काठमाडौं । नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक डा. गोपाल भट्टले नगद मात्रै नभएर सेयर पनि सापटीको रुपमा दिने व्यवस्था हुनुपर्ने बताएका छन् । सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले मार्जिन लेण्डिङमा राष्ट्र बैंकले स्पष्ट नीति बनाएर सेयर पनि सापटीको रुपमा दिने व्यवस्था गर्नु पर्ने धारणा राखेका हुन् ।
चाहिएको पैसा पुँजी बजारले पुर्याउने काम गर्ने बताउँदै उनले भने, ‘पैसा चाहिएको छ भने पुँजी बजारले पुर्याउने काम गर्छ, चिनी उधोगलाई पैसा आवश्यक परेमा सेयर बजारबाट संकलन गर्न सक्छ, लगानीकर्ताले बढी उपभोग पाउनलाई लगानी गर्छन् ।’
बढी प्रतिफल पाउन बढी जोखिम मोल्नु पर्ने बताउँदै उनले आफ्नो लगानीको भन्दा बढी लगानी गर्नका लागि मार्जिन कर्जा लिने बताए । उनले अमेरिकामा मार्जिन कर्जा लिने लगानीको शेयर ब्रोकरको नाममा हुनु पर्ने र सेयर बजार २५ प्रतिशत घटेपछि मार्जिन कल गर्न शुरु गर्ने धारणा राखे ।
नेपालमा ब्रोकरलाई सबै किसिमका ऋण दिन नपाउने व्यवस्था गरेकोले असहज भएको छ, यसलाई सहज बनाउनुपर्छ, ब्रोकरसङ्ग पनि सीमित पुँजी हुने भएकाले बैंकबाट सापटी लिनुपर्ने हुन्छ, रास्ट्र बैंकले पनि स्पष्ट नीति बनाएर मार्जिन कर्जा कति बर्ष, कति रकमसम्म लिन पाउने भन्ने व्यवस्था गर्नु पर्छ,’ उनले भने ।