काठमाडौं । नागरिक स्टक डिलरको तेस्रो वार्षिक साधारण सभा आज हुँदैछ । कम्पनीको तेस्रो वार्षिक साधारण सभा आज मंसिर १८ गते नागरिक लगानी कोषको कार्यलय नयाँ बानेश्वर, काठमाडौँमा अपरान्ह ४ बजेदेखि सुरू हुने भएको छ ।
कम्पनीको सभाले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ६.८५ प्रतिशत अथार्त २३ करोड ९७ लाख ५० हजार रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीको चुक्ता पूँजी ३ अर्ब ५० करोड रुपैयाँ रहेको छ ।
यस्तै, संचालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८/७९ को वार्षिक वित्तीय विवरण, आर्थिक वर्ष २०७९/८० को लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने र कम्पनीको २०७८ चैत्र ६ गते र २५ गते सम्पन्न सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरिएका सञ्चालकहरुको अनुमोदन गर्नेछ ।
कम्पनीको बोनस सेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्न लगायतका प्रस्ताव पारित गर्ने छ ।
कम्पनीको सभाले विशेष प्रस्तावका संशोधनहरुबाट प्रबन्धपत्रमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै बिषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिनेछ ।