गोल्ड मेडलिस्ट अनु : खेलकुदसँगै बैंकिङमा पनि जम्दै

<p>काठमाडौं । ‘मैले लगाएको जर्सी नम्बर ४ हो, त्यसैले मैले ४ गोल मात्रै गरेँ, बढी नम्बरको जर्सी लगाएको भएर बढी नै गोल गर्थेँ,’ खेल सकिएपछि ४ नम्बर जर्सी लगाएकी खेलाडीले ठट्टा गर्दै पत्रकारसँग भनिन् । शुक्रबार विकासन्युजले हरितालिका तीजको अवसरमा आयोजना गरेको बैंकर्स र बीमकबीच गरेको मैत्रीपूर्ण फुटसल खेल अवधिभर चर्चाको विषय बनिन् जर्सी नम्बर [&hellip;]</p>

काठमाडौं । ‘मैले लगाएको जर्सी नम्बर ४ हो, त्यसैले मैले ४ गोल मात्रै गरेँ, बढी नम्बरको जर्सी लगाएको भएर बढी नै गोल गर्थेँ,’ खेल सकिएपछि ४ नम्बर जर्सी लगाएकी खेलाडीले ठट्टा गर्दै पत्रकारसँग भनिन् ।

शुक्रबार विकासन्युजले हरितालिका तीजको अवसरमा आयोजना गरेको बैंकर्स र बीमकबीच गरेको मैत्रीपूर्ण फुटसल खेल अवधिभर चर्चाको विषय बनिन् जर्सी नम्बर ४ अर्थात् अनु अधिकारी ।

हिमालयन बैंकको रेमिट्यान्स विभागमा कार्यरत अनुले शुक्रबारको फुटसल प्रतियोगितामामै सर्वाधिक चार गोल गरेर २५ हजार रुपैयाँ पुरस्कार हात पारिन् ।

काठमाडौंको लैनचौरस्थित हरियो र सुन्दर खेल मैदान । घर्कदो दिन, नजिकिदो साँझको समय । न घाम न पानी । खुल्ला आकाश । त्यही सुन्दर मैदानमा बैंकर्स र बीमकबीच घमसान फुटसल भइरहेको थियो । अनुको खुट्टामा बल पर्ने वित्तिकै दर्शक दीर्घाबाट हुटिङ भैहाल्थ्यो ।

रातो रङ्ग भएको जर्सी बैंकर्स र निलो रङ्ग भएको जर्सी बीमकको थियो । जर्सी नम्बर १ देखि १४ नम्बरसम्मका खेलाडी खेल मैदानमा रातो र नीलो गरी उत्रिएका थिए ।

शुक्रबारका दिन लैनचौरको मैदानमा बैंकर्स महिला र बीमक महिलाबीच मैत्रीपूर्ण फुटसल खेलमा पहिलो गोल ४ नम्बर जर्सीले गरिन् । त्यसपछि सबैको नजर रातो रङ्गको जर्सी नम्बर ४ लेखिएको खेलाडीमा थियो ।

दोस्रो गोल भने रातो रङ्गमा १४ नम्बर लेखिएकी सिभिल बैंककी समिक्षा खड्काले गरिन् । ४० मिनेटसम्म भएको मैत्रीपूर्ण खेलमा बीमक विरुद्ध बैंकर्सले ५–० को अग्रता कायम गर्याे । ५ गोल भएकोमा ४ वटा गोल ४ नम्बर लेखिएको हिमालयन बैंककी अनु अधिकारीले गरिन् ।

खेल शुरु भएको ५ मिनेटको समयमा नै उनले पहिलो गोल गरेकी थिइन् । त्यसपछि पहिलो गोल गरेको ८ मिनेटमा दोस्रो गोल गरेकी अनुले पहिलो हाफ अर्थात् २० मिनेटमा ३ वटा गोल गरिन् ।

उनले खेल सकिनु एक मिनेट अघि मात्रै चौंथो गोल गरिन् । त्यो गोल उनका लागि सम्झन लायक बन्यो । किनभने अन्तिम गोल बाँया खुट्टाले गरेकी थिइन् । दायाँ खुट्टाले ३ वटा गोल गरेकी अनुले अन्तिम समयमा बाँया खुट्टाले गोल गर्दा स्मरण भइरहेको बताउँछिन् ।

