काठमाडौं । एक वर्षको अवधिमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ९०१ अंकले घटेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष २०७९/८० को दुई महिनाको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा ९०१ अंकले नेप्से सूचक घटेको जनाएको छ ।
यसअघि २०७८ को भदौ मसान्तमा नेप्से परिसूचक २८१२.३ अंक रहेकोमा ९०१ अंक घटेर २०७९ को भदौ मसान्तसम्म १९१०.४ अंकमा झरेको हो । पछिल्लो समय बजार पूँजीकरण पनि ह्वात्तै घटेको छ । २०७८ भदौ मसान्तमा धितोपत्र बजार पुँजीकरण ३९ खर्ब ३५ अर्ब ७४ करोड रुपैयाँ रहेकोमा २०७९ भदौ मसान्तसम्म २७ खर्ब ४४ अर्ब ८८ करोड रुपैयाँमा सिमित भएको छ ।
गत भदौ मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २३९ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १४५ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ५७ जलविद्युत्कम्पनी, १९ उत्पादन तथा प्रशोधन उद्योग, ६ लगानी कम्पनी, ५ होटल, ४ व्यापारिक संस्था र ३ अन्य समूहका रहेका छन् । २०७८ भदौमा सूचीकृत कम्पनीहरूको संख्या २२० रहेका थिए ।