
काठमाडौं । क्षितिज गुरुङ आज भन्दा एक दशक अगाडी रोजगारीको सिलसिलामा दुबई गए । क्षितिजलाई पनि नेपालमै हुँदा उनका बुबाले कफी बनाउन सिक्न भने । उनले बुबाको कुरा स्वीकारे । उनले हिमालयन जाभामा कफी बनाउने तालिम लिए । छोरालाई कफी बनाउने सीप सिकाएर दुबई बोलाउने योजना उनका बुबाको थियो ।
बुबाले भने अनुसार नै जाभामा क्षितिजले दिनको ३/४ घण्टा कफी बनाउने तालिम लिन थाले । करिब २ हप्ता कफी बनाउने तालिम सिकेपछि उनी कफी बनाउन सक्षम भए । बुबा पनि दुबईमा काम गर्नुहुन्थ्यो, मलाई पनि तालिम लिनु भनेपछि तालिम लिएँ, त्यसको केही समयपछि दुबई लागेँ,’ उनले एक दशक अगाडिको कुरा स्मरण गर्दै भने ।
तनहुँको भानु नगरपालिका वडा नं. १२ मा जन्मिएका क्षितिज सन् २०६० मा एसएलसी परीक्षा (हालको एसईई) उतिर्ण गरेर काठमाडौं आएका थिए । चञ्चले स्वभावका क्षितिज पढाइमा पनि अब्बल । उनले मनमोहन मेमोरियल कलेजबाट व्यवस्थापन संकायमा भर्ना गरे । प्लस टु पनि पास गरे । स्नातक तह पढ्न ट्रीट्रान इन्टरनेसल कलेजमा भर्ना भए ।
तर, उनका बुबाले दुबईमा कफी बनाउनेहरुको आकर्षक तलब भएको र क्षितिजलाई पनि सिक्ने भनेपछि उनी कफी सिक्न तर्फ लागेका हुन् । स्नातक तहको पढाइ बिचमै छोडेर उनी दुबईतर्फ लागे ।
कफी बनाउने तालिम लिएर दुबई होमिएका क्षितिज राम्रो कम्पनीको छनोटमा केही महिना भौतारीए । सुरुमा उनले काम नै पाएकफी बनाउने कम्पनीमा अन्तर्वार्ता दिँदै फर्किए । अर्काको देशमा भने जस्तो काम पाउन भने त्यति सहज भने पक्कै थिएन ।
दुबई गएको २ महिनापछि मात्र उनलाई जमइका ब्लु कफी सपमा काम गर्ने अवसर मिल्यो । उक्त कम्पनीमा उनले २ वर्ष काम गरे ।‘कुन कम्पनीमा काम गर्ने त्यसको ६ महिनादेखि २ वर्षको कनट्र्याक्ट हुन्छ, उक्त भिजाको कनट्र्याक्ट सकिएपछि अन्य कम्पनीमा जान पाइन्छ, मैले पनि सो कफी सपमा ३ वर्ष काम गरेँ,त्यसपछि छाडिदिएँ,’ क्षितिजले भने ।
त्यस पश्चात् उनले कफी बनाउने कम्पनी परिवर्तन गरे । उनले दुबईमा मात्रै विभिन्न ४ वटा कफीका कम्पनीमा काम गरे । क्षितिजले दुबईमा कफी बनाएर नै ८ वर्ष बिताए । ८ वर्ष बितेको उनलाई पत्तै भएन ।
‘लगातार खाडी मुलुकमा बस्न समस्या हुन्छ, बीच बीचमा नेपाल आउँदै जाँदै गरेँ, २ महिना दुबईमा काम खोज्दै बिते, अन्य काम पाइन्थ्यो तर कफी बनाउने मेरो प्यासन थियो, आम्दानी पनि राम्रै गरेँ, नेपालमै कफी बनाउने मेरो सपना थियो,’ उनी भन्छन्,‘पछि नेपाल फर्किएँ ।’
क्षितिज सन् २०२१ मा नेपाल फर्किए । उनलाई करिब एक वर्ष भयो नेपाल फर्किएको । तनहुँमा जन्मिएका क्षितिज हाल रानीबनमा घर बनाएर बस्दै आएका छन् । लामो समय विदेशीको बसाइपछि अहिले दुई जना साथीहरूसँग मिलेर उनले पाटनको पिम्बाहलमा ‘पोर्टा कफी’ सप सञ्चालनमा ल्याएका छन् ।
