नेपालमा महिला विश्वकप क्रिकेट आयोजना गर्न ५ अर्बभन्दा बढी खर्च लाग्ने

<p>काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सन् २०२७ मा हुने अन्डर नाइन्टिन महिला क्रिकेट वर्ल्ड कप प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी नेपाल र बंगालादेशलाई संयुक्त रुपमा दिने निर्णय गरेको छ । नेपालको खेलकुद इतिहासमा नेपालले विश्वकप स्तरको खेलकुद सञ्चालन गर्ने अवसर प्राप्त गरेको यो पहिलो पटक हो । आइसीसीमा विश्वका १ सय ५ वटा राष्ट्र [&hellip;]</p>

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसीसी) ले सन् २०२७ मा हुने अन्डर नाइन्टिन महिला क्रिकेट वर्ल्ड कप प्रतियोगिता आयोजना गर्ने जिम्मेवारी नेपाल र बंगालादेशलाई संयुक्त रुपमा दिने निर्णय गरेको छ । नेपालको खेलकुद इतिहासमा नेपालले विश्वकप स्तरको खेलकुद सञ्चालन गर्ने अवसर प्राप्त गरेको यो पहिलो पटक हो । आइसीसीमा विश्वका १ सय ५ वटा राष्ट्र सदस्य राष्ट्रको रुपमा रहेका छन् । डेढ महिना अगाडि उक्त अन्डर नाइन्टिन महिला विश्वकप नेपालले आयोजना गर्ने भन्दै नेपाल क्रिकेट संघ क्यानले आइसीसीको आवेदन प्रकृयामा प्रवेश गरेको थियो ।

यो नेपालको खेलकुद इतिहासमा ठूलो अवसर भएकोले यसलाई आवश्यक तयारी गरेर सफल पार्नु पर्ने क्यानका अध्यक्ष चतुरबहादर चन्दले बताएका छन् । तर, नेपालमा अहिलेसम्म अन्तर्राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता आयोजना गर्नको लागि अहिलेसम्म कुनै पनि खेल मैदान योग्य छैनन् । त्यसैले अबको झण्डै साढे ४ वर्षभित्र आवश्यक पूर्वाधार बनाउने दायित्व पनि नेपाललाई आएको छ ।

सन् २०२३ मा इङ्ल्यान्डमा हुन लागेको अन्डर नाइन्टिन महिला विश्वकपमा १६ वटा राष्ट्रहरु सहभागी हुँदैछन् । सन् २०२७ मा हुने विश्वकपमा प्रतिस्पर्धामा समूह थपिन पनि सक्ने अध्यक्ष चन्दले बताए । त्यसको लागि अहिलेको भन्दा थप भौतिक संरचनाको आवश्यकता पनि पर्छ ।

नेपालले बंगालादेशसँग मिलेर विश्वकप सञ्चालन गर्दा नेपालमा पनि कम्तिमा २ वटा क्रिकेट मैदान अन्तर्राष्ट्रिय स्तरको हुनुपर्ने क्यानका अध्यक्ष चन्द बताउँछन् तर विश्वकप आयोजनाका लागि कम्तिमा ५ वटा खेल मैदान तयारी अवस्थामा राख्नुपर्ने उनको भनाइ छ । त्यसको लागि नै आइसीसीले ४ वर्षको समय उपलब्ध गराएको उनले बताए ।

‘पूर्वाधारको अवस्था वर्ल्डकप आयोजना गर्ने खालको छैन्, ४ वर्ष अगाडि नै जिम्मा दिनुको अर्थ पूर्वाधार तयार गर्नलाई नै हो’, उनले भने, ‘आइसीसीको स्ट्याण्डर्डअनुसार यो अवधिमा पूर्वाधार तयार गर्नुपर्छ ।’ अध्यक्ष चन्दका अनुसार अहिलेसम्म राम्रो मानिएको किर्तिपुर क्रिकेट मैदान पनि अन्तर्राष्ट्रिय स्तरको प्रतियोगिता आयोजना गर्नका लागि योग्य छैन । त्यस्तै पोखराको खेल मैदानमा पनि प्रतियोगिता आयोजना गर्नको लागि धेरै भौतिक पूर्वाधार लगायतका विषयहरु निर्माण गर्नुपर्ने अवस्था रहेको उनले बताए ।

किर्तिपुर क्रिकेट मैदानलाई प्रतियोगिता आयोजना गर्नको लागि योग्य बनाउन १५ करोड भन्दा ठूलो लगानीको आवश्यकता पर्ने चन्द बताउँछन् । खेलकुद खेलाउनको लागि खेलमैदान मात्रै नभएर सुरक्षा, एयरपोर्ट, होटल लगायतका सुविधाहरुको पनि जरुरत पर्ने हुँदा सोही अनुसार नै खेल मैदानहरुको निर्माण गर्नुपर्ने उनले बताए । ‘ग्राउन्ड फेसिलिटी मात्रै नभएर सेक्युरीटी, होटेल, इन्टरनेशनल एयरपोर्टको हिसाबले पनि हेर्नुपर्ने हुन्छ’, उनले भने, ‘सम्भव छ, हामीले सम्भव भएर नै प्रस्ताव गरेका हौं ।’

सबै सम्भाव्यताका आधारमा क्यानले किर्तिपुर, मुलपानी, पोखरा, भैरहवा र चितवनका खेलमैदानलाई तयारी अवस्थामा राख्नको लागि छनोट गरेको अध्यक्ष चन्दले बताए । ती खेलमैदानलाई ४ वर्षभित्रमा तयारी गर्नुपर्ने उनको भनाइ छ । त्यसको लागि नेपाल सरकारले नै भौतिक पूर्वाधारमा लगानी गर्नुपर्ने हुन्छ । ५ वटा खेल मैदान निर्माण गर्नको लागि कम्तिमा ५ अर्ब भन्दा बढी खर्च लाग्ने अध्यक्ष चन्दले बताए । खर्च व्यवस्थापनको लागि निजी क्षेत्रसँग पनि साझेदारी गर्न सकिने उनको भनाइ छ ।

‘पूर्वाधारमा आवश्यक लगानी नेपाल सरकारले नै गर्नुपर्छ, पछि आवश्यक मर्मत आइसीसीले गर्नसक्छ’, उनले भने, ‘बनाउन सजिलो छ, मेन्टेन गर्न गाह्रो छ ।’ किर्तिपुर मैदानलाई संरक्षण गर्नको लागि १७ जना कर्मचारी सहित अन्य खर्चको व्यवस्था आइसीसीले गर्दै आएको उनले बताए । स्टेडियम, भिआईपी कक्ष, लगायतका पूर्वाधारहरु निर्माण गर्दा बढी खर्च लाग्ने उनको भनाइ छ ।

आइसीसीले पनि क्यानले विश्वकपको आयोजना गर्न सक्छ भनेर नै दिएकाले अब अब भौतिक पूर्वाधार निर्माणको लागि आवश्यक पहल गर्न छलफलमा जुट्ने उनको भनाइ छ । कतिपय संरचनाको व्यवस्थापनमा निजी क्षेत्रलाई पनि आह्वान गरिने उनले बताए ।

Share News