काठमाडौं । रेमिट्यान्स खातामा ठूला बैंकले नै बदमासी गर्ने गरेको प्रमाण बाहिर आएका छन । अन्य बैंकको ग्राहक तान्न र अन्य रकमलाई रेमिट्यान्स भनेर बढी ब्याज पाउनका लागि ठूला बैंक नै गलत अभ्यास गरिरहेको गुनासो बैंकर्सहरुले नै गरेका छन् ।
विदेशी मुद्राको सञ्चिती घट्दै गएपछि साधारण बचतभन्दा एक प्रतिशत बढी ब्याज दिने गरि रेमिट्यान्स खाता खोल्न पाइने व्यवस्था गरिएको छ । तर, उक्त खातामा विदेशबाट आएको रेमिट्यान्सभन्दा पनि नेपालको रकम नै जम्मा गर्ने गरेको बैंकर्सहरुले गुनासो गरेका हुन । अन्य बचत खातामा भन्दा रेमिट्यान्स खातामा १ प्रतिशत ब्याज थप दिन पाइन्छ ।
सोही ब्याज प्राप्त गर्नका लागि ग्राहकको रकमलाई जोखिममा राखेर बैंकहरुले विना प्रमाण रेमिट्यान्स खातामा राख्ने गरेको तथ्य विकासन्युजलाई प्राप्त भएको हो । यसले गर्दा वाणिज्य बैंकहरुबीच अस्वस्थ प्रतिस्पर्धा बढेको छ भने रेमिट्यान्समा तोकिएको ब्याजभन्दा बढी ब्याज दिइरहेको गुनासो बैंकर्सहरु नै गरिरहेका छन ।
अहिले ठूला भनिएका बैंकबाटै यस्तो खालको बदमासी हुन थालेपछि प्रतिस्पर्धी बैंकर्स रुष्ट बनेका छन् । दुई वटा ठूला र एक मध्यम क्याटागोरीको बैंकले अस्वस्थ काम गरिरहेको प्रमाण विकासन्युजलाई प्राप्त भएको छ ।
‘मेरो रेमिट्यान्सबाट आएको रकम हो, भोलि प्रमाण पुगेन भने पूरानो रेट लागू हुन्छ, म त्यसको जिम्मेवारी हुनेछु भनेर बैंकहरुले ग्राहकलाई हस्ताक्षर गराउने गरेका छन् । केही बैंकहरुले अर्को बैंकको ग्राहक खोसेको आरोप लगाएका छन् । नेपाल बैंकर्स एसोसियसन (एनबिए) ले यसरी गलत प्रक्रियामार्फत काम गरिरहेको भन्दै ती बैंकहरुलाई स्पष्टिकरण समेत सोधेको छ । झण्डै ८० प्रतिशत ननरेमिट्यान्सवालाले खाता खोलिरहेको पनि बुझिएको छ ।
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ साधारण बचतलाई पनि रेमिट्यान्सबाट आएको रकम भनेर जम्मा गर्ने संख्या बढिरहेको बताउँछन् ।
कहिल्यै पनि विदेश नगएको व्यक्तिले समेत रेमिट्यान्स खातामा रकम जम्मा गर्ने गरेको उनले बताए । केही बैंकका कारण समग्र बैंकिङ्ग क्षेत्रले बदमासी गरेको जस्तो भएको उनको भनाइ छ ।
‘रेमिट्यान्स खातामा साधारण बचतकर्ताले रेमिट्यान्स भनेर रकम राख्ने गरेका छन, रेमिट्यान्सको रकम भनेर रेमिट्यान्स खाता खोल्नेको संख्या बढेको भन्ने सुनेको छु, केही आधार र प्रमाण नहुँदा पनि रेमिट्यान्स खाता खोलिरहेका छन, स्वदेशमा भएकाले पनि खाता खोलेका छन, विदेशमा गएर कमाएर रेमिट्यान्स पठाएको रकम मात्रै रेमिट्यान्स खातामा राख्ने हो,’ उनले भने, ‘व्यक्ती विदेश गएको छैन, विदेशबाट पैसा नआइकन खालेको छ भने त्यो बदमासी हो, केही बैंकहरुले यस्तो गरिरहेका छन ।’
केही बैंकहरुले घरजग्गा खरिदबिक्री गरेको रकम पनि रेमिट्यान्सबाट आएको भन्दै जम्मा गर्ने गरेको सीईओ खालिङको भनाइ छ । केही बैंकले बदमासी गरेकाले राष्ट्र बैंकले कडा एक्सन लिनुपर्ने उनको माग छ । अर्काको बैंकका ग्राहकलाई आफ्नोमा तान्नका लागि केही बैंकले यस्तो गरेको उनले बताए ।
