मर्जरमा रहेका बैंकमध्ये नाफामा नेपाल इन्भेष्टमेन्ट मेगा अग्रस्थानमा, ग्लोबल आइएमई बिओकेको निक्षेप पौने ४ खर्ब पुग्यो

<p>काठमाडौं । पछिल्लो समय हालसम्म एक दर्जन वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा रहेका छन् । नेपाल इन्भेष्टमेन्ट (एनआईबिएल) र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमान्डू (बीओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक र कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता भएर प्रक्रियामा रहेका हुन् । संचालनमा रहेका २६ वटा वाणिज्य [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय हालसम्म एक दर्जन वाणिज्य बैंकहरु मर्जर प्रक्रियामा रहेका छन् । नेपाल इन्भेष्टमेन्ट (एनआईबिएल) र मेगा बैंक, ग्लोबल आइएमई र बैंक अफ काठमान्डू (बीओके), हिमालयन बैंक र सिभिल बैंक, प्रभु बैंक र सेञ्चुरी बैंक र कुमारी बैंक र एनसीसी बैंकबीच मर्जर सम्झौता भएर प्रक्रियामा रहेका हुन् ।

संचालनमा रहेका २६ वटा वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । मर्जर प्रक्रियामा रहेका बैंकहरुको पहिलो त्रैमासका आधारमा मर्जर पश्चात् कस्तो बन्नेछन् भनेर यहाँ उल्लेख गर्न खोजिएको छ ।

मर्जर पश्चात् कुन बैंक कस्तो बन्ने ?

असोज मसान्तसम्मको वित्तीय विवरण अनुसार मर्जरपश्चात् चुक्ता पूँजी ग्लोबल आइएमई बिओके बैंकको ३४ अर्ब ४१ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३२ अर्ब ८१ करोड रुपैयाँ, कुमारी बैंकको २५ अर्ब ८५ करोड रुपैयाँ, प्रभु बैंकको २२ अर्ब २६ करोड रुपैयाँ र हिमालयन बैंकको २० अर्ब ८१ करोड रुपैयाँ पुग्नेछ । जसमा ग्लोबल आइएमई बैंक सबैभन्दा ठूलो बन्नेछ भने नेपाल इन्भेष्टमेन्ट बैंक दोस्रो ठूलो बैंक बन्ने छ ।

चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण अनुसार सबैभन्दा धेरै नाफा आर्जन गर्ने बैंकमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक बन्नेछ । मर्जर प्रक्रियामा रहेका बैंकहरुमध्ये नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा १ अर्ब ६४ करोड रुपैयाँ आर्जन गरेको छ । यस्तै, कुमारी बैंकको १ अर्ब ५१ करोड रुपैयाँ, ग्लोबल आइएमई बिओके बैंकको १ अर्ब ४७ करोड रुपैयाँ, प्रभु बैंकको १ अर्ब २ करोड रुपैयाँ र हिमालयन बैंकको ९४ करोड ७५ लाख रुपैयाँ खुद नाफा पुगेको हो ।

यस्तै, निक्षेप संकलनमा ग्लोबल आइएमई बिओके बैंकको ३ खर्ब ९१ अर्ब ४३ करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ खर्ब ४६ अर्ब ८५ करोड रुपैयाँ, कुमारी बैंकको ३ खर्ब १ अर्ब रुपैयाँ, प्रभु बैंकको २ खर्ब ६५ अर्ब ६८ करोड रुपैयाँ र हिमालयन बैंकको २ खर्ब ६२ अर्ब ९९ करोड रुपैयाँ पुग्नेछ ।

यस्तै, मर्जरमा रहेका बैंकहरुमध्ये कर्जा प्रवाहमा ग्लोबल आइएमई बिओके बैंक अगाडि देखिन्छ भने खुद ब्याज आम्दानीमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक अगाडि छ । त्यस्तै, सञ्चालन नाफामा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, नेट फि तथा कमिशन आम्दानी र कूल सञ्चालन आम्दानीमा ग्लोबल आइएमई बिओके बैंक र वितरणयोग्य नाफामा नेपाल इन्भेष्टमेन्ट बैंक अगाडि रहेको छ ।

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक

नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकबीच गत जेष्ठ २७ गते मर्जर सम्झौता भएको थियो । नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष पृथ्वी बहादुर पाँडे र मेगा बैंकको तर्फबाट अध्यक्ष भोज बहादुर शाहले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए । नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ ।

मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ ।

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबीच गत असार २ गते मर्जर सम्झौता भएको थियो । ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्र ढकाल र बैंक अफ काठमाण्डूका अध्यक्ष प्रकाश श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । मर्जर पश्चात् बन्ने बैंकको नाम ग्लोबल आइएमई बिओके राख्ने सहमति भएको छ । बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्र प्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहने सहमति भएको छ । यता मर्जरपश्चात् बन्ने बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को रत्नराज बज्राचार्य बन्ने छन् ।

ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डको हाललाई १ः१ को स्वाप रेसियो कायम गरी मर्जर गर्ने सम्झौता भएको छ । तर ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको सम्पत्ति तथा दायित्वको मूल्याङ्कनबाट शिफारिस भई आउने स्वाप रेसियोबाट अन्यथा कायम हुन आएमा सोही अनुसार समायोजन हुने जनाएको छ ।

हिमालयन र सिभिल बैंक 

गत असार २९ गते हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गर्न प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्षर गरेको थियो । सम्झौता पत्रमा हिमालयन बैंकका तर्फबाट अध्यक्ष प्रचण्ड बहादुर श्रेष्ठ र सिभिल बैंकका तर्फबाट अध्यक्ष प्रतापजंग पाण्डेले हस्ताक्षर गरेका थिए ।

सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । अर्थात् हिमालयन बैंकले १००ः८१ को स्वाप रेसियोमा सिभिल बैंकलाई गाभ्ने भएको हो । प्राप्तिपश्चात् बन्ने बैंकको नाम हिमालयन बैंक हुनेछ भने हिमालयन बैंकको सञ्चालक समिति नै यथावत् रहने सम्झौता भएको हो । प्राप्ति पश्चात् बन्ने बैंकको सीईओमा हिमालयन बैंकको अशोक राणा र वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल बन्ने छन् । 

प्रभु बैंक र सेञ्चुरी बैंक 

प्रभु बैंक र सेञ्चुरी कमर्सियल बैंकबीच गत साउन १५ गते मर्जर सम्झौता भएको हो । सम्झौतामा प्रभु बैंकका तर्फबाट रमेशसिंह खड्का र सेञ्चुरी बैंकका तर्फबाट मनबहादुर राईले पत्रमा हस्ताक्षर गरेका हुन् ।

दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने भनिएपनि यसमा परिवर्तन हुन सक्नेछ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् ।

कुमारी बैंक र एनसीसी बैंक

एनसीसी बैंक र कुमारी बैंकबीच असोज १० गते मर्जर सम्झौता भएको हो । एनसीसी बैंकका मर्जर कमिटी संयोजक चन्द्र बाँस्तोला र कुमारी बैंकका मर्जर कमिटीका संयोजक कृष्णप्रसाद ज्ञवालीले मर्जर सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । यी दुई बैंकबीच १ः१ स्वाप रेसियोमा मर्जर सम्झौता भएको हो ।

मर्जरपछि बैंकको प्रमुख कार्यकारी अधिकृत एनसीसी बैंकका रमेशराज अर्याल बन्नेछन् । कुमारी बैंकका रामचन्द्र खनाल बरिष्ठ प्रमुख कार्यकारी अधिकृत हुने छन् । मर्जरपछि बैंकको नाम कुमारी बैंक हुने बताइएको छ ।

Share News