काठमाडौं । हिमालयन बैंकले आज (भदौ १५ गते) देखि २ अर्ब ५० करोड रुपैयाँ बराबरको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ । बैंकले वार्षिक १०.५० प्रतिशत ब्याजदरमा ‘हिमालयन बैंक बण्ड २०८६’ निष्काशन तथा बिक्री खुला गरेको हो । बैंकको उक्त ऋणपत्रको अवधि ७ वर्ष रहेको छ ।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्य दरका २५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । जसमध्ये ४० प्रतिशत अर्थात् १० लाख कित्ता सर्वसाधारण र बाँकी ६० प्रतिशत अर्थात् १५ लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री खुला गरेको हो । सर्वसाधारणलाई निष्काशन गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ५० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ ।
बैंकको सो ऋणपत्रमा छिटोमा भदौ १९ गतेसम्म र ढिलोमा भदौ २९ गतेसम्म आवेदन दिन सकिनेछ । बैंकको ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम २ लाख ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । बैंकको ऋणपत्रमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो सेयरको वेब तथा एप मार्फत् आवेदन दिन सक्नेछन् ।