काठमाडाैं । गत आर्थिक वर्षको नाफाबाट विभिन्न ६ वटा बैंकले सेयरधनीहरलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका छन् । लाभांश वितरण गर्ने प्रस्ताव गरेका बैंकहरुमा कुमारी बैंक, सिटिजन्स बैंक, बैंक अफ काठमाण्डू, एनसीसी बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा), ग्लोबल आइएमई बैंक र सानिमा बैंक रहेका छन् ।
हालसम्म लाभांश वितरण प्रस्ताव गरेका बैंकहरुमा सबैभन्दा धेरै बैंक अफ काठमाण्डूकाे रहेकाे छ । बैंककाे असोज ३० गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट सेयरधनीलाई करसहित १४.९५ प्रतिशत नगद र ६ प्रतिशत बोनस सेयर गरी कूल २०.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।
यस्तै, हालसम्म लाभांश वितरण प्रस्ताव गरेका बैंकहरुमा दाेस्राे धेरै लाभांश दिनेमा ग्लोबल आइएमई बैंक रहेकाे छ । यस बैंकले आर्थिक वर्ष २०७८/७९ मा आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । बैंक संचालक समितिको आइतबार बसेको बैठकले नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट स्वीकृति पश्चात वितरण गर्ने गरी आर्थिक वर्ष २०७८/७९ को वितरण योग्य मुनाफाबाट आफ्ना सेयरधनीलाई १३.६ प्रतिशत लाभांश (बोनश सेयर ३ प्रतिशत र नगद लाभांश १०.६ प्रतिशत) नियमानूसार लाग्ने करसहित वितरण गर्ने प्रस्ताव गरेको हाे ।
लाभांश वितरण प्रस्ताव गरेका बैंकहरुमा तेस्राे धेरै लाभांश दिनेमा कुमारी बैंक रहेकाे छ । बैंकको असोज १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको १२.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न बैंकले कात्तिक २१ गते साधारण सभा बोलाएको छ ।
यस्तै, एनसीसी बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट हाल कायम चुक्ता पुँजीको सेयरधनीलाई ११ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले ३.३७ प्रतिशत बोनस सेयर र ७.६३ प्रतिशत नगद वितरण गर्ने भएको हो ।
सानिमा बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र ०.९८ प्रतिशत नगद लाभांश गरी कूल १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । बैंकको शुक्रबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई १०.९८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै, सिटिजन्स बैंकले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट चुक्ता पूँजीको सेयरधनीहरुलाई ९ प्रतिशत लाभांश वितरण गर्ने भएकाे छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ९ प्रतिशत अर्थात् १ अर्ब २७ करोड ८० लाख ८७ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएकाे हाे ।बैंकको गत शुक्रबार सम्पन्न १६ औं वार्षिक साधारण सभाले उक्त लाभांश पारित गरिसकेको छ । बैंकको हालको चुक्ता पूँजी १४ अर्ब २० करोड ९ लाख ७४ हजार रुपैयाँ रहेको छ ।
त्यस्तै, निफ्रा बैंकले गत आर्थिक वर्ष २०७८/२०७९ को नाफाबाट सेयरधनीलाई ४.२१०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। लाभांश प्रस्ताव पारित गर्न बैंकले चौथो वार्षिक साधारणसभा मंसिर १० गते, शनिबार अनुपम फुडल्यान्ड काठमांडौमा बिहान ९ बजे बोलाएको छ। बैंकको साधारण सभाले गत आर्थिक वर्ष २०७८/०७९ को नाफाबाट सेयरधनीहरुलाई ४.२१०५ प्रतिशत अर्थात् ९० करोड ९४ लाख ६८ हजार रुपैयाँ बराबरको नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बैंकको हालको चुक्ता पूँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ।