काठमाडौं । गत वर्ष नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आफ्ना पुराना रेकर्डलाई तोड्दै एकपछि अर्को नयाँ–नयाँ रेकर्ड बनायो । गत वर्ष सेयर बजारमा साढे २१ अर्ब रुपैयाँ बढीको कारोबार भएर आफ्ना सबै रेकर्ड ब्रेक गर्याे । सोही वर्ष नेप्से परिसूचक ३२ सय अंक बढी पुगेर अर्काे रेकर्ड पनि कायम गर्न सफल भयो ।
साथै गत वर्षको २० भदौमा नेप्से परिसूचक ११० अंकले घटेको थियो । जुन एकैदिन यति फराकिलो अंकको गिरावट आएको सेयर बजार इतिहासमै पहिलो पटक हो । यस वर्ष भने सेयर बजार घटेको घट्यै छ । सेयर बजारमा धेरै ठूलो गिरावटकै कारण लगानीकर्ताहरुले ठूलो मात्रामा घाटा ब्यहोर्नु परेको छ ।
३२ सय अंकबाट १८ सय अंकमा झर्दा सेयर बजार झण्डै ८० प्रतिशतले घटेको छ । कारोबार रकममा पनि संकुचन आएको छ । एक वर्षको अवधिमा यति धेरै अंकले सेयर बजार घटेको इतिहासमा नै पहिलो पटक भएको लगानीकर्ताहरु बताउँछन् ।
दशैं तिहार पनि सकिएको छ । धेरैले चाडपर्वको समयमा पैसा बैंकिङ प्रणालीमा पनि आउने बताउँनछन् । यही समयमा फेरि सरकारले आगामी मंसिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन तोकेको छ । चाडपर्वपछि र निर्वाचनको समयमा बजारमा ठूलो रकम आउने र सेयर बजार पनि बढ्ने अपेक्षा लगानीकर्ताहरुले गरेका छन् ।
यही समयमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर उच्च छ । जसको प्रभाव सेयर बजारमा परेको भएपनि लगानीकर्ताहरुले ब्याजदरलाई पचाइसकेकाले सेयर बजार अब धेरै नघट्ने उनीहरुको तर्क छ । लगानीकर्ता कमला गिरी आगामी दिनमा सेयर बजार बढ्ने वा नबढ्ने भनेर लगानीकर्ताको मनोबलमा भर पर्ने बताउँछिन् । उनका अनुसार बजारमा भएका ठूला कम्पनीहरुको वित्तीय विवरण राम्रो आएको छ भने बजार केही समयको लागि बढ्छ । जसले गर्दा ठूला लगानीकर्ता बिक्री गर्छन् भने साना लगानीकर्ताले खरिद गर्छन् । तर ठ्याक्क उल्टो भयो भने ठूला लगानीकर्ताले बजारमा खरिद गर्छन र साना लागनीकर्ताले बिक्री गर्छन् ।
लगानीकर्ता विष्णु बस्याल सेयर बजारमा सुधार आउने अपेक्षा गर्छन् । अब बैंक तथा वित्तीय संस्थाको ब्याजदर धेरै नबढ्ने आशा गरेका उनी बरु ब्याजदर घट्ने अपेक्षा गरिरहेका छन् । महँगो ब्याजदर हुँदा बैंकको ब्यापार पनि घट्ने हुँदा घटाउनु पर्ने बाध्यता रहेको उनले बताए । पहिलो त्रैमासको वित्तीय विवरणले सर्टटर्ममा प्रभाव पारेपनि दीर्घकालमा भने यसले खासै असर नगर्ने उनको बुझाइ छ ।
‘निक्षेप तर्फको ब्याजदर घट्नेक्रम सुरु हुन्छ, कर्जातर्फको ब्याज एक त्रैमास थप बढ्न सक्छ तर कर्जाको ब्याज पनि धेरै बढ्ने ठाउँ छैन, अहिले कर्जाको ब्याजदर १८ प्रतिशतभन्दा बढी छ, कहाँबाट कर्जाको महँगो ब्याज तिर्ने र लगानी गर्ने कुरा हुँदैन, अब कर्जाको माग कम हुँदै जाने, बैंकहरुलाई ब्यापार गर्न निक्षेपको कस्ट घटाउने र ब्याजदर तल झार्नु पर्ने बाध्यता आउँछ, यो भन्दा धेरै भयावह स्थिति आउँदैन,’ उनले भने, ‘एक डेढ महिना बजार यतिकै रहन सक्छ, बजार माथि जाने संकेत गरिरहेको छ, पहिलो त्रैमासमा ब्यापार गर्न नपाएपछि बैंक तथा वित्तीय संस्थाको नाफा वृद्धिदर घटेको हो, अघिल्लो वर्षको तुलनामा यो वर्ष कम नाफा कमाएका मात्रै हुन् ।’
