
म्याग्दी । म्याग्दीमा अल्लोबाट उत्पादन गरिएका कपडा बजार अभावले गोदाममै थन्किएका छन् । जङ्गलमा खेर गएको अल्लोलाई सदुपयोग गरी गाउँमै उद्योग स्थापना गरेर अल्लोका कपडा बनाउँदै आएकाका उद्यमी बजार अभावले समस्यामा परेका हुन् ।
विगत छ वर्षदेखि धौलागिरि गाउँपालिका–७ धारापानीमा नेचुरल नेप्लिज ह्यान्डी क्राफ्ट प्रोडक्ट एन्ड मार्केटिङ उद्योग सञ्चालन गरीअल्लो कपडा उत्पादन गर्दै आएका युवा उद्यमी किरन थापाले उत्पादन भएका कपडाको बजारीकरणमा समस्या भएको गुनासो गरे । उनले अल्लोबाट उत्पादन गरेको कपडालाई कोट, पाइन्ट, टोपी, झोला, जुत्तालगायतका सामग्री बनाउनका लागि बेनी, पोखरा, काठमाडौँलगायतका ठाउँमा बजारीकरण गर्दै आएका छन् ।
पछिल्लो दुई वर्षयता अन्तर्राष्ट्रिय बजारमा नेपालमा उत्पादन भएका अल्लो कपडाको माग र निर्यात घटेको कारण उद्यमी समस्यामा परेको थापाको भनाइ छ ।
‘विदेशमा निर्यात हुने अल्लो कपडाको परिमाण अत्यन्तै कम भएको छ, मेरो उद्योगमा मात्रै पाँच सय मिटर बढी कपडा गोदाममै थन्किएको छ’, उनले भने । उद्योगबाट अल्लोको थान कपडा उत्पादन गरेर बिक्री गर्दै आएका थापाले नौ जनालाई प्रत्यक्षरुपमा रोजगार दिएका छन् । यस गाउँपालिकाको गुर्जा, मुदी, लुलाङ, मल्कवाङलगायतका जङ्गलमा खेर गइरहेको अल्लोलाई स्थानीयवासीबाट सङ्कलन गरी उद्योगमा प्रशोधन गरेर धागो बनाएर कपडा तयार गरिँदै आइएको छ ।
गत वर्ष स्थानीयवासीबाट तीन हजार किलो अल्लोको पुवा सङ्कलन गरेको उद्योगले यस वर्ष सात हजार किलोसम्म अल्लोको पुवा खरिद गर्ने जनाएको छ । उद्योगमा कपडा बुन्नेसँगै जङ्गलमा अल्लोको पुवा सङ्कलनबाट समेत स्थानीयवासीले अम्दानी गर्दैआएका छन् ।
उद्योगले अल्लोको पुवालाई प्रतिकिलो एक सय २० रुपैयाँँमा खरिद गर्दैआएको उद्यमी थापाले जानकारी दिए । ‘हामी गाउँपािलकाभित्रका स्थानीयले सङ्कलन गर्ने जति पनि अल्लोको पुवा खरिद गर्न सक्छौँ, उद्योगको क्षमताले उत्पादन बढ्दै गएकाले उत्पादिन सामग्रीको बजारीकरणमा समेत नयाँ ठाउँ र बजारको खोजी थालिएको छ’ उनले भने ।
उद्योगमा अहिलेसम्म करिब २५ लाख रुपैयाँँ लगानी भएको उनले बताए । उद्योग स्थापनामा डिभिजन वन कार्यालयले मेसिन खरिदमा अनुदान सहुलियत दिएको थियो । अल्लो कपडा उद्योगबाट उत्पादन भएका कपडामध्ये अल्लो मात्रबाट निर्मित कपडाको प्रतिमिटरको आठ सय रुपैयाँँ र कटन मिसाएको पाँच सय ५० रुपैयाँँ, ऊन मिसाएको पाँच सयमा बिक्री हुनेगरेको उद्योगका व्यवस्थापक प्रभात अधिकारीले जानकारी दिए ।
‘स्वास्थ्यको लागिसमेत लाभदायी हुने अल्लोको कपडाको प्रयोग नेपालमा धेरै हुन सकेको छैन । अझै पनि नेपालमा उत्पादन भएको कपडाको बजार विदेश नै हो, विदेशी पर्यटकको आगमन प्रभावित भएकाले पनि नेपालमा पछिल्लो समय अल्लो कपडाको बजारीकरणमा समस्या भएको देखिएको छ’ उनले भने । जङ्गलमा पुसदेखि वैशाखसम्म अल्लोको पुवा सङ्कलन गर्ने गरिन्छ । रासस