‘मेरो विदेशबाट आएको रेमिट्यान्स हो भनेर बैंकहरुले एउटा फाराममा हस्ताक्षर गराउने, घरजग्गा बिक्री गरेको रकम पनि विदेशबाट आएको भनेर भन्दा त्यस्तो पैसालाई पनि लिने गरेका छन, अर्काे बैंकको डिपोजिट तान्ने, चोर्ने प्रवृत्ति बढेको छ,’ सीईओ खालिङले भने, ‘यसमा राष्ट्र बैंकले पनि निरीक्षण गर्नुपर्ने, अनुसन्धान गर्ने, सीईओले टेरेन भने बैंकका बोर्डलाई स्पष्टिकरण लिने, यस्तो गर्दा केही सुधार आउँछ की, एउटा बैंकलाई चेतावनी दिएपछि अन्य बैंकले गर्ने आँट गर्दैन ।’
राष्ट्र बैंकले पनि तत्काल एक्सन लिनुपर्ने उनको भनाइ छ । जसले गर्दा भविष्यमा पनि यस्ता गलत कार्य रोकिने उनले बताए । एउटा बैंकले अर्काको निक्षेप चोरेर लगेपछि उसलाई सहज हुने भएपनि अरुलाई त गाह्रो हुने उनको धारणा छ ।
सिभिल बैंकका सीईओ सुनिल पोखरेल रेमिट्यान्स खाता खोल्ने संख्या बढेको बताउँछन् । खाता संख्या बढेपनि अधिकांश खाता अन्य व्यक्तिले खोल्ने गरेको उनले बताए । बैंकहरुले पनि कुनै प्रक्रिया नपुर्याएर खाता खोलिदिने गरेको पनि उनको भनाइ छ ।
‘रेमिट्यान्स खाता खोल्ने बढ्दो ट्रेण्डमा छ तर ‘जेन्यून’ रेमिट्यान्स खाता अन्य व्यक्तिले रेमिट्यान्स भनेर खोल्ने प्रवृत्ति हावी छ, जसको रेमिट्यान्सबाट पैसा आएको छैन, उनीहरुले खाता खोल्ने गरेका छन, बैंकहरुले पनि कुनै प्रमाण नहेरिकन खाता खोलिरहेका छन,’ उनले भने, ‘मेरो रेमिट्यान्सको पैसा भनेर घोषणा गरेर खाता खोल्ने गरेका छन, केही बैंकले सामान्य व्यक्ति नै बैंकमा गयो भने रेमिट्यान्स खाता खोलिदिने गरेका छन् ।’
केही बैंकका कारण भविष्यमा ग्राहकहरुलाई ठूलो जोखिम पर्न सक्ने उनको भनाइ छ । हाल रेमिट्यान्स खातामा रकम जम्मा गरेपनि राष्ट्र बैंक र सम्पत्ति शुद्धिकरणले उक्त रकमको स्रोत खोजेमा ग्राहकको साँवा रकम समेत फस्न सक्ने उनको भनाइ छ । एक प्रतिशत ब्याजको लोभका कारण केही बैंकले ग्राहकलाई ठूलो जोखिम मोल्ने गरेको उनका तर्क छ ।
यस्तै, ग्लोबल आइएमई बैंकका नाय प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकालले विदेशमा काम गर्न जानेको संख्या बढेको कारण खाता खोल्नेको संख्या पनि बढेको बताउँछन् । खातामा रकम राख्दा सुरक्षित हुने भएकाले रेमिट्यान्स संख्या बढेको उनको तर्क छ ।
‘रेमिट्यान्स खाता खोल्नेको संख्या पहिलाको भन्दा बढ्दो छ, रेमिट्यान्समा काम गर्न जाने मान्छे बढेका छन, विदेशमा मजदुर बढी गएका छन, बाहिर जानेको संख्या बढेको र स्वतः खाता खोल्ने ट्रेण्ड बढेको हो,’ उनले भने, ‘खातामा पैसा पठाउँदा पैसा सुरक्षित हुन्छ, धेरै खर्च पनि हुँदैन, खातामा भयो भने बचत पनि हुन्छ, ब्याज पनि बढी पाइन्छ, रेमिट्यान्स खाता खोल्नसचेतनामुलक सन्देश दिएर इनकरेज गर्याैं तर अझै पनि खाता खोल्ने ट्रेण्ड प्रयाप्त छैन ।’
