
काठमाडौं । प्रमोटर सेयरको लकिङ पिरियड सकिएपछि शिवम् सिमेन्ट लिमिटेडको सेयर मूल्यमा उच्च गिरावट आएको छ । साथै कम्पनीको नाफा पनि ५१ प्रतिशतले घटेको छ ।
गत माघसम्मका शिवम् सिमेन्ट लिमिटेडकाे प्रमोटर सेयर ८८ प्रतिशत र सर्वसाधारणको सेयर १२ प्रतिशत रहेको थियो । त्यतिबेला यस कम्पनीको सेयर प्रतिकित्ता १६७१ रुपैयाँसम्ममा किनबेच भएको थियो ।
अहिले सबै सेयर पब्लिक भएकाे छ । सेयर मूल्य झरेर ६६० रूपैयाँमा किनबेच हुन थालेकाे छ ।
कम्पनी सचिव लेखनाथ अर्यालका अनुसार यस कम्पनीको प्रमोटर सेयरको लकिङ पिरियड गत मागमा सकिएको हो । अहिले कम्पनीको सबै सेयर साधारण सेयर सरह किनबेच खुला भएको छ ।
कम्पनीले यहि भदौ महिनामा विशेष साधारणसभा गरेर प्रबन्ध पत्र र नियामलीमा समेत संशोधन गरी सेयरको वर्गिकरण र सञ्चालक समितिमा रहने प्रतिनिधिको वर्गिकरण हटाएको छ । अब सबै सेयरधनी र सबै सञ्चालक एउटै अर्थात सर्वसाधारण सेयरधनीको हैसियतमा रुपान्तरित भएका छन् ।
सबै प्रमोटर सेयर पब्लिक सरह किनबेच भैरहँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १००० रुपैयाँ भन्दा बढीले घटेको छ । गत माघ ३ गते यस कम्पनीको सेयर प्रतिकित्ता १६७१ रुपैयाँसम्मका किनबेच भएको नेप्सेले जनाएको छ । आइतबार शिवमको सेयर प्रतिकित्ता ६६० रुपैयाँमा कारोबार भयो ।
यस अवधिमा प्रतिकित्ता १०११ रुपैयाँले सेयर मूल्यमा गिरावट आएको छ । माघदेखि भदौंसम्ममा कम्पनीको सेयर मूल्यमा ६० दशमलव ५० प्रतिशतले घटेको छ ।
कम्पनीको नाफा पनि ५० दशमलव १९ प्रतिशतले घटेको छ । २०७८ असार मसान्तमा कम्पनीले १ अर्ब ४१ करोड २६ लाख रुपैयाँ खुद नाफा गरेकोमा २०७९ असार मसान्तमा ६८ करोड ९३ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले प्रकाशित गरेकाे लेखापरिक्षण हुन बाँकी वित्तीय विवरणमा उल्लेख गरिएकाे छ ।
कम्पनीको चुक्ता पुँजी ४ अर्ब ४० करोड रुपैयाँ छ । गत आर्थिक वर्षको नाफाबाट कम्पनीले सेयरधनीलाई करिब ६ प्रतिशत मात्र लाभांश दिन सक्छ ।
१० प्रतिशतभन्दा बढी लाभांश दिनसक्ने समार्थ्य भएका बैंकको सेयर मूल्य २०० रुपैयाँमा झरेको अवस्थामा ६ प्रतिशत लाभांश दिन सक्ने शिवमकाे सेयर मूल्य अझै घट्न सक्ने विश्लेषण एक लगानीकर्ताले गरे ।