आधा दर्जन बढी ठूला बैंकको सेयर कारोबार रोक्का

<p>काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु धमाधम मर्जरमा जान थालेका छन् । हालसम्म एक दर्जन वाणिज्य बैंकहरुले मर्जरमा प्रक्रियामा सामिल भइसकेका छन् । जसमध्ये दुई वटा वाणिज्य बैंकको एकीकृकत कारोबार समेत गरिसकेका छन भने १० वटा वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा रहेका छन् । नेपाल इन्भेष्टमेन्ट (एनआईबिएल) र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमान्डू [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय वाणिज्य बैंकहरु धमाधम मर्जरमा जान थालेका छन् । हालसम्म एक दर्जन वाणिज्य बैंकहरुले मर्जरमा प्रक्रियामा सामिल भइसकेका छन् । जसमध्ये दुई वटा वाणिज्य बैंकको एकीकृकत कारोबार समेत गरिसकेका छन भने १० वटा वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा रहेका छन् ।

नेपाल इन्भेष्टमेन्ट (एनआईबिएल) र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमान्डू (बीओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक र कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता भएको छ । नबिल बैंकले नेपाल बङ्गलादेश बैंकलाई प्राप्ति गरि एकीकृत कारोबार गरिसकेको छ ।

मर्जर प्रक्रियाका कारण अधिकांश बैंकहरुको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सेयर कारोबार रोक्का भएको छ । हाल नेपाल इन्भेष्टमेन्ट बैंक, मेगा बैंक, ग्लोबल आइएमई बैंक, बैंक अफ काठमाण्डू, सिभिल बैंक, सेञ्चुरी कमर्सियल बैंक, एनसीसी बैंक र कुमारी बैंकको सेयर कारोबार दोस्रो बजारमा रोक्का रहेको छ ।

नेपाल धितोपत्र बोर्डले मर्जर तथा एक्विजिशन सम्बन्धी सेयर कारोबार रोक्का निर्देशिकाको प्रारम्भिक मस्यौदा सार्वजनिक गरिसकेको छ । तर, कारोबार रोक्का सम्बन्धी निर्देशिकालाई अन्तिम रुप दिएको छैन । लगानीकर्ता तथा सर्वसाधारणको राय सुझाव लिनको लागि बोर्डले मस्यौदा सार्वजनिक गरेको थियो ।

मस्यौदाका अनुसार अब मर्जर तथा एक्विजिशनमा जाने कम्पनीहरुको सेयर कारोबार बढीमा १५ दिन मात्रै रोक्का हुनेछ । आधारभूत सेयरधनीहरुको सेयर कारोबार भने मर्जर सम्झौता लगत्तै रोक्का हुने मस्यौदामा उल्लेख छ । बोर्डले दशैं बिदापछि नै सो निर्देशिका लागू गर्ने गरी अन्तिम रुप दिइरहेको बताएको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर सम्झौता भएको थियो । दुवै बैंकको सेयर कारोबार जेष्ठ ३० गतेदेखि नै रोक्का भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक एक आपसमा गाभ्ने सहमति भएसँगै सेयर कारोबार रोक्का भएको हो । दुवै बैंकले नेप्सेलाई पत्र लेख्दै २७ जेठ २०७९ मा दुवै बैंक एक आपसमा गाभ्ने÷गाभिनेबारे प्रारम्भिक समझदारी भएको जानकारी गराएका थिए ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ ।

यस्तै, ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । दुवै बैंक मर्जर प्रक्रियामा सामिल भएकाले नेप्सेले जेठ २ गतेदेखि दुबैं बैंकको सेयर कारोबार रोक्का गरेको थियो ।

मर्जर पश्चात् बन्ने बैंकको नाम ग्लोबल आइएमई बिओके राख्ने सहमति भएको छ । मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रत्नराज बज्राचार्य बन्ने छन् । ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डको हाललाई १ः१ को स्वाप रेसियो कायम गरी मर्जर गर्ने सम्झौता भएको छ । तर ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने जनाएको छ ।

यस्तै, गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्ने भएपछि दोश्रो बजारमा सिभिल बैंकको सेयर कारोबार रोक्का भएको थियो । नेप्सेले असार ३० गतेदेखि सिभिलको सेयर कारोबार रोक्का गरेको थियो ।

सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । अर्थात् हिमालयन बैंकले १००ः८१ को स्वाप रेसियोमा सिभिल बैंकलाई गाभ्ने भएको हो । प्राप्तिपश्चात् बन्ने बैंकको नाम हिमालयन बैंक हुनेछ भने सीईओमा हिमालयन बैंकको अशोक राणा र बरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल बन्ने छन् ।

यस्तै, प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको थियो । मर्जर प्रक्रियामा सहभागी भएसँजै सेञ्चुरी कमर्सियल बैंकको सेयर कारोबार साउन १६ गतेदेखि रोक्का भएको थियो ।

दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि यसमा परिवर्तन हुन सक्नेछ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् ।

यस्तै, एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते मर्जर सम्झौता भएको थियो । मर्जरमा जाने सम्झौता भएसँगै असोज ११ गतेदेखि दुवै बैंंकको सेयर कारोबार रोक्का भएको हो ।

यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो । मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ ।

Share News