लगानीकर्तालाई सेयर धितो कर्जा पाउनै सकस, मार्जिन कलले बढ्यो तनाब

<p>काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लगानीकर्तालाई सेयरधितो कर्जा प्रवाह नगर्दा समस्या भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव कायम रहेका बेलामा लगानीकर्ताले ऋण पाउन नसकेका हुन् । जसको प्रत्यक्ष असर सेयर बजारमा परिरहेको छ । अहिले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव रहेकाले कर्जा दिन ठप्प पारेका छन् । गत वर्षदेखि तरलता [&hellip;]</p>

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुले लगानीकर्तालाई सेयरधितो कर्जा प्रवाह नगर्दा समस्या भएको छ । बैंक तथा वित्तीय संस्थामा तरलता अभाव कायम रहेका बेलामा लगानीकर्ताले ऋण पाउन नसकेका हुन् । जसको प्रत्यक्ष असर सेयर बजारमा परिरहेको छ ।

अहिले बैंक तथा वित्तीय संस्थाहरुमा लगानीयोग्य रकम अभाव रहेकाले कर्जा दिन ठप्प पारेका छन् । गत वर्षदेखि तरलता अभावको समस्या खेपेका बैंकहरुले अहिले पनि सोही समस्याबाट ग्रसित भएका छन् । कर्जा नपाउने समस्याबाट ग्रसित भएका लगानीकर्ताहरुलाई यति बेला कर्जाको ब्याज बढेका कारण पनि तनाव सिर्जना गरेको छ ।

विगत डेढ वर्षदेखि ओरालो लागेको सेयर बजार माथि उक्लिने संकेत गरिरहेको छ । तर, लगानीकर्ताहरुमा लगानीयोग्य रकम अभाव रहेकाले बजारमा लगानी गर्नबाट बञ्चित छन् । बैंकहरुले कर्जा ठप्प पारेको र केही बैंकले सेयर धितो कर्जा दिएपनि लागत महँगो भएकाले लगानीकर्ता मर्कामा परेका हुन् ।

राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनासम्मको तथ्याङ्क अनुसार एक वर्षको अवधिमा सेयर धितो कर्जा ३१.३२ प्रतिशतले घटेर ६० अर्ब ४० करोड ८० लाख रुपैयाँमा सीमित भएको हो । गत वर्षको भदौ महिनामा बैंकहरुले ८६ अर्ब ४२ करोड १० लाखरुपैयाँ सेयर धितो कर्जा प्रवाह गरेका थिए ।

यतिबेला बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदर पनि उच्च रहेको छ । कर्जाको ब्याजदर बढेर १८ प्रतिशतसम्म पुगेको छ । नयाँ कर्जा पाउन गाह्रो परेको छ भने पुराना ऋणीहरुलाई लागत बढेर थेगिनसक्नु परेको लगानीकर्ताहरुले गुनासो गरेका छन् । जसले गर्दा यसको प्रत्यक्ष प्रभाव सेयर बजारमा पर्ने देखिएको छ । सेयर बजार बढ्ने संकेत गरेपनि बैंकहरुको ब्याजदर नघटेसम्म, सेयर धितोकर्जा सहज रुपमा प्रवाह नगरेसम्म सम्भव नदेखिने लगानीकर्ताको भनाइ छ ।

लगानीकर्ता कमला गिरी घटेको बजारमा सेयर धितो कर्जा लिने हिम्मत लगानीकर्तामा नहुने बताउँछिन् । अहिले बजारमा ब्याजर उच्च रहेकोले लगानीकर्तालाई दोहोरो मर्का पर्ने उनको भनाइ छ । अहिले निक्षेपमा १५ प्रतिशत ब्याज दिइरहेकाले लगानीकर्ताहरु घटेको बजारमा मार्जिन कर्जा नलिने उनले बताइन् ।

‘बजार घटेको बेला लगानीकर्ताहरु सेयर धितो कर्जा लिन चाँहदैनन किनभने अहिले बजारमा ब्याजदर उच्च भएकाले लगानीकर्तामा हिम्मत हुँदैन, कर्जा लिएर पैसा कमाउन अहिले गाह्रो छ, बुल मार्केटमा सेयर कर्जा सेटलमेन्ट गर्न गाह्रो हुँदैन, घटेको बजारमा सेयर खरिद गर्यो भने घाटामा बिक्री गर्नुपर्ने हुन्छ, अहिले कर्जा लिन कसैले मानिरहेका छैनन्,’ उनले भनिन्, ‘अहिले बैंकहरुले निक्षेपमा १५ प्रतिशत ब्याज दिइरहेको छ भने लगानीकर्ताहरु किन घटेको बजारमा मार्जिन कर्जा लिन्छन् रु जति घट्दै जान्छ त्यति मार्जिन कल आउँछ, अनि आत्तिएर बिक्री गर्छन्, जसले झन् मार्केट डाउन हुन पुग्छ, ठूला लगानीकर्ताहरुले यस्तै अवस्था भोगेको हुनाले सेयर बजार १८ सय अंकमा झरेको हो ।’

लगानीकर्ता राधा पोखरेल बैंकहरुबाट सेयरधितो कर्जा पाउन गाह्रो भएको बताउँछिन् । ७/८ प्रतिशतमा लिएको कर्जाको ब्याज अहिले १६ प्रतिशत पुर्याउँदा पुराना ऋणीहरुलाई गाह्रो भएको उनको भनाइ छ ।

