काठमाडौं । सोल्टी होटेल लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । होटेल सञ्चालक समितिको सोमबार बसेको बैठकले गत आर्थिक वर्ष २०७८÷०७९ का लागि चुक्ता पूँजीको २६.३१५७८९४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र २१.३१५७८९४७ नगद गरी कूल २६.३१५७८९४७ प्रतिशत अर्थात् ८४ करोड २५ लाख ७९ हजार ७३० रुपैयाँ बराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
कम्पनीले लाभांश वितरण गर्ने प्रस्ताव सहित ४८ औँ वार्षिक साधारणसभा समेत बोलाएको छ । कम्पनीको सभा पुस २८ गते कमलादीस्थित नेपाल प्रज्ञा भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ ।
कम्पनीको सभाले प्रस्तावित लाभांश पारित गरेपछि सेयरधनीहरुले पाउनेछन् ।
कम्पनीले लाभांश र सभा प्रयोजनार्थ पुस ७ गतेदेखि पुस २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । त्यसैले पुस ६ गतेसम्म कायम सेयरधनीहरुमात्रै लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।
कम्पनीले आर्थिक वर्ष २०६७/२०६८ मा ५२.६३ प्रतिशत, आर्थिक वर्ष २०६८/२०६९ मा ५२.६३ प्रतिशत, आर्थिक वर्ष २०६९/२०७० मा ५२.६३ प्रतिशत, आर्थिक वर्ष २०७०/२०७१ मा ५७.८९ प्रतिशत लाभांश वितरण गरेको थियो । यस्तै, आर्थिक वर्ष २०७१/२०७२ मा ३१.५८ प्रतिशत, आर्थिक वर्ष २०७२/२०७३ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७३/२०७४ मा २१.०५ प्रतिशत, आर्थिक वर्ष २०७४/२०७५ मा २६.३२ प्रतिशत र आर्थिक वर्ष २०७५/२०७६ मा २६.३२ प्रतिशत लाभांश वितरण गरेको थियो ।