काठमाडौं । गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरलाई विभिन्न ५ वटा बैंकले लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । गत वर्षको भन्दा केही ढिला लाभांश वितरण गर्ने प्रस्ताव गरेपनि हालसम्म ५ वटा बैंकले मात्रै लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
कुमारी बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् ।
कुमारी बैंकले सेयरधनीलाई १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकले बोनस सेयर वितरण नगर्ने भएको छ । हाल बैंकको चुक्ता पुँजी १४ अर्ब ७१ करोड रुपैयाँ छ ।
यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको हालको चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
बैंकले लाभांश वितरण गर्ने प्रस्ताव सहित आगामी कात्र्तिक ४ गते वार्षिक साधारण सभा बोलाएको छ । बैंकको सभाल बिहान ११ बजे काठमाडौंमा हुनेछ ।
यस्तै, निफ्रा बैंकले सेयरधनीलाई नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ । बैंकले आर्थिक वर्ष २०७८/२०७९को नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले कर समेत गरी सो मात्राको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । हाल कम्पनीको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ छ । यी तीन वटै बैंकले नेपाल राष्ट्र बैंकबाट लाभांश वितरणका लागि स्वीकृति पनि पाइसकेका छन् ।
यस्तै, एनसीसी बैंक र बैंक अफ काठमाण्डूले पनि लाभांश वितरण गर्ने प्रस्ताव सहित नेपाल राष्ट्र बैंकमा आवेदन दिएका छन् । नेपाल राष्ट्र बैंकबाट स्वीकृति भई बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीहरुलाई वितरण गरिनेछ ।
बैंक अफ काठमाण्डूले सेयरधनीलाई २०.९५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट सेयरधनीलाई करसहित १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको हो ।
यस्तै, एनसीसी बैंकले आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट ३.३६ प्रतिशत बोनस ७.६३ प्रतिशत नगद गरी कुल १०.९९ प्रतिशत लाभाश दिने प्रस्ताव गरेको छ ।