
काठमाडौं । एनआईबिएल एस क्यापिटलले एनआईबिएल ग्रोथ फण्ड निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने हालसम्मकै ठूलो म्युचल फण्ड निष्काशन तथा बिक्री खुला गर्ने जनाएको छ ।
कम्पनीलाई उक्त फण्ड निष्काशन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) ले स्वीकृति दिइसकेको छ । सेबोनले गत मंसिर १८ गते एनआईबिएल ग्रोथ फण्ड निष्काशन गर्न अनुमति दिएको हो ।
कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराकरको फण्ड जारी गर्ने छ । उक्त फण्डको समयावधि १० वर्ष रहेको कम्पनीले बताएको छ । कम्पनीले प्रतिइकाई १० रुपैयाँका दरले १६ लाख इकाईहरु निष्काशन गर्नेछ । जसमा लगानीकर्ताहरुले न्यूनतम ३२ करोड इकाई र अधिकतम १.६० इकाईसम्म खरिद गर्न सक्नेछन् ।
कम्पनीले फण्ड जारी भएपछि वार्षिक प्रतिफलको रुपमा २०.२५ प्रतिशत प्रतिफल इकाईधनीहरुलाई दिन सक्ने प्रक्षेपण गरेको छ ।
‘एनआईबिएल ग्रोथ फण्ड’ का इकाईहरु नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएपछि खरिदबिक्री गर्न सकिनेछ । क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत यस अघि ३ वटा बन्दमुखी योजना र एउटा खुलामुखी योजना संचालनमा गरिसकेको छ ।