केही बैंकले रेमिट्यान्स खातामा सामान्य रकम पनि जम्मा गर्न लगाएको उनको भनाइ छ । रेमिट्यान्सको रकम भनेर प्रमाण भएमात्रै खातामा राख्नु पर्ने उनले बताए ।
‘केही बैंकले रेमिट्यान्स खाता खोल्ने तर पैसा भने रेमिट्यान्सको नभएर अर्कै राखेका छन, अन्य बैंकले रेमिट्यान्सको पैसा भनेर सामान्य पैसा पनि रेमिट्यान्समा राखे, हामीले यस्तो गरेको छैन, कता कता गरिएको छ भन्न सुनिएको छ, बाहिरबाट पैसा आएको हुनु पर्छ, प्रमाण भएपछि मात्रै खाता खोल्न मिल्ने हो, हामीले प्रमाण लिएर मात्रै खाता खोल्ने हो,’ डीसीईओ ढकालले भने ।
नेपाल बैंकर्स संघले यस विषयमा बदमासी गर्ने बैंकहरुलाई स्पष्टिकरण सोधेपनि राष्ट्र बैंक भने मौन बसेको छ । अहिलेसम्म गलत अभ्यास गर्ने बैंकहरुलाई राष्ट्र बैंकले सजग पनि गराएको छैन ।
राष्ट्र बैंकका सहप्रवक्ता नारायण पोखरेल रेमिट्यान्स खाता खोल्नेको संख्या तथ्याङ्क राष्ट्र बैंकसँग नभएको बताउँछन् । बैंकर्सहरुसँगको अनौपचारिक छलफलमा खाता खोल्ने संख्या बढेको बताउने गरेको भएपनि के कति र के कस्ताले खोलेको छन् भन्ने विषय जानकारी नआएको बताए । उनका अनुसार सामान्य नेपाली नागारिकले खाता खोल्न पाउने तर रेमिट्यान्सको रकम मात्रै राख्नु पर्छ ।
‘रेमिट्यान्स खाता खोल्नेको संख्या तथ्याङ्क छैन, बैंकका सीईओहरुसँगको अनौपचारिक छलफलमा बढेको भन्नु भएको छ, यकिन तथ्याङ्क भने राष्ट्र बैंकसँग छैन,’ उनले भने, ‘रेमिट्यान्स खाता सामान्य नेपाली नागारिकले खोल्न पाउँछन, विदेशबाट ल्याएको भन्दै घरजग्गा बिक्री गरेको रकम पनि रेमिट्यान्स भनेर जम्मा बैंकहरुले गर्न पाउँदैनन्, राष्ट्र बैंकले अनुसन्धान गर्याे भने जवाफदेही हुन सकेनन् भने गाह्रो हुन्छ, बैंकहरुले कम्प्लाइन नहुने गरी काम गर्दैनन् ।’

विदेशबाट पठाएको रेमिट्यान्स नभएमा राष्ट्र बैंकसँग कारवाही गर्ने हतियार थुप्रै रहेको सहप्रवक्ता पोखरेलले बताए । विदेशबाट आएको रकम भनेर प्रमाण देखाउन नसक्दा समस्या पर्ने उनको भनाइ छ ।
‘छोराले विदेशबाट रेमिट्यान्स पठाएको छ भनेर परिवारले दर्शाउँदा र त्यो रेमिट्यान्स बैंकिङ्ग च्यानलबाट वा फर्मल च्यानलबाट आएको छ भने खातामा राख्न सकिन्छ, अहिले रेमिट्यान्स खातामा राखेको छ भने भोलिका दिनमा रेमिट्यान्सबाट आएको भनेर सम्पत्ति शुद्धिकरणले प्रमाण देखा भन्न सक्छ,’ पोखरेलले भने, ‘यदि बैंकले त्यस्तो गरेको भए राष्ट्र बैंकसँग कारवाहीका प्रयाप्त हतियार छन, नियममा धेरै कुराहरु उल्लेख गरिएको हुँदा कस्तो खालको गलत काम गरेको हो सोही प्रयोजन अुनसार कारवाही हुन्छ ।’
उनका अनुसार राष्ट्र बैंकले रेमिट्यान्स खाताको विषयमा राष्ट्र बैंकले बैंकहरुसँग तथ्यांक पनि माग गरिसकेको छ ।
सम्बन्धित सामग्री : डलर खातामा १८% सम्म ब्याज, नेपालमै बस्नेले पनि खोल्न थाले, नियामक मुकदर्शक