काठमाडौं । निरन्तरको ओरालो यात्रामा रहेको सेयर बजारमा आइतबार हरियाली छाएको छ । नेपालको अर्थतन्त्रमा देखिएको समस्या विस्तारै सुधार उन्मुख हुँदै गएपछि लगानीकर्तामा उत्साह देखिएको छ । यस्तै, नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेञ्ज ल्याउनलाई नियमावली संशोधन गरेको विषयले पनि बजारमा सकारात्मक प्रभाव पारेको सेयर जानकार बताउँछन् ।
राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, अर्थमन्त्री जनार्दन शर्माले आर्थिक सूचकमा सकारात्मक सुधार आएको र देशलाई आर्थिक संकटबाट हुनबाट जोगाएको बताएपछि यसको प्रत्यक्ष प्रभाव सेयर बजामा परेको सेयर विज्ञहरुले बताएका छन् ।
साताको पहिलो दिन नेपा स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ६.६८ अंकले बढेर १९७७.३० अंकमा बन्द भएको छ । यस्तै, आइतबार दिनभरिमा २२७ कम्पनीको २८ लाख ७६ हजार २८८ कित्ता सेयर २५ हजार ३७ पटक खरिद बिक्री हुँदा १ अर्ब ७ करोड १६ लाख १५ हजार ९२२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
बैंकिङ्ग समूह ०.१२ प्रतिशत, विकास बैंक समूह १.५७ प्रतिशत, फाइनान्स समूह ०.६३ प्रतिशत, हाइड्रोपवार समूह ०.९५ प्रतिशत, इन्भेष्टमेन्ट समूह ०.११ प्रतिशत, जीवन बीमा समूह ०.५० प्रतिशत, माइक्रोफाइनान्स समूह ०.४९ प्रतिशत, निर्जीवन बीमा समूह १.८५ प्रतिशत र ट्रेडिङ समूह ०.२५ प्रतिशत बढेको छ ।
यस्तै, होटल तथा पर्यटन समूह ०.६२ प्रतिशत, म्यानुफ्याक्चरिङ एण्ड प्रोसेसिङ समूह ०.१७ प्रतिशत, म्युचुअल फण्ड समूह ०.३४ प्रतिशत र अन्य समूह ०.८९ प्रतिशत घटेको छ ।
आइतबार रुरु जलविद्युत परियोजनाको सेयरमा सकरात्मक सर्किट लागेको छ । कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ । यस्तै, हिमालयन एभरेष्ट इन्स्योरेन्सको सेयर मूल्य ९.१८ प्रतिशत र जोशी हाइड्रोपवार डेभलपमेन्टको सेयर मूल्य ८.१२ प्रतिशत बढेको छ ।
यस्तै सपोर्ट माइक्रोफाइनान्सको सेयर मूल्य २.८६ प्रतिशत र सोल्टी होटलको १.९१ प्रतिशत सेयर मूल्य घटेको हो । यस्तै, रिडी पावर कम्पनीको ८ करोड ९१ लाख ८६४ रुपैयाँ र एनटीसीको ६ करोड ५३ लाख ३७ हजार ८२ रुपैयाँ बराबरको कारोबार भएको छ ।