‘अहिले पनि स्मरणमा छ, अन्तिम पटकको गोल हान्दा रमाइलो लागिरहेको छ, मेरो दायाँ खुट्टा बढी चल्छ, रेफ्रिले समय सकियो भन्दै थियो गोल गर्दा बायाँले हाने, अन्तिम १ मिनेट बाँकी हुँदा चौथौं गोल गरेकी हुँ, आफूलाई पनि खत्रा नै हाने जस्तो लाग्यो,’ उनले भनिन् ।

पहिलो हाफमा उनको खुट्टा अनुसारको पोस्ट परेको थियो । २० मिनेटको समय सकिएर पोस्ट परिवर्तन भएपछि भने गोल हान्नलाई गाह्रो भएको उनले बताइन् । तैपनि दोस्रो हाफमा एक गोल हानेर आफ्नो भागमा ४ गोल पुर्याइन् ।

फुटसल अवधिभर जर्सी नम्बर १० र जर्सी नम्बर ७ का कारण गोल गर्न सहज भएको उनको भनाइ छ । ‘उहाँहरुले मिक्सिङमा खेल्नु भयो, पास राम्रो गर्नुभयो, फुटबलमा एक्लै खेल्ने भन्ने हुँदैन, टीममा खेल्ने हो, त्यसैले टीमको सहायता लिएर गोल गर्न सफल भए,’ अनुले भनिन् ।

खेल मैदानमा उनी कयौं पटक लडिन् । उनी खेलमैदानमा लडेपनि साहस झन् थपिदै गएको थियो । खेलको मध्यतिर गोल पोस्ट नजिकै बल लगेर जाँदा विपक्षिले छेक्न खोज्दा उनी लडिन् । उनको खुट्टामा चोट लाग्यो तर उनी तुरुन्तै उठेर शारीरिक पीडा भन्दा पनि गोल गर्ने लक्ष पुरा गर्न तर्फ लम्किरहिन् ।

खेल सुरु हुनुभन्दा अघि सबै जना खेलाडी अभ्यास गरिरहेका थिए । खेलाडी अनु अधिकारी भने शारीरिक व्यायाम गरिरहेकी थिइन् । उनको यो दृश्यले खासै फुटबलमा चासो नरहेको भन्ने देखाउँथ्यो । शारीरिक अभ्यासले फुटबल खेलाडी भन्दा पनि अन्य खेलाडी रहेको उनको अभ्यासले बताइरहेको थियो ।

पेशाले बैंकर र खेलाडी दुवै हुन् । २ वर्षदेखि उनी हिमालयन बैंकमा काम गर्दै आइरहेकी उनी १३ औंसाउथ एशियन गेम (साग) को ‘गोल्ड मेडलिस्ट’ हुन् । यसअघि बङ्गलादेशमा भएको ११ औं सागमा ‘सिल्भर मेडलिस्ट’ बनेकी थिईन् । २ पटक राष्ट्रिय खेल खेलिसकेकी उनी १६ वर्षदेखि कराँतेमा सक्रिय छिन् ।

२०१३ मा जापानमा भएको वल्र्ड च्याम्पियनसिप खेलिसकेकी उनले त्यो बेला भने मेडल जित्न सकिनन् । थर्ड प्लेसको लागि खेलेकी उनले २ वटा फाइट जितेकी थिइन् । तर मेडल भने हात पार्न सकिनन् ।

१२ वर्षदेखि कराँतेको राष्ट्रिय टीममा राष्ट्रिय खेलाडीका रुपमा सक्रिय छिन् । ३–४ वर्षदेखि कोरोना महामारीका कारण निस्क्रिय जस्तै बनिन् । तैपनि उनले खेल्न भने छाडेकी छैनन् । कराँतेमा हुँदा कहिलेकाँही फुटबल खेल्ने गरेको उनको अनुभव छ । लामो समयपछि खेल्दा रमाईलो लागेको उनले बताइन् । ‘धेरै समयपछि सबैसँग भेटघाट भएर खेल्दा रमाइलो भयो, छोटो समयमा टीम पनि सेट भयो,’ उनले भनिन् ।

लैनचौरको मैदानमा पाइला टेक्नुभन्दा अघि एक खेलाडीले अर्काे खेलाडीलाई चिनेका पनि थिएनन् । यहि कारणले सबै खेलाडीको मनमा एक किसिमको चिसोपना महसुस भएको थियो । उनीहरुले छोटो समयमा नै टीम भित्र समन्वय गरेर आफ्नो टीमलाई बलियो बनाए । खेल खेल्दा उनीहरु यसअघि पनि टीम बनाएर खेलेको जस्तो देखिन्थ्यो ।

‘एकदिनमा यति धेरै खेल्न सक्छन् भने सधैं अभ्यास गर्ने हो भने राम्रो खेल्न सकिन्छ, यो अवसर मिलाएकोमा विकासन्युजलाई धन्यवाद छ,’ बैंकर्स अधिकारीले भनिन्, ‘राष्ट्रिय खेलमा पनि जित्नेलाई यति धेरै पुरस्कार हुँदैन, यो एउटा सुरुवात हो, २५ हजार धेरै हो, यो सरकारलाई पनि घोच्ने टाइपको छ ।’ उक्त पुरस्कार राशी एलएलजी इन्स्योरेन्सले उपलब्ध गराएको थियो ।

यसअघि कुनै पनि फुटसल वा फुटबल प्रतियोगीमा सहभागी नभएपनि फुटबलमा रुची भएको बैंकर्स अधिकारी बताउँछिन् । ‘म कराँतेको खेलाडी भएको हुनाले पनि गोल गर्न सहज भएको हो, कराँतेमा हुँदा समूहमा कहिलेकाँही फुटबल खेल्थे, मलाई फुटबल राम्रो लाग्छ,’ उनले भनिन् ।

शंकरदेव क्याम्पसबाट एमबिएस गरेकी अनुले बैंकिङ्ग पेशा अंगाले पनि कराँते भने छोडेकी छैनन् । बैंकले कराँतेको अभ्यास गर्न समय दिने गरेको उनको भनाई छ ।

‘खेलाडीका लागि सबैभन्दा ठूलो गोल्ड मेडल हो, गोल्ड मेडल पाइसकेँ, अहिले ट्रेनिङ गरिरहेकी हुन्छु, कराँतेको अभ्यासका लागि बैंकले पनि सहज वातावरण बनाएको छ, बिहान केही समय ढिला आएपनि बैंकले समय दिएको छ, अहिले पनि कराँतेमा सक्रिय नै छुँ,’ उनले भनिन् ।

बैंकिङ्ग क्षेत्रका लागि शैक्षिक योग्यता पनि रहेकाले बैंकमा जागिर गरेको उनले बताइन् । बैंकमा काम गर्ने इच्छा भएकाले फाइनान्स पढेको उनको भनाइ छ । नवविवाहित भएपनि घरपरिवारबाट सबै सहयोग रहेको उनले बताइन् । समय मिलेसम्म अझै पनि कराँते खेल्ने रहर उनीमा छ ।

विकासन्युजले महिलाहरुको विशेष पर्व हरितालिका तीजका अवसरमा भदौ १० गते बैंक भर्सेस बीमा मैत्रीपूर्ण फुटसल आयोजना गरेको थियो । विभिन्न वाणिज्य बैंकमा कार्यरत १४ जना महिला र विभिन्न बीमा कम्पनीमा कार्यरत १४ जना गरी २८ जनाले सहभागीता जनाएका थिए । कार्यक्रममा नेपाल राष्ट्र बैंककी डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना प्रमुख अथितिको रुपमा उपस्थित भएकी थिईन् ।

प्रतियोगीतामा भाग लिएका खेलाडीसँग थुप्रै प्रतिभा रहेको बैंकर्स अधिकारी बुझाइ छ । बैंक तथा बीमा क्षेत्रमा यस्ता गतिविधि कम हुने गरेकाले अवसरका लागि आभार प्रकट गरिन् ।

Share News