काठमाडौं । बीमा कम्पनीहरुमध्ये नेशनल लाइफ इन्स्योरेन्सले मात्रै घर जग्गामा लगानी गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा जीवन, निर्जीवन र पूनर्बीमा कम्पनीमध्ये नेशनल लाइफले मात्रै उक्त क्षेत्रमा लगानी गरेको हो ।
कम्पनीले एक वर्षको अवधिमा ३६ करोड २४ लाख ८४ हजार रुपैयाँ घर जग्गामा लगानी गरेको छ । समितिका अनुसार कम्पनीहरुले कूल लगानीमध्ये बढीमा ५ प्रतिशत घर जग्गामा पाउने व्यवस्था छ । तर, उक्त व्यवस्थालाई अधिकांश कम्पनीले अटेर गरेको पाइएको छ । गत आवमा कम्पनीहरुले घर जग्गामा शून्य लगानी गरेका छन् ।
त्यस्तै, जीवन बीमा कम्पनीमध्ये ४ वटा कम्पनीले नेपाल सरकारको बचतपत्रमा २ अर्ब ४ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । जसमा मेट लाइफले १ अर्ब ६८ करोड, लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले १० करोड, राष्ट्रिय बीमा संस्थाले २५ करोड रुपैयाँ र सन नेपाल लाइफले १ करोड रुपैयाँ बराबरको लगानी गरेका हुन् ।
‘क’ वर्गको बैंकको मुद्दती निक्षेपमा भने सबै कम्पनीले लगानी गरेका छन् । १९ वटै कम्पनीले एक वर्षमा ३ खर्ब १६ अर्ब रुपैयाँ बराबरको लगानी गरेका बीमा समितिले जानकारी गराएको छ । जुन कम्पनीहरुले गरेको लगानीमध्ये सबैभन्दा बढी हो ।
त्यस्तै, नेपाल पूर्वाधार बैंकको मुद्दती निक्षेपमा २५ करोड रुपैयाँ बराबरको लगानी रहेको छ । नेशनल लाइफ, सूर्या लाइफ, प्राइम लाइफ, ज्योति लाइफ र सन नेपाल लाइफ गरी ५ वटै कम्पनीले ५/५ करोड उक्त क्षेत्रमा लगानी गरेका हुन् ।
यता सूचीकृत कम्पनीको सेयरमा मेटलाइफबाहेक सबैले लगानी गरेको पाइएको छ । १८ कम्पनीले कूल ८ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी गरेका हुन् ।
त्यसैगरी विभिन्न बैंक तथा वित्तीय संस्थाको अग्राधिकार सेयर र ऋणपत्रमा जीवन बीमा कम्पनीहरुले ३० अर्ब ९७ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । यो क्षेत्रमा नेशनल लाइफ इन्स्योरेन्स, नेपाल लाइफ, मेट लाइफ, एशियन लाइफ, आइएमई लाइफ, ज्योति लाइफ, सन नेपाल लाइफ र रिलायबल लाइफको भने शून्य लगानी छ ।
त्यस्तै, सूचीकृत कम्पनीको ऋणपत्रमा २१ अर्ब ८७ करोड, पूर्वाधार क्षेत्रमा ७ अर्ब १४ करोड, म्युचुअल फण्ड तथा नागरिक लगानी कोषमा ९८ करोड ४१ लाख, ख वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्दती निक्षेपमा ४२ अर्ब ४४ करोड रुपैयाँ र ग वर्गको बैंक तथा वित्तीय संस्थाको मुद्धती निक्षेपमा ४ अर्ब ९४ करोड रुपैयाँ लगानी गरेका छन् ।
त्यसैगरी, अन्य लगानी अन्तर्गत संस्थापक सेयरमा ८ अर्ब ८ करोड, सूचीकृत नभएको कम्पनीमा ४२ करोड ७३ लाख र अन्य लगानीमा २८ अर्ब ७४ करोड ७९ लाख रुपैयाँ लगानी गरेका छन् ।
समग्रमा जीवन बीमा कम्पनीहरुले विभिन्न क्षेत्रमा कूल ४ खर्ब ७३ अर्ब १६ करोड रुपैयाँ बराबरको लगानी गरेका छन् । जुन अघिल्लो वर्षको तुलनामा ३१.६७ प्रतिशतले बढी हो । कम्पनीहरुले आर्थिक वर्ष २०७७/७८ मा ३ खर्ब ५९ अर्ब ३३ करोड रुपैयाँ बराबरको लगानी गरेका थिए ।