साढे दुई अर्बको आईपीओ ल्याउँदै एक दर्जन कम्पनी

<p>काठमाडौं । एक दर्जन कम्पनीले करिब साढे २ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएका छन् । १२ वटा कम्पनीले प्राथमिक बजारमा २ अर्ब ४५ करोड ७ लाख रुपैयाँ बराबरको २ करोड ४५ लाख ७ हजार कित्ता सेयर निष्काशन गर्न लागेका हुन् । जसको लागि कम्पनीहरुले प्रकृया अघि बढाइसकेका छन् । १२ वटै कम्पनीले नेपाल [&hellip;]</p>

काठमाडौं । एक दर्जन कम्पनीले करिब साढे २ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने भएका छन् । १२ वटा कम्पनीले प्राथमिक बजारमा २ अर्ब ४५ करोड ७ लाख रुपैयाँ बराबरको २ करोड ४५ लाख ७ हजार कित्ता सेयर निष्काशन गर्न लागेका हुन् ।

जसको लागि कम्पनीहरुले प्रकृया अघि बढाइसकेका छन् । १२ वटै कम्पनीले नेपाल धितोपत्र बोर्डमा आवेदन दिएर सो मात्राको सेयर निष्काशन गर्ने प्रकृया अघि बढाएका हुन् ।

आईपीओ निष्काशनको पाइपलाइनमा रहेका १२ कम्पनीमध्ये अधिकांश कम्पनी हाइड्रो पावर समूहका छन् । जसमध्ये दुई लघुवित्त, अन्य समूह अन्तर्गतको एक कम्पनी र बाँकी रहेका सबै कम्पनी हाइड्रो समूहका छन् ।

लघुवित्त समूह अन्तर्गतको खप्तड लघुवित्त वित्तीय संस्था र श्रृजनशील लघुवित्त वित्तीय संस्था रहेका छन् । यी दुबै कम्पनीले क्रमशः १ करोड ३२ लाख र ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेका हुन् । उक्त सेयर निष्काशनको लागि खप्तड लघुवित्तको बिक्री प्रबन्धकमा प्रभु र श्रृजनशीलको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल छ ।

त्यस्तै, अन्य समूहअन्तर्गतको कालिञ्चोक दर्शनले १२ करोड रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्न नेपाल धितोपत्र बार्डमा आवेदन दिएको छ ।

यता हाइड्रोपावर अन्तर्गतका इष्ट्रन हाइड्रोपावर, पिपुल्स हाइड्रोपावर कम्पनी, बाराही हाइड्रोपावर पब्लिक, एशियन हाइड्रोपवार, सुपरमाई हाइड्रोपावर, सुपर मादी हाइड्रोपावर, मायाखोला हाइड्रोपावर कम्पनी, शुभम् पावर र मौलुङ्ग हाइड्रोपावर कम्पनी आईपीओ निष्काशनको तयारीमा छन् । यी सबैले स्थानीय र सर्वसाधारणलाई सेयर निष्काशन गर्न लागेका हुन् ।

जसमध्ये इष्ट्रन हाइड्रोले १२ करोड ४० लाख रुपैयाँ बराबरको १२ लाख ४० हजार कित्ता सेयर निष्काशन गर्दै छ । जसको बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

पिपुल्स हाइड्रोले ८० करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न पाइपलाइनमा छ । कम्पनीले सानिमा क्यापिटल मार्फत सो मात्राको सेयर निष्काशन गर्न लागेको हो ।

बाराही हाइड्रोले ७ लाख कित्ता अर्थात ७ करोड रुपैयाँ बराबरको सेयर जारी गर्दै छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ ।

त्यस्तै, नेपाल धितोपत्र बोर्डले अनुमति दिए एशियन हाइड्रोपावरले ११ करोड ८० लाख रुपेयाँ बराबरको सेयर निष्काशन गर्ने छ । जसको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ ।

यता सुपरमाई हाईड्रोले १० करोड र सुपर मादी हाइड्रोपावरले ३१ करोड ५० लाख रुपैयाँ बराबरको सेयर निष्काशन गर्न पाइपलाइनमा छन् । यी दुबै कम्पनीको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ ।

त्यसैगरी, आईपीओ निष्काशनको पाइपलाइनमा रहेको माया खोला हाइड्रोले प्रभु क्यापिटललाई सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । धितोपत्र बोर्डले अनुमति दिएमा कम्पनीले ३४ करोड रुपैयाँ बराबरको ३४ लाख कित्ता सेयर निष्काशन गर्ने छ ।

शुभम् पावर ५ करोड ८० लाख र मौलुङ्ग हाइड्रो ३५ लाख ३१ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने तयारीमा रहेका छन् । यी दुई कम्पनीको बिक्री प्रबन्धकमा क्रमशः मुक्तिनाथ क्यापिटल र सनराइज क्यापिटल रहेका छन् ।

यससँगै नेपाल धितोपत्र बोर्डले अनुमति दिएलगत्तै यी कम्पनीले प्राथमिक बजारमा सेयर निष्काशन गर्नेछन् ।

Share News