लगानीकर्ता बस्यालका अनुसार बैंकहरुको नाफा बढ्दैन भनेर सेयर मूल्य हेरेर नै थाहा हुने उनको भनाइ छ । नाफा घट्छ भनेर नै बैंकहरुको सेयर मूल्य पनि कम भएको उनको बुझाइ छ ।
‘बैंकहरुको नाफा वृद्धि हुँदैन भनेर पहिल्यै बजारले थाहा पाइसकेको थियो, बैंकहरुले मज्जाले नाफा कमाउँछन् भनेको भए बैंकहरुको सेयर मूल्य पनि माथि हुन्थ्यो होला, यो कुरा बजारले पहिला नै आँकलन गरिसकेको थियो, अब असर नै नपर्ला भन्न सकिन्न, यसको असर सर्टटर्ममा हुन्छ, सोमबार बजार खुलेपछि केही तलमाथि हुन सक्छ तर लामो समयसम्म यसको असर परिरहने भन्ने हुँदैन,’उनले भने ।
अबको एक डेढ महिनापछि बजारको उकालो यात्रा सुरु हुने लगानीकर्ता बस्यालको भनाइ छ । यस अवधिमा बजार घटेपनि १ हजार ७ सय अंकसम्म मात्रै झर्ने उनको दाबी छ । एक दुइ हप्ता बजार घटबढ मात्रै भइरहने उनले बताए ।
‘एक/डेढ महिनापछि बजारले लय लिन्छ, बैंकहरुको वित्तीय विवरण राम्रो आएको छैन भनेर सर्टटम रियाक्सन गर्ने आफ्नो ठाउँमा छ, आउने हप्ता नेप्से तल आउने मोटामोटी अनुमान छ, तल नै आयो भनेपनि धेरै अंकले तल आउने ठाउँ देख्दिन, कहिले तल कहिले माथि गर्दै एक डेढ महिनामा एक/डेढ सय अंक तल भयो भनेपनि यसलाई धेरै ठूलो सरप्राइज मान्नु पर्दैन, त्यति नै अंकमा बजार सम्हालिने मेरो अपेक्षा छ, तल आयो भने १७००/१७५० अंकभन्दा तल आउँदैन,’ उनले भने, ‘उच्च ब्याजदर बजारले पचाइसक्यो, बेस रेट बढ्यो भन्दैमा कर्जाको ब्याजदर बढाउने क्षमता बैंकहरुको छैन किनभने बजारमा कर्जाको माग नै छैन, पुराना ऋणीहरुलाई महँगो ब्याज तिर्नुपर्ने बाध्यता भएपनि नयाँ कर्जा लिएर नयाँ बिजनेश गर्छु भन्नेले यो महँगो कर्जा तिर्न सक्दैन, कर्जाको माग नभएपछि बैंकहरुले निक्षेपमा मात्रै बढी ब्याज दिन सक्दैनन्, निक्षेपको रेट घटेपछि बजार बढेको इतिहास नै छ ।’
यसअघि १८ सय अंकबाट सेयर बजार घटेर ११ सय अंकमा झर्दा र अहिले ३२ सय अंकबाट घटेर १८ सय अंकमा झर्दाको अवस्था एउटै छ । ११ सय अंकमा झर्ने बेलामा केही लगानीकर्ताहरुले बजार घटेर ९ सय अंकमा पुग्ने बताएका थिए । तर, बजार घट्न मानेको थिएन । ११ सय अंकबाट नै बजार बढेर ३२ सय अंकमा पुगेको लगानीकर्ता छोटेलाल रौनियारको बुझाइ छ । अहिले पनि सेयर बजार ३२२७ अंकबाट घटेर १८ सयसम्म झरेकाले लगानीकर्ताहरु सेयर बिक्री गर्न नमानेर बजार घट्न नमानेको उनले बताए । अहिलेको अवस्था भनेको पनि १८ सय अंकबाट घटेर ११ सयमा झरेको जस्तै रहेको उनको भनाइ छ ।
‘५ वर्ष अघि १८६० अंकमा पुगेको सेयर बजार घटेर ११ सय अंकमा झरेको थियो, त्यो बेलामा पनि ब्याजदर बढेर १६/१७ प्रतिशत पुगेको थियो, १८ सय अंकमा पुग्दा मास साइकोलोजी बलियो थियो, त्यसपछि बैंकहरुको ब्याजदर बढेपछि बजार घटेको हो, बजार घटेर ११ सय अंकमा झरेको थियो तर त्यो बेलामा लगानीकर्ताले सेयर बिक्री मानेका थिएनन्,’ लगानीकर्ता रौनियारले स्मरण गर्दै भने, ‘त्यो बेलामा १५/२० करोड रुपैयाँको मात्रै कारोबार हुन्थ्यो, सेयर बजार ९ सय अंकमा झर्छ भनेर केही लगानीकर्ताले भन्थे,उनीहरुले महँगोमा सेयर बिक्री गरेर बजार घटाएर आम लगानीकर्ताको पैसा लुट्न खोजेका थिए तर बजार घट्न मानेन, धेरै लगानीकर्ता सेयर बिक्री गरेनन्, ११ सय अंकमा आएर ३२ सय अंकमा पुगेको हो ।’