काठमाडौं । पिपुल्स हाइड्रोपावरको आईपीओमा आवेदन दिने समय नजिकिएको छ । कम्पनीको आईपीओमा आवेदन दिने समय अब थोरै रहेको छ । कम्पनीको आईपीओमा असोज ३० गतेसम्म आवेदन दिन सकिनेछ ।
कम्पनीले गत भदौ ३१ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको १० प्रतिशत सेयर निष्काशन गरेको हो ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यका ३२ लाख कित्ता सेयर निष्काशन गरेको हो । जसमध्ये आयोजना अति प्रभावित क्षेत्र दोदर्दी गाँउपालिकाका वडा नं. ६ र ७ का स्थानिय बासिन्दाहरुका लागि ३० प्रतिशत अर्थात ९ लाख ६० हजार कित्ता र लमजुङ्ग जिल्लाका स्थानिय बासिन्दाका लागि ७० प्रतिशत अर्थात् २२ लाख ४० हजार कित्ता सेयर छुट्याइएको छ ।
कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ । कम्पनीको आईपीओमा लगानीकर्ताले ग्लोबल आइएमई बैंकको दोर्दी र भोर्लेटार शाखा तथा हिलेको एक्टेन्सन काउण्डर, एनएमबि बैंकको भोटेवडार शाखा, सिद्धार्थ बैंकको बेसीशहर शाखा र सिभिल बैंकको भुलभुले शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी इस्यूअर रेटिङ्ग प्रदान गरेको छ । यसले दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको संकेत गर्दछ ।