काठमाडौं । अघिल्लो वर्षको तुलनामा गत वर्ष म्युचुअल फण्डको प्रतिफल घटेको छ । सेयर बजार बढेपछि राम्रो आम्दानी गरेका म्युचुअल फण्डले इकाईधनीहरुलाई मनग्य प्रतिफल वितरण गरेका थिए । तर गत वर्ष बजारमा गिरावट आएसँगै म्युचुअल फण्डको नाफा घट्दा प्रतिफल पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा विभिन्न कम्पनीका २७ म्युचुअल फण्ड सूचीकृत छन् । अघिल्लो वर्ष सेयर बजारले रेकर्ड राख्दै नयाँ उचाइ चुम्न सफल भएपछि म्युचुअल फण्डको राम्रो आम्दानी भएको थियो । आम्दानी बढेसँगै फण्डले इकाईधनीहरुलाई मनग्य प्रतिफिल दिएका थिए । तर गत वर्ष भने म्युचुअल फण्डको लाभांश घटेको हो ।
हालसम्म ८ वटा म्युचुअल फण्डले गत आर्थिक वर्ष २०७८/२०७९ को लाभांश वितरण गर्ने घोषणा गरेका छन् । जसमा अधिकांश फण्डको लाभांश घटेको छ । तर २ वटा फण्डको भने लाभांश बढेको छ ।
लक्ष्मी क्यापिटलका दुई वटा म्युचुअल फण्डको प्रतिफल दोहोरो अंकबाट एकल अंकमा झरेको छ । यस्तै, एनआईविएल प्रगति फण्ड र सिद्धार्थ इक्विटी फण्डको प्रतिफल पनि सिंगल डिजिटमा झरेको छ । यस्तै, एनएमबि फिफ्टी, सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ र सनराइज फर्स्ट म्युचुअल फण्डको पनि लाभांश घटेको छ ।
यता एनएमबि हाइब्रिड फण्ड एल–१ को भने लाभांश वृद्धि भएको छ । हालसम्म लाभांश घोषणा गरेका म्युचुअल फण्डहरुमा एनएमबि हाइब्रिड फण्ड एल–१ ले अघिल्लो वर्षको तुलनामा बढी घोषणा गरेको हो ।
