काठमाडौं । पछिल्लो समय लघुबीमा गर्नेको संख्या बढ्न थालेको छ । बीमा समितिका अनुसार गत आर्थिक वर्षमा मात्रै लघुबीमा गर्नेको संख्या औषतमा २६७ प्रतिशतले बढेको हो ।
आर्थिक वर्ष २०७८/७९ मा मात्रै कूल ४१ लाख ७४ हजार जनाले जीवन र निर्जीवन दुबै प्रकारका लघुबीमा गरेका छन् । जुन अघिल्लो आवको तुलनामा २६७ प्रतिशतले बढी हो । अघिल्लो आर्थिक वर्ष २०७७/७८ को असार मसान्तसम्ममा कूल ११ लाख ३७ हजार जनाले मात्रै दुई प्रकारका लघुबीमा गरेका थिए ।
समितिका अनुसार निर्जीवन लघुबीमा गर्नेको संख्या घटेपनि जीवन लघुबीमा गर्नेको संख्या भने बढेको छ । समीक्षा अवधिमा मात्रै २८५ प्रतिशत बढीले जीवनतर्फको लघुबीमा गरेका छन् । अघिल्लो आवमा १० लाख ६९ हजार जनाले जीवन लघुबीमा गरेकोमा गत आवमा ४१ लाख १४ हजारले गरेका हुन् ।
यता निर्जीवनतर्फको लघुबीमा गर्नेको संख्या भने १२ प्रतिशतले घटेको छ । गत आवमा ५९ लाख ९१४ जनाले निर्जीवन लघुबीमा गरेका छन् । जुन अघिल्लो आवमा भने ६८ हजार २७५ जनाले निर्जीवन लघुबीमा गरेको पाइएको छ ।
बीमालेख संख्याको आधारमा औषत रुपमा लघुबीमामा आकर्षण बढेपनि त्यसबाट हुने व्यवसाय भने खुम्चिएको बुझिन्छ । अर्थात घाटामा देखिन्छ । एक वर्षको अवधिमा मात्रै दुबै प्रकारको लघुबीमाबाट कम्पनीहरुले औषत ३७.८९ प्रतिशत घाटा खाएका छन् । त्यसमध्ये जीवन बीमा कम्पनीको मात्रै ४०.१७ प्रतिशत र निर्जीवन बीमा कम्पनीकोे लघुबीमा व्यवसाय १७.२६ प्रतिशतले घटेको तथ्यांकले जानकारी गराएको छ ।
अघिल्लो आवमा लघुबीमा तर्फबाट ५ अर्ब २२ करोड रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका जीवन बीमा कम्पनीले गत आवमा ३ अर्ब १३ करोड रुपैयाँमा सीमित भएका छन् । यता निर्जीवनले लघुबीमाबाट अघिल्लो आवमा ५८ करोड १४ लाख रुपैयाँ बराबरको प्रिमियम संकलन गरेको थिए । तर गत आवमा ४८ करोड ११ लाख रुपैयाँ मात्रै बीमाशुल्क आर्जन गरेका छन् ।
जीवन र निर्जीवन गरी दुबै प्रकारको लघुबीमाबाट ३ अर्ब ६१ करोड रुपैयाँ बराबरको प्रिमियम उठेको छ । जुन अघिल्लो आवमा ५ अर्ब ८२ करोड रुपैयाँ बढी संकलन भएको थियो ।
पछिल्लो समय नियामक निकाय बीमा समितिले लघुबीमा कम्पनीको लाइसेन्स खुला गरिरहेको छ । हालका जीवन र निर्जीवन कम्पनीले लघुबीमा व्यवसाय गर्न सकेनन् भन्दै समितिले नयाँ लाइसेन्स खुलाएको हो ।
यता जीवन र निर्जीवन बीमा कम्पनीहरु भने लघुबीमाबाट फाइदा नभएको बताउँछन् । जुन गत वर्षको तथ्यांकले समेत पुष्टि गरेको छ । समितिले ठूला कम्पनीहरुले सानातिनामा आँखा नलगाएको ओरोप लगाएपनि कम्पनीहरु भने लघुबीमा व्यवसायबाट खासै फाइदा नदेखेकोले पछि यो व्यवसायमा खासै फोकस नगरिएको स्पष्ट पार्छन् ।
समितिले गत भदौ १० गते मात्रै एक सूचना जारी गर्दै लघुबीमा कम्पनी खोल्न इच्छुकको लागि बाटो खुला गरिदिएको छ । यससँगै इच्छुकले न्यूनतम ७५ करोड रुपैयाँ बराबरको चुक्ता पुँजी भएको कम्पनीको लागि समितिमा आवेदन दिन सक्ने छन् । जसको लागि ३५ दिनको समय म्याद समेत तोकिएको छ ।
गर्ने कम्पनीको कर्पोरेट कार्यालय उपत्यका बाहिर हुनुपर्ने व्यवस्था छ । तर, व्यवसाय भने देशभर गर्न पाउने समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल बताउँछन् । साथै, लघुबीमा व्यवसाय गर्ने कम्पनीले यति रकम बराबरको बीमा गर्न पाउने भनेर सीमा पनि तोकिने उनको भनाई छ ।
‘लघुबीमा कम्पनीले देशभर व्यवसाय गर्न पाउँछन्, तर उनीहरुले उपत्यकाभित्र भने कार्यालय खोल्न पाउँदैनन्, उनीहरुलाई कारोबार गर्नको लागि भने सिलिंग तोकिन्छ,’ उनले स्पष्ट पारे ।
समग्रमा बीमा कम्पनी र लघुबीमा कम्पनीमा फरक छ । बीमा कम्पनीले मध्यमदेखि उच्च वर्गीय व्यक्ति तथा ठूला ठूला व्यवसायको बीमा गर्छन् भने लघुबीमा कम्पनीले न्यून वर्गीय तथा मध्यम वर्गीयसम्मको व्यक्ति र साना साना व्यवसायको बीमा गर्छन् । जस्तै, लघुबीमा कम्पनीले गरिब मान्छेका झुपडीको बीमा, कुखुरा, हाँस माछा लगायत पशुपन्छी, बालीनालीको बीमा गर्ने छन् । बीमा समितिले गरीब अर्थात न्यून आय भएका वर्गलाई पनि बीमाको पहुँचमा ल्याउन नै लघुबीमा कम्पनीको स्थापना गर्न लागेको हो ।