किन बढ्यो सेयर बजार ? यस्तो भन्छन् लगानीकर्ता

<p>काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा बन्द भएको छ । गत साता ७८.०२ अंकले बढेको सेयर बजार आइतबार एकैदिन ४३ अंकले बढ्यो । आज दिनभरिमा २२८ कम्पनीको ३९ लाख १३ हजार कित्ता सेयर २७ हजार पटक किनबेच हुँदा १ अर्ब ५४ करोड ८० लाख [&hellip;]</p>

काठमाडौं । साताको पहिलो दिन आज आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४३.२० अंकले बढेर १९६५.३६ विन्दुमा बन्द भएको छ । गत साता ७८.०२ अंकले बढेको सेयर बजार आइतबार एकैदिन ४३ अंकले बढ्यो । आज दिनभरिमा २२८ कम्पनीको ३९ लाख १३ हजार कित्ता सेयर २७ हजार पटक किनबेच हुँदा १ अर्ब ५४ करोड ८० लाख ३२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आइतबार म्युचुअल फण्ड बाहेक सबै समूहमा हरियाली छाएको छ । आज लघुवित्त समूह ४.५८ प्रतिशत बढेको छ । साथै सेयर बजारमा विभिन्न ५ वटा लघुवित्तको सेयर मूल्यमा सकारात्मक सर्टिक लागेको छ । आइतबार एभरेष्ट बैंक र जाल्पा सामुदायिक लघुवित्तले राम्रो लाभांश घोषणा गरेका थिए । जाल्पा लघुवित्तले आकर्षक लाभांश घोषणा गरेपछि लगानीकर्तामा उत्साह छाएको हो । जाल्पा सामुदायिक लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई ७६.८४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ । जसमध्ये लघुवित्तले ७३ प्रतिशत बोनस सेयर र ३.८४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

यस्तै, एभरेष्ट बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई २०.६८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । जसमध्ये बैंकले १३ प्रतिशत बोनस सेयर र ७.६८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको हो ।

तिहारअघिसम्म सेयर बजारमा अन्यौलता थियो । तिहारपछि खुलेको पहिलो दिनको बजार बढेपछि निरन्तर बढ्दै आएको छ । यसअघि मनोबल कमजोर बनाएका लगानीकर्ताहरु सूचीकृत कम्पनीहरुले आकर्षक लाभांश घोषणा गर्न थालेपछि भने उत्साहित भएका हुन् । जसकार बजारमा हरियाली छाएको सेयर जानकारहरुको भनाइ छ ।

सेयर बजारले उकालो यात्रा सुरु गरेको संकेत लगानीकर्ताहरुले आँकलन गरेका छन् । बजारमा सेयर बजार मैत्री वातावरण नभएपनि एकाएक बजार बढेपछि लगानीकर्ता उत्साहित भएको सेयर विश्लेषकहरुले बताएका छन् ।

लगानीकर्ता राजन लम्साल लाभांश घोषणा गरेका कम्पनीहरुले सेयरधनीहरुको मनोबल बढाउँदा अन्य कम्पनीले पनि राम्रो लाभांश दिने अपेक्षा गरेको कारण सेयर बजार बढेको बताउँछन् । धेरै घटेर तल्लो तहमा पुगेको बजारमा आकर्षक लाभांश घोषणाले बढेको उनको बुझाइ छ । तिहारपश्चात् लगानीकर्ताहरु आआफ्नो काममा फर्किएको हुँदा बजार बढेको उनले बताए ।

‘बजार अहिले बुल र वियरिस भन्ने छैन, लगातार बढेपछि बुलमा गएको हुन्छ, बुलमा लागेको भनेर आज एकदिनको बढाइले भन्न सकिँदैन तर लाभांश घोषणाले बढ्नलाई मद्दत गरेको हो, अन्य कम्पनी पनि लाभांश घोषणा गर्ने तयारीमा छन्, राम्रो लाभांश आउँछ भन्ने अनुमानले लगानीकर्ता उत्साहित भएका हुन्,’ उनले भने ।

केही लगानीकर्ताहरु भने बैंकहरुको निक्षेपको ब्याजदर घट्न संकेत पाएकाले बजार बढेको बताउँछन् । पूँजी बजारमा लगानीकर्ताको मनोबलका आधारमा कारोबार हुने भएकाले यदि लगानीकर्ताको मनोबल उच्च छ भने बजार बढ्ने र कमजोर बनाएको छ भने घट्ने लगानीकर्ता आकाश बस्नेत बताउँछन् । अहिले बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर उच्च छ । उक्त ब्याजदरलाई बजारले पचाएको उनको दाबी छ । साथै उच्च रहेको ब्याजदर अब घट्ने चर्चा बजारमा चलेपछि पनि नेप्से बढेको उनको तर्क छ ।

नाम उल्लेख नगर्ने शर्तमा एक जना सेयर विश्लेषकका अनुसार जब १८ सय अंकलाई पार गर्दै १९ सय अंकमा मेन्टेन गरेर बस्यो, त्यतिबेला लगानीकर्तामा बजार अब २ हजार अंक पुग्ने भयो भन्ने अनुमान थियो । यसबीचमा लगानीकर्ताहरुमा बजार २ सय अंक बढ्छ भन्ने अनुमान गरेका थिए । आइतबार लगानीकर्तामा एउटा डर थियो १९ सय अंकभन्दा तल झरेर फेरि घट्छ की भन्ने । तर त्यो भएन । यसकारण बजार बढेको उनको तर्क छ । आजबाट १९४० अंकभन्दा माथि जानथालेपछि लगानीकर्तामा बजार बढ्ने मनोबल उच्च रहेको उनले बताए ।

यसको फण्डामेन्टल कारण भनेको बजार धेरै तल झरेको थियो । १८ सय अंकबाट पनि तल आउला भन्ने लगानीकर्तामा एउटा शंका उत्पन्न थियो । तर अहिलेलाई १८ सय अंकभन्दा तल आउँछ भन्नेहरुका लागि बोली नै बन्द भएको उनले बताए । जाल्पा लघुवित्तले एकैपटक ७७ प्रतिशत लाभांश घोषणा गरेपछि माइक्रोफाइनान्स इण्डेक्समा माहोल सृजना गर्याे र जसकारण अन्य लघुवित्तको सेयर मूल्य पनि बढेको उनको तर्क छ । साथै चुनावको माहोलमा बजार माथि जाने संकेत गरेको भएपनि बजारमा बुल भने सुरु नभएको उनले बताए ।

Share News