडफाँट गरिने भएको छ । निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार कम्पनीको आईपीओ भदौ १२ गते आइतबार बाँडफाँट गरिने भएको हो ।
कम्पनीले साउन ३१ गतेदेखि भदौ ५ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका २४ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्काशन गरेको थियो । जसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३४८ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात १ लाख २३ हजार ३७० कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि, बाँकी २२ लाख ९४ हजार ६८२ कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको छ ।
कम्पनीको आईपीओमा अन्तिम दिनसम्म मागभन्दा ७.९३ गुणा बढी आवेदन परेको छ । कम्पनीको आईपीओमा १६ लाख ६ हजार ११० जनाले आवेदन दिएका छन् । आवेदन दिएका लगानीकर्ताले १ करोड ८२ लाख १९ हजार ७० कित्ता खरिदका लागि १ अर्ब ८२ करोड १९ लाख ७ हजार रुपैयाँ बरारको आवेदन दिएका हुन् ।
कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथा विधिमार्फत १० कित्ताका दरले बाँडफाँट गरिनेछ । १० कित्ताका दरले बाँडफाँट गर्दा २ लाख २९ हजार ४६८ जना आवेदकले मात्रै कम्पनीको आईपीओ प्राप्त गर्नेछन् ।
१० कित्ताका दरले आईपीओ बाँडफाँट गर्दा २ कित्ता बाँकी रहन्छन् । २ जना आवेदकलाई भने बाँकी रहेको २ कित्ताबाट एकएक कित्ता थप गरेर ११ कित्ता दरले बाँडफाँट गरिनेछ । बाँकी आवेदन दिएका लगानीकर्ताको हात रित्तो हुनेछ ।