‘विदेशबाट फर्किएपछि कफी सप खोली आफ्नै व्यवसाय गर्ने सोच थियो, नेपाल आएको केही समयपछि कफीका कार्यक्रममा सहभागी हुने अवसर मिल्यो, यही नयाँ कफी सप खोल्न चाहने साथीसँग पनि भेट भयो, त्यसपछि सुरु भयो पोर्टा कफी,’ उनले कफी सप स्थापनाका दिन सम्झिँदै भने ।
सबैको मन मिल्यो नयाँ कफी सप खोल्ने निर्णयमा पुगेर ‘पोर्टा कफी’ सञ्चालनमा ल्याएको क्षितिज बताउँछन् । ‘तीनै जनाले बराबर लगानी गरेर पोर्टा कफी सञ्चालनमा ल्याएको उनी बताउँछन् । कफी सञ्चालनमा आएदेखि हालसम्म १० लाख रुपैयाँ लगानी भएको उनी बताउँछन् । हाल क्षितिज, आशिस श्रेष्ठ र ईश्वर प्रधानङले संयुक्त रुपमा लगानी गरेर कफी हाउस सञ्चालन गरिरहेका छन् । 
कफीसँगको नाता क्षितिजको गहिरो छ । कफीकै मातहतबाट साथी चिनेको क्षितिज पोर्टा कफीका शाखा भविष्यमा विभिन्न ठाउँमा विस्तार गर्ने योजनाको साथ तीन साथीभाइ अगाडि बढेको बताउँछन् ।
मासिक २ लाख आम्दानी
‘पोर्टा कफी’ सञ्चालनमा आएको धेरै समय भएको छैन । तर, छोटो समयमा उच्च लोकप्रियता भने पाएको छ । क्षितिजका अनुसार पोर्टा कफी सञ्चालनमा आएको ६/७ महिना भयो । सञ्चालनमा आएको केही महिना सोचे अनुरूप आम्दानी भएन । तर, अहिले भने मासिक लगभग २ लाख रुपैयाँसम्म आम्दानी हुन् थालको उनी बताउँछन् ।
‘हामीले देश तथा विदेशमा पाउने कफीका सम्पूर्ण प्रकार बनाउँछौं, अहिले विभिन्न २५ प्रकारका सामान्य देखि चर्चित कफी बनाउँदै आएका छौं, हाम्रो लक्ष्य भनेको पोर्टा कफीलाई ब्राण्ड बनाउँनु हो, फास्ट फुडमा पनि वर्क आउट गर्दै छौं,’ उनले भने । उनका साथीहरू पहिला हस्पिटालिटी क्षेत्रमा काम गर्थे ।
अझ राम्रो आम्दानीको अपेक्षा अपेक्षा तीन साथीभाइले लिएका छन् । कफीको प्रोडकस्न र रोस्टिङ पनि गर्दै जाने उनीहरूको योजना छ ।
तालीम पनि सिकाइँदै
पोर्टा कफीमा कफी मात्रै होइन, कफी बनाउने तालिम पनि दिइन्छ । कफी बनाउने तालिम लिन इच्छुकहरूलाई उचित शुल्कमा क्षितिजको टिमले सिकाइ रहेको छ । क्षितिजका अनुसार पोर्टा कफीमा कफी बनाउन इच्छुकहरू तालिम लिनको लागि आउन सक्ने छन् ।
क्षितिजको टिमले पोर्टा कफी सञ्चालनमा ल्याएसँगै कफी बनाउने तालिम पनि दिन सुरु गरेको हो । सञ्चालक टिमका अनुसार अहिले उक्त ठाउँमा ६/७ जनाले कफी बनाउने तालिम लिइरहेको छन् । तालिम सुरु गरेदेखि २१ दिनसम्म कफीका विभिन्न प्रकारहरू बनाउन सिकाउने पनि क्षितिजले बताए ।
कफी बनाउने तालिम लिँदा १५ हजार रुपैयाँ लाग्ने पनि उनले बताए । ‘अहिले जो कोहीलाई पनि सीप सिक्ने रहर हुन्छ तर त्यो फरक भने हुन् सक्छ, वैदेशिक रोजगारीको लागि जाने युवाहरू जमात सीप सिकेर गएर राम्रो आम्दानी गर्ने सोचले पनि कफी बनाउने तालिम लिई रहेको देखिन्छ,’ उनले भने ।
छोटाे समयमा पाेर्टा कफीले एक किसिमको सफलता पाएको छ । खुसी हुँदै क्षितिज भन्छन्, ‘हामीले नै कफी बनाउन सिकाएको विद्यार्थी आज आफ्नै क्याफे खोलेर बसेका छन् ।’