‘बैंकहरुबाट सेयर धितो कर्जा पाउन सहज छैन, सेयर धितो कर्जा नै दिइरहेका छैनन्, पहिला ७/८ प्रतिशतमा लिएको कर्जाको ब्याज अहिले १६ प्रतिशत पुगेको छ, नयाँ कर्जाका लागि बैंकमा गयो भने पैसा छैन भनेर फर्काउँछ,’ उनले भनिन्, ‘पुरानो कर्जा पनि तिर्न भनेर अफ्ठ्यारो पारिरहेका छन्, सेयर बिक्री गरेर तिरौं भन्दा पनि अन्य आम्दानी पनि छैन, कर्जा नपाउँदा नै बजार घटेको हो ।’

लगानीकर्ता दिपेन्द्र अग्रवाल राष्ट्र बैंकले कडाइ गरेका कारण सेयर धितो कर्जा पाउन गाह्रो भएको बताउँछन् । साना लगानकर्तालाई सेयर कर्जा दिइरहेको भएपनि अब ठूला लगानीकर्तालाई पनि दिनु पर्ने उनको माग छ ।

‘अहिले तरलताको अभाव भएकोले सेयर धितो कर्जा पाउन गाह्रो छ तर नपाउने भन्ने अवस्था भने छैन, मैले आफूले लिएको छैन, बैंकरहरुले अहिले बोलाएर कर्जा लिनु भनेको छैन, साना लगानीकर्तालाई २५ लाखसम्मको कर्जा दिए पनि ठूला लगानीकर्तालाई पनि सेयर नदिनुको विकल्प छैन, अरु ब्यापार नभएकाले ठूला लगानीकर्तालाई पनि बोलाएर कर्जा दिने बेला आइसकेको छ,’ उनले भने ।

नबिल बैंकका डेपुटी सीईओ मनोज ज्ञवालीले बजारमा कर्जाको माग नै घटेको बताए । उनले बजारमा पैसाको मूल्य हिरा महँगो भएकाले बजारमा कर्जा लिन पटक–पटक चोटी सोच्नु पर्ने अवस्था आएको उनको भनाइ छ ।

‘कर्जाको माग धेरै कम छ, आधारदर बढेपछि कर्जाको माग स्वतः घट्यो, सेयर कर्जा मात्रै होइन अन्य कर्जाको माग पनि घटेको छ, १७ प्रतिशतको ब्याजदरमा कर्जा लिएर लगानी गर्न गाह्रो छ, अहिले बजारमा कर्जा लिनलाई पटक–पटक सोच्नु पर्ने अवस्था छ,’ उनले भने, ‘ब्याजदर महँगो भयो भने बजारमा हिरा बेच्न त गाह्रो छ, अहिले पैसा हिरा जस्तै भएको छ, उच्च ब्याजमा कर्जा लिन आएका ग्राहक फर्किनु पर्ने अवस्था छैन, बैंकहरुले ८/९ प्रतिशतमा कर्जामा दिन सक्ने स्थिती छैन, त्यहि लागतमा कर्जा लिन्छु भनेर ग्राहक आयो भने बैंकहरु दिन सक्ने अवस्थामा छन् ।’

यस्तै, एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत ९सीईओ० सुदेश खालिङ बैंकहरुले कर्जा प्रवाहलाई ठप्प राखेको बताउँछन् । एभरेष्ट बैंकले सेयर धितो कर्जा नदिएको उनले बताए । मर्जरमा गएका बैंकहरुलाई सीडी रेसियोमा छुट दिएका कारण उनीहरुले कर्जा दिने गरेको भएपनि अन्य बैंकहरुले भने कर्जा नदिएको उनको भनाइ छ ।

‘एभरेष्ट बैंकको सेयर धितो कर्जा शुन्य छ, तलिक्वीडिटीको अवस्था हेर्दा टाइटमा छौं, मर्जरमा गएका बैंकहरुलाई २ वर्षलाई सीडी रेसियोमा छुट दिएका कारण त्यो मौकामा कर्जा दिएका हुन सक्छन्, मर्जरमा गएपछि २ वर्षसम्म सीडी रेसियोलाई मेन्टेन गर्नुपर्ने बाध्यता रहेन, ती बैंकसँग केही पैसा छ र दिने अवस्था रह्यो भने गरिरहेका हुन सक्छन्, त्यो बाहेक अन्य बैंकले कर्जा दिन सकेका छैनन्,’ उनले भने ।

अहिलेराष्ट्र बैंकले प्राथािकता प्राप्त क्षेत्रका रुपमा तोकेको क्षेत्रमा पनि कर्जा लगानीका लागि अपुग भइरहेकाले बैंकहरुले सेयर धितो कर्जामा जोड नदिएको उनले बताए ।

‘कृषि कर्जा, हाइड्रो लगायतका क्षेत्रमा कर्जा दिन अपुग भइरहेको अवस्थामा सेयरमा दिने कुरा हुँदैन, बैंकलाई सधैं ब्यापार गर्न पाए हुन्थ्यो भन्ने लाग्छ, बैंकहरुको ब्याजदर महँगो भएका कारण पनि अहिले ब्यापार बढी हुने थियो तर अहिले हात बाँधेर बस्नु परेको अवस्था छ,’ उनले भने । बैंकहरुले कर्जा दिन नसक्ने अवस्था रहेको हुँदा माग पनि घटिरहेको उनले बताए ।

उनका अनुसार केही बैंकहरु अझैं पनि ब्याजदर बढाउनु पर्नेमा जोड दिइरहेका छन् । उनले भने, ‘यो अवस्था हेर्दा बैंकिङ क्षेत्र पूर्ण रुपमा सहज भएको छैन, यदि हुने छाँटकाँट देखिने हो भने बैंकहरु त्यति धेरै आँतुर हुन नपर्ने हो ।’ पुराना कर्जा लिएका ऋणीहरुलाई सिस्टमले नै सहज बनाउने उनको भनाइ छ ।

Share News