काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले शुक्रबारको कारोबार हटाउने निर्णय गरेको छ । नेप्सेको सञ्चालक समितिको आइतबार बसेको बैठले शुक्रबारको कारोबार यसै सातादेखि हटाउने निर्णय गरेको नेप्सेका उपमहानिर्देशक निरन्जन फुयालले जानकारी दिए ।
भदौ २४ गते शुक्रबार बिदाको दिन परेकाले नेप्सेले सोही दिनदेखि शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेको उनले बताए । यससँगै यसै साताको शुक्रबारदेखि सेयर कारोबार बन्द हुने भएको हो ।
शुक्रबारका दिन कारोबार प्रभावकारी नभएको र सो दिनको कारोबार हटाउनको लागि लगानीकर्ताले चौतर्फी दवाव दिइरहेका थिए । सोही बमोजिम नेप्सेले शुक्रबारको कारोबार बन्द गर्ने निर्णय गरेको हो ।
पेट्रोलियम पदार्थको खपत घटाउन सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेपछि नेप्से कारोबारको समय तालिका नै परिवर्तन भएको थियो । सरकारले शनिबार र आइतबार सार्वजनिक विदा दिएपछि आइतबारको सेयर कारोबार शुक्रबार सारिएको थियो । तर, सरकार आफै २ दिन विदा दिने निर्णयबाट पछि हटेपछि नेप्सेले शुक्रबार २ घण्टा कारोबार थप गरेको थियो ।