काठमाडौं । पिपुल्स पावरको सेयर भाउ पहिलो दिनमै १० प्रतिशतले घटेको छ । असोज ३० गतेदेखि दोश्रो बजारमा कारोबारमा आएको कम्पनीको सेयर मूल्य १० प्रतिशतले घटेर प्रतिकित्ता २५५.७० रुपैयाँमा झरेको छ ।
यो समाचार तयार पार्दासम्म कम्पनीको सेयर मूल्य प्रतिकित्ता २८.४० रुपैयाँले घटेर प्रतिकित्ता २५५.७० रुपैयाँमा झरेको छ । कम्पनीको सेयर किन्नेभन्दा बेच्नेको बढी चाप भएकाले मूल्य घटेको हो । हालसम्म कम्पनीको १७ हजार ४१ कित्ता बेच्न र ६७ कित्ता किन्नको लागि लगानीकर्ता इच्छुक देखिएका छन् ।
असोज २७ गते बिहीबार मात्रै कम्पनीको सेयर नेप्सेमा सूचीकृत भएको थियो । आईपीओ निष्काशन तथा बाँडफाँड पश्चात कम्पनीको ६३ लाख २६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
उक्त सेयरको पहिलो कारोबारको लागि नेप्सेले न्यूनतम ९४.९६ र अधिकत २८४.८८ रुपैयाँ तोकेको थियो । सो अनुसार कम्पनीको पहिलो कारोबार प्रतिकित्ता २८४.१० रुपैयाँमा शुरु भएको थियो । करिब अधिकतम मूल्यमा कारोबार भएको कम्पनीको सेयर मूल्य यो समाचार तयार पर्दासम्म प्रतिकित्ता २८.४ रुपैयाँले घटेको छ ।