उधारोमा खरिद गरेका लगानीकर्ताको सेयर जफत गर्दै त्रिशुली जलविद्युत कम्पनी

<p>काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीले सेयर खरिद गरेर फागुन १७ गतेभित्र रकम नतिरे सेयरधनीहरुको सेयर जफत गर्ने भएको छ । कम्पनीको प्राथमिक सेयर (आईपीओ) खरिद गरेर सम्पूर्ण रुपमा रकम भुक्तानी नगर्नेको सेयर जफत गर्न कम्पनीले चेतावनी दिएको हो । कम्पनीले आईपीओ निष्काशन गर्दा प्रतिकित्ता १० रुपैयाँका दरले रकम संकलन गरेर बाँकी ९० रुपैयाँ पछि संकलन [&hellip;]</p>

काठमाडौं । त्रिशुली जलविद्युत कम्पनीले सेयर खरिद गरेर फागुन १७ गतेभित्र रकम नतिरे सेयरधनीहरुको सेयर जफत गर्ने भएको छ । कम्पनीको प्राथमिक सेयर (आईपीओ) खरिद गरेर सम्पूर्ण रुपमा रकम भुक्तानी नगर्नेको सेयर जफत गर्न कम्पनीले चेतावनी दिएको हो ।

कम्पनीले आईपीओ निष्काशन गर्दा प्रतिकित्ता १० रुपैयाँका दरले रकम संकलन गरेर बाँकी ९० रुपैयाँ पछि संकलन गर्ने जनाएको थियो । सोही अनुसार प्रतिकित्ता १० रुपैयाँका दरले आईपीओ खरिद गरेर रकम बुझाउन बाँकी रहेका सेयरधनीहरुले फागुन १७ गतेभित्र रकम भुक्तानी नगरे सेयर जफत गर्ने चेतावनी दिएको हो ।

कम्पनीले साविक सर्वसाधारण सेयरधनी (निष्काशनकर्ता कम्पनीको कर्मचारीहरु समेत) हरुले भुक्तानी गरेको प्रतिकित्ता १० रुपैयाँमा जनताको जलविद्युत कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि, २०७५ को दफा १२ बमोजिम वार्षिक ८ प्रतिशत ब्याज प्रदान गरेको छ । सोही अनुसार भुक्तानी गर्न बाँकी रहेका सेयरधनीहरुले प्रतिसेयर ८७ रुपैयाँका दरले कम्पनी ऐन, २०६३ को दफा ५३ को उपदफा (१) र (२) को व्यवस्था बमोजिम रकम जम्मा गर्न निर्देशन दिएको थियो । कम्पनीले यसअघि उक्त रकम बुझाउन गत असोज ४ गतेदेखि कात्तिक १७ गतेसम्म समय सीमा तोकेको थियो ।

उक्त समयमा सेयरधनीहरुले बाँकी रकम भुक्तानी नगरेकाले समय थप गरेको ग्लोबल आइएमई क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पारसमणी ढकालले बताए । कम्पनीले भुक्तानी नगरेका साविकका ४६ हजार १७९ जना सर्वसाधारण सेयरधनीहरुलाई ३ महिना अर्थात् फागुन १७ गते भित्र उक्त रकम भुक्तानी गर्न भनेको सीईओ ढकाल बताउँछन् ।

‘कम्पनी ऐन, २०६३ को दफा ५३ को उपदफा (३) मा भएको व्यवस्था बमोजिम भुक्तानी हुन बाँकी प्रतिसेयर मूल्य ८७ रुपैयाँ हुन आउँछ, रकम बुझाउने अवधि ३ महिना थप गरिएको छ, ३ महनाको वार्षिक ८ प्रतिशतका दरले ब्याज रकम १.७४ रुपैयाँ थप गरी हुन आउने बाँकी रकम ८८.७४ रुपैयाँ फागुन १७ गतेसम्म बुझाउन सेयरधनीहरुलाई भनिएको हो,’ सीईओ ढकालले बताए ।

यदि थप गरिएको अवधिभित्र पनि बाँकी रकम नबुझाएमा यसअघि तिरिसकेको रकम र ब्याज रकम जाडेर थपिने रकमको मात्रै सेयर दिई बाँकी सेयर जफत गरिने उनले बताए ।

कम्पनीले जनताको जलविद्युत कार्यक्रम अन्तर्गत कम्पनीले २०७५ को चैतमा सर्वसाधारणका लागि सेयर निष्काशन गरेको थियो । आईपीओ निष्काशनका बेला पतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरको न्यूनतम १० प्रतिशतले हुन आउने १० रुपैयाँ मात्र संकलन गरेको थियो ।

आयोजनाका प्रवद्र्धक त्रिशुली जलविद्युत कम्पनीमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक सेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको ५ प्रतिशत, रसुवा तथा नुवाकोटबासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको ५ प्रतिशत सेयर स्वामित्व रहेको छ ।

दोस्रो बजारमा कारोबारका लागि तयारी रहेको सीईओ ढकालले बताए । ‘नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कम्पनीको सेयर छिट्टै कारोबार खुल्छ, सिडिएस एण्ड क्लियरिङ्ग र नेप्सेमा डकुमेन्टहरु पठाउने तयारी भइरहेको छ, शतिप्रतिशत रकम भुक्तानी गरेका लगानीकर्ताको कारोबार खुल्छ,’ उनले भने । यदि बाँकी भुक्तानी रकम नबुझाएका सेयरलाई सेयर संस्थापक वा अक्सनमा बिक्री गरिने उनको भनाइ छ ।

Share News