काठमाडौं । नेपाली पुँजीबजारमा पछिल्लो एक सातापछि सुधार देखिएको छ । गत भदौ १९ गतेदेखि ओरालो लागेको बजार भदौ २८ गते दोहोरो अंकले बढेको हो ।
मंगलबार कारोबार खुलेदेखि नै नेप्से परिसूचक उकालो लागेको छ । परिसूचक २१.३० अंकले बढेर १९३४.०४ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.११ प्रतिशतले बढी हो ।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ८३ करोड १६ लाखको कारोबार भएको बजारमा मंगलबारमा ९२ करोड २५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । जुन एकैदिनमा ९ करोड रुपैयाँ बढी सेयर कारोबार भएको छ ।
बजारमा नबिल बैंकको सर्वाधिक कारोबार भएको छ । सोमबार पनि सर्वाधिक कारोबार भएको बैंकको मंगलबार ५ करोड ९४ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । बैंकको कारोबारसँगै सेयर मूल्य पनि बढेको छ । अघिल्लो दिनको तुलनामा बैंकको सेयर मूल्य १५ रुपैयाँले बढेर प्रतिकित्ता ७७० रुपैयाँ पुगेको छ ।
बढी कारोबार गर्नेको दोश्रोमा रिडी पावर कम्पनी रहेको छ । कम्पनीको एकैदिन ५ करोड ६३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।
दोहोरो अंकले बढेको बजारमा बोटलर्स नेपाल (बालाजु) (बीएनएल) को सेयर मूल्य १० प्रतिशतले बढेको छ । जुन अघिल्लो दिनको तुलनामा १९४.१० रुपैयाँले बढेर प्रतिकित्ता २ हजार १३६ रुपैयाँ पुगेको छ ।
बजारमा कारोबारमा आएका सबै समूह हरिया देखिएका छन् । सबैभन्दा बढी जीवन बीमा समूह ९६.२२ अंकले बढेको छ ।