काठमाडौं । मर्जरको सम्झौता गरेका १० वटा वाणिज्य बैंक अहिले डीयू डेलिजेन्स रिपोर्ट (डीडीए) रिपोर्ट तयार पार्नमा व्यस्त भएका छन् । अधिकांश बैंकहरु डीडीए रिपोर्ट तयारमा अन्तिम अवस्थामा पुगेका छन् भने नेपाल इन्भेष्टमेन्ट-मेगा बैंक र ग्लोबल आइएमई–बिओके बैंकको डीडीए रिपोर्ट तयार भइसकेको बुझिएको छ ।
राष्ट्र बैंकले नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकलाई पुस २२ गतेसम्म मर्ज गर्न समयसीमा तोकिसकेको छ । राष्ट्र बैंकले तोकिएको समयभित्र नै एकीकृत कारोबार गर्ने तयारीमा रहेको मर्जर कमिटी सदस्य समेत रहेका मेगा बैंकका संचालक गोपाल खनाल बताउँछन् ।
खनालका अनुसार यी दुवै बैंकको डीडीए रिपोर्ट तयार भइसकेको छ । उनले वार्षिक साधारण सभाबाट नै मर्जर प्रस्ताव पारित गर्ने योजना रहेकाे बताए । राष्ट्र बैंकले गत वर्षको वित्तीय विवरण स्वीकृत नगरेका कारण ढिला हुन पुगेको उनको भनाइ छ । राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत दिन ढिलाइ गरेपनि मर्जर प्रक्रियालाई भने समयमा नै सम्पन्न गर्ने उनले बताए ।
नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंक १००ः९० को अनुपातमा मर्ज हुने भएका हुन् । अर्थात् नेपाल इन्भेष्टमेन्ट बैंकको १०० कित्ता बराबर मेगा बैंकले ९० कित्ता सेयर पाउने छ । मर्जरपछि बैंकको नाम नेपाल इन्भेष्टमेन्ट मेगा बैंक राख्ने प्रारम्भिक सहमति भएको छ । साथै, मर्जरपश्चात् बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाण्डे र प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे बन्ने सम्झौता भएको छ ।
यस्तै, ग्लोबल आइएमई र बैंक अफ काठमाण्डूले पनि डीडीए रिपोर्ट तयार भइसकेको बुझिएको छ । स्रोतका अनुसार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको डीडीए रिपोर्टमा १:१ को स्वाप रेसियो आएको छ । मर्जरमा जाने निर्णय गरेका दुबै बैंकको सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन र अन्य विविध पक्षको विश्लेषणका आधारमा समान हैसियत रहने भएको हो । मर्जरपछि बैंकको अध्यक्षमा चन्द्र ढकाल र सीईओ रत्नराज बज्राचार्य हुने सहमति भएको छ ।
यस्तै, प्रभु बैंक र सेञ्चुरी बैंकबीचपुस मसान्तभित्र एकीकृत कारोबार हुने बताइएको छ । सोही अनुसार डीडीए रिपोर्ट बनिरहेको मर्जर कमिटीका सदस्य मन बहादुर राई बताउँछन् ।
‘पुस मसान्तभित्र नै एकीकृत कारोबार गर्ने लक्ष्य हो, यो भन्दा अघि पनि मर्ज हुन सक्छ, राष्ट्र बैंकबाट डीडीए रिपोर्ट स्वीकृत ढिला भएको छ, अझै केही समय लाग्ने जस्तो छ, यसअघिका मर्जर वर्षदिन पछि पनि भएका थिए,’ उनले भने ।
दुबै बैंकबीच १ः१ अनुपातको रेसियोमा मर्ज हुने सहमति भएको छ । मर्जर पश्चात् प्रभु बैंकको नामबाट एकीकृत कारोबार हुनेछ । मर्जरपछि बैंकको सीईओमा प्रभु बैंकका अशोक शेरचन र डेपुटी सीईओमा सेञ्चुरी बैंकका सीईओ मनोज न्यौपाने बन्नेछन् ।
यस्तै, हिमालयन र सिभिल बैंकले पनि एक साताभित्रै डीडीए रिपोर्ट तयार पार्ने किसिमले काम गरिरहेका छन् । दुवै बैंकको सम्झौता अनुसार स्वाप रेसियो आउने बताइएको छ ।
सिभिल बैंकको १०० कित्ता सेयर हुने सेयरधनीले हिमालयन बैंकमा ८१ कित्ता सेयर हुनेछ । मर्जर पश्चात् बन्ने बैंकको सीईओमा हिमालयन बैंकको अशोक राणा र वरिष्ठ डेपुटी सीईओमा सिभिल बैंकका सुनिल कुमार पोख्रेल बन्ने छन् ।
यस्तै, कुमारी र एनससीसी बैंकले पनि असार मसान्तसम्म एकीकृत गर्ने किसिमले काम गरिरहेका छन् । बैंकले आगामी पुस १७ गतेभित्र एकीकृत कारोबार गर्ने किसिमले काम गरिरहेका छन् ।