काठमाडौं । बीमा समितीका अध्यक्ष सुर्य प्रसाद सिलवालले धेरै बीमा कम्पनीहरुले सेयरधनीलाई लाभांश दिन नसकेको बताएका छन् । सोमबार सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार शुभारम्भ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
उनले मर्जरपश्चात भने कम्पनीहरुको राम्रो परिमाण आउने र सेयरधनीहरुले पनि लाभांश पाउने विश्वास व्यक्त गरेका छन् । सिलवालले बीमा बजारलाई व्यवस्थित गर्न र जोखिम कम गर्न बीमामा मर्जर सुरु भएको बताए । बीमाको बजार बढाउन आवश्यक रहेको बताउँदै उनले अझै धेरै काम गर्नु बाँकी रहेको बताएका छन् ।
यस्तै, सिलवालले कात्तिक २२ गतेदेखि नयाँ ऐन लागू हुने जानकारी दिएका छन् । ‘सबैको प्रयासले नयाँ ऐन आएको छ, अहिले पनि बीमा कम्पनी अहिले पनि पुरानो ऐन २०४९ अनुसार चल्नु पर्ने बाध्यता छ, पुरानो ऐन अनुसार चल्नु भनेको पुरानाे तरिकामा चल्नु हो, त्यसैले समय परिस्थिति अनुसार नयाँ ऐन आएको हो,’ उनले भने ।
सिलवालले दुईटा फरक धार भएका कम्पनी एक भएकोमा सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स बधाई दिएका छन् । उनले भोलिका दिनमा दुई ठाउँबाट आएको विचार एक भएपछि कम्पनीले अझै राम्रो प्रगति गर्ने बताए ।
यस्तै, उनले सरकारले बीमाको बारेमा बुझ्नुपर्ने धारणा राखेका छन् । ‘बीमा बारे बुझाउँदा सधै सरकारसँग झगडा गर्नुपरेको छ त्यसैले अब तीनै तहका सरकारलाई बीमाका बारेमा राम्रोसँग जानकारी दिनुपर्ने छ,’ उनले भने ।
साेमबार सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्सबीच एकीकृत कारोबार शुभारम्भ भएको छ । दुई कम्पनीकाे मर्जर पश्चात् सानिमा जिआईसी इन्स्योरेन्सको नामबाट कारोबार हुनेछ ।