एनआईबिएलको ग्रोथ फण्डले २०२% प्रतिफल दिने, बजारको उतारचढावमा पनि प्ले गर्ने

<p>काठमाडौं । एनआईबिएल एस क्यापिटलले हालसम्मकै ठूलो आकारको म्युचुअल फण्डको बिक्री खुला गरेको छ । क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने &#8216;एनआईबिएल ग्रोथ फण्ड&#8217;  पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको हो । बन्दमुखी प्रकृति अन्तर्गतको यो योजनाको आकार १ अर्ब ६० करोड रुपैयाँको छ । जसको अवधि १० वर्ष रहेको छ । क्यापिटलले [&hellip;]</p>

काठमाडौं । एनआईबिएल एस क्यापिटलले हालसम्मकै ठूलो आकारको म्युचुअल फण्डको बिक्री खुला गरेको छ । क्यापिटलले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने ‘एनआईबिएल ग्रोथ फण्ड’  पुस ७ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरेको हो ।

बन्दमुखी प्रकृति अन्तर्गतको यो योजनाको आकार १ अर्ब ६० करोड रुपैयाँको छ । जसको अवधि १० वर्ष रहेको छ । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्य दरका १६ करोड इकाईहरु निष्काशन गरेको हो । जसमध्ये १९ प्रतिशत अर्थात् ३ करोड ४ लाख इकाई कोष प्रवद्र्धक नेपाल इन्भेष्टमेन्ट बैंकका लागि, १ प्रतिशत अर्थात् १६ लाख इकाई योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलका लागि र बाँकी १२ करोड ८० लाख इकाई सर्वसाधारणका लागि छुट्याइएको छ ।

इच्छुक लगानीकर्ताले छिटोमा पुस १२ गते र ढिलोमा पुस २१ गतेसम्म आवेदन दिन सक्नेछन् । उनीहरुले न्यूनतम १ सय इकाईदेखि अधिकतम १ करोड ६० लाख इकाईसम्म आवेदन पाउने व्यवस्था छ ।

क्यापिटलको एनआईबिएल ग्रोथ फण्ड निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल रहेको छ । एनआईबिएल ग्रोथ फण्डमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरी सम्पूर्ण आस्बा सेवा दिइरहेका बैंक तथा वित्तीय संस्था र तिनका तोकिएको शाखा कार्यालयबाट सि-आस्बा प्रणालीबाट आवेदन दिन सक्नेछन् ।

दीर्घकालमा ग्रोथ गर्ने उद्देश्य

क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मेख बहादुर थापाका अनुसार एनआईबिएल ग्रोथ फण्ड बजारमा आइरहेका फण्ड जस्तै हो । यसको साइज ठूलो भएको हुँदा फ्लेक्जिबिलिटी हुने गरेको उनले बताए । दीर्घकालमा राम्रो ग्रोथ गर्ने, आम्दानी गर्नेसँगै बिजनेश ग्रोथ राम्रो भएको इक्विटीलाई विशेष प्राथमिकतामा राखिएको उनको भनाइ छ । अल्पकालमा कम प्रफर्मेन्स गरेर दीर्घकालमा राम्रो ग्रोथ गर्ने फण्डको उद्देश्य रहेको उनले बताए । ‘ठूलो साइजको भएको हुनाले पनि धेरै नाफा उठाउन सजिलो हुन्छ, एभरेजिङ गर्नुपर्यो भनेपनि बजारको उतारचढावमा प्ले गर्न सकिन्छ,’ उनले भने ।

फण्डबाट उठेको रकम कहाँ लगानी गर्छ ?

योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटलले फण्डबाट संकलन भएको रकम विभिन्न योजनाहरुमा लगानी गर्ने तयारी गरेको छ । सेबोनमा दर्ता भएको धितोपत्र, सार्वजनिक निष्काशन भएका धितोपत्र, धितोपत्र विनिमय बजारमा सूचीकृत धितोपत्रमा लगानी गर्ने छ । यस्तै, नेपाल राष्ट्र बैंकले जारी गरेको ऋणपत्र, ट्रेजरी बिल तथा मुद्रा बजार र अन्य साधना, बैंक निक्षेप, मुद्रा बजार उपकरण लगायत बोर्डले तोकिदिएका अन्य क्षेत्रमा लगानी गर्ने क्यापिटलले बताएको छ ।

‘इक्विटीमा ६५/७० प्रतिशत लगानी गर्ने योजना छ, हरेक क्षेत्रमा ग्रोथ फ्याक्टर भएको, विजनेश ग्रोथ राम्रो भएका, भविष्यमा राम्रो गर्न सक्ने इक्विटीमा बढी लगानी गर्ने योजना छ, बैंकिङ्ग क्षेत्रमा राम्रोसँग अध्ययन गरेर लगानी गर्ने हो, नाम नै ग्रोथ फण्ड भएकाले बिजनेश ग्रोथ बढी गर्न सक्ने कम्पनीलाई बढी प्राथमिकता दिइनेछ,’ डीसीईओ थापाले भने ।

लगानीकर्तालाई २०२ प्रतिशत प्रतिफल, कुन वर्षमा कति ?

क्यापिटलले फण्डका इकाईधनीहरुलाई प्रत्येक वर्ष प्रतिफल वितरण गर्ने लक्ष्य लिएको छ । विभिन्न क्षेत्रमा लगानी गरेपश्चात हुने आम्दानीलाई क्यापिटलले सबै खर्च कटाएर इकाईधनीहरुलाई प्रतिफल वितरण गर्नेछ । कम्पनीले १० वर्षको अवधिमा इकाईधनीहरुलाई कूल २०२ प्रतिशत प्रतिफल दिने अनुमान गरिएको छ ।

फण्डका इकाईधनीहरुलाई पहिलो वर्ष ३०.०१ प्रतिशत प्रतिफल दिने प्रक्षेपण गरेको छ । यस्तै, दोस्रो वर्ष १६.२१ प्रतिशत, तेस्रो वर्ष २४.७८ प्रतिशत, चौंथों वर्ष २२.५५ प्रतिशत र पाँचौ वर्ष २६.४० प्रतिशत प्रतिफल वितरण गर्ने प्रक्षेपण गरेको छ । यस्तै, कम्पनीले छैठौं वर्ष २७.६६ प्रतिशत, सातौं वर्ष २४.७६ प्रतिशत, आठौं वर्ष २३.७७ प्रतिशत, नवौं वर्ष २४.२८ प्रतिशत र दशौं वर्ष १८ प्रतिशत प्रतिफल दिने कम्पनीको प्रक्षेपण रहेको छ । डीसीईओ थापाले पनि इकाईधनीहरुलाई हरेक वर्ष प्रतिफल दिने क्यापिटलको लक्ष्य रहेको बताएका छन् । ।

‘फण्डको वर्थ बढाएर मध्यम लाभांशमा जाने योजना छ, मुद्दती निक्षेपको हाराहारीमा १२/१५ प्रतिशत रिटर्न दिने प्रक्षेपण छ, कम्तिमा पनि मुद्दती निक्षेपको रिटर्न बिड गर्नुपर्ने अन्तर्राष्ट्रिय अभ्यास छ किनकी इकाईधनीहरुले स्ट्याण्डर्ड फिक्स्ड छोडेर आएका हुन्छन्,’ उनले भने, ‘सकेसम्म ग्रोथमै न्याभ बढाएर एकैचोटी दिने हो, न्याभ अन्तिममा २० रुपैयाँ फर्काउने छ, शतप्रतिशत रिटर्न अन्तिममा दिने हो, १० रुपैयाँ लगानी गरेर २० रुपैयाँ फिर्ता दिने प्रक्षेपण गरिएको छ ।’

यसअघि निष्काशन गरेका फण्डको प्रतिफल

एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत बजारमा एनआईबिएल समृद्धि फण्ड-१ (बन्दमुखी), एनआईबिएल प्रगति फण्ड (बन्दमुखी), एनआईबिएल समृद्धि फण्ड-२ (बन्दमुखी), र एनआईबिएल सहभागिता फण्ड (खुलामुखी) योजनाहरु सञ्चालनमा आइसकेका छन् । जसमध्ये एनआईबिएल समृद्धि फण्ड-१ २०७८ पौष २२ गते परिपक्क भैसकेको छ । त्यस्तै, एनआईबिएल प्रगति फण्ड बन्दमुखी योजनाहरुको अवधि ७ वर्ष र एनआईबिएल समृद्धि फण्ड-२ बन्दमुखी योजनाको अवधि १० वर्ष रहेको छ ।

क्यापिटलले एनआईबिएल समृद्धि फण्ड-१ का इकाईधनीलाई ९८.५ प्रतिशत प्रतिफल वितरण गरेको थियो । यस्तै, एनआईबिएल प्रगति फण्डका ईकाईधनीहरुलाई २ वर्षको अवधिमा ५४.२ प्रतिशत लाभांश वितरण गरेको छ । क्यापिटलले एनआईबिएल समृद्धि फण्ड-२ र एनआईबिएल सहभागिता फण्डका इकाईधनीहरुलाई भने हालसम्म प्रतिफल वितरण गरिसकेको छैन । तर गर्ने तयारीमा भने छ ।

फण्ड सञ्चालन गर्न कति लाग्छ खर्च ?

कम्पनीले फण्ड निष्काशन गर्न लाग्ने खर्च विवरण पनि उल्लेख गरेको छ । कम्पनीले फण्ड निष्काशन पूर्व हुने खर्च विवरण र निष्काशनपश्चात् हुने खर्चको विवरण पनि इकाईधनीहरुका लागि सार्वजनिक गरेको छ । कम्पनीको योजना दर्ता शुल्क ०.०७५ प्रतिशत वा १० लाख रुपैयाँ, निष्काशन तथा बिक्री प्रबन्ध शुल्क योजनाको ४० लाख रुपैयाँ हुने अनुमान गरिएको छ ।

यस्तै, धितोपत्र दर्ता आवेदन शुल्क २० हजार रुपैयाँ, विवरणपत्र प्रशोधन शुल्क २५ हजार रुपैयाँ, योजना दर्ता शुल्क १२ लाख रुपैयाँ, प्रक्षेपित वित्तिय विवरण प्रमाणिकरण शुल्क ५० हजार ८५० रुपैयाँ, निष्काशन तथा बिक्री प्रबन्धक शुल्क ४० लाख रुपैयाँ, बैधानिक विज्ञापन, सूचना, विवरणपत्र तथा अन्य प्रकाशन खर्च ३ लाख रुपैयाँ, मिडिया खर्च ४० लाख रुपैयाँ, सिडिएससीको आस्बा सफ्टवेयर २० हजार रुपैयाँ, प्रोफेशनल कम्पुटर सिस्टमको बाँडफाँड गर्ने सफ्टवेयर ३१ हजार रुपैयाँ, इकाई बाँडफाँड खर्च ८० हजार रुपैयाँ, प्रिन्टिङ्ग खर्च ३ लाख ६६ हजार रुपैयाँ र बाँडफाँड भएका इकाइहरुको अभौतिकिकरण र सफ्टवेयर शुल्क ७ लाख ४० हजार रुपैयाँ हुने अनुमान गरिएको छ ।

क्यापिटलको सञ्चालक र व्यवस्थापक टीम

क्यापटलको सञ्चालक समितिमा संस्थापक समूहको सेयरधनीहरुको प्रतिनिधित्व गर्ने ६ जना संस्थापक र ३ जना स्वतन्त्र संचालक गरी ६ जना छन् । क्यापिटलको अध्यक्षमा संस्थापकको तर्फबाट सचिन टिब्रेवाल छन् । उनी नेपाल इन्भेष्टमेन्ट बैंकको तर्फबाट अध्यक्ष बनेका हुन् ।

यस्तै, क्यापिटलको सञ्चालकहरुमा दिपककुमार श्रेष्ठ, सृजना पाण्डे, रबिन्द्र भट्टराई र आनन्दकुमार भट्टराई रहेका छन् । हाल संस्थापक समूहबाट प्रतिनिधित्व गर्ने ३ जना र स्वतन्त्र संचालक १ जना नियुक्त हुन बाँकी रहेको छ । कम्पनीको मूख्य कम्पनी नेपाल इन्भेष्टमेण्ट बैंक मर्जर प्रक्रियामा रहेको छ । बैंक मर्जर पश्चात् एनआईबिएल एस क्यापिटल पनि स्वतः मर्जरमा जानेछ । क्यापिटलसँग मर्ज हुने कम्पनीबाट पनि सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने भएकोले मर्जर भए पश्चात् संचालक समितिले पूर्णता पाउनेछ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा शिवान्त बहादुर पाँडे कार्यरत छन् । ४१ वर्षिय पाँडेसँग एमएसम्मको शैक्षिक योग्यता छ । उनले ६ वर्षसम्म नेपाल इन्भेष्टमेन्ट बैंकमा विभागिय प्रमुख भएर काम गरिसकेका छन् । यस्तै, सोफिया इन्भेष्टमेण्टमा १ वर्ष र डिलोईट् टूर्स टोमात्सू, इमर्जिङ्गमा १ वर्ष काम गरेको अनुभव उनीसँग छ । क्यापिटलमा प्रमुख कार्यकारी अधिकृत पदमा रहेर ६ वर्ष भन्दा बढीको कार्यानुभव समेत रहेको छ ।

क्यापिटलका नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा चार्टर्ड एकाउण्टेन्ट हुन् । मर्चेन्ट बैंकहरुको नियामक निकाय नेपाल धितोपत्र बोर्डमा उपनिर्देशक तथा विभागिय प्रमुख तहमा करिब ४ वर्षको कार्य अनुभव उनीहसँग रहेको छ । उनले स्नातक तहमा लेखा तथा वित्त विषयको अध्यापन समेत गरेका छन् ।

यसअघि सिद्धार्थ क्यापिटलमा प्रमुख संचालन अधिकृत र कम्पनी सचिव पदमा करिव ३ वर्ष बढी काम गरेका उनी एनआईबिएल एस क्यापिटलमा महाप्रबन्धक र नायव कार्यकारी अधिकृतको पदमा ७ वर्षदेखि कार्यरत छन् ।

नायब महाप्रबन्धक सचिन्द्र ढुङ्गाना चाटर्ड एकाउण्टेन्ट हुन् । उनले एस.आर पाण्डे एण्ड कम्पनीमा अडिट म्यानेजरको पदमा रही करिब ६ वर्षको काम गरेका थिए । एनआईबिएल एस क्यापिटलमा बिजनेस सर्पोट म्युचुअल फण्ड हेडको पदमा रही करिब २ वर्षको कार्य अनुभव सँगालेका छन् । उनले यसअघि नबिल इन्भेष्टमेण्ट बैंकिङमा प्रमुख सञ्चालन अधिकृत, वित्तीय प्रमुख मर्चेन्ट बैंकिङ्ग प्रमुखको रुपमा २ वर्ष काम गरेका थिए ।

फण्ड व्यवस्थापकको परिचय

एनआईबिएल एस क्यापिटल (तत्कालिन एनआईबिएल क्यापिटल मार्केट्स) वि.सं. २०६७ फागुन २५ मा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको थियो । धितोपत्र व्यवसायीः मर्चेन्ट बैंकरको रुपमा नेपाल धितोपत्र बोर्डबाट वि.सं. २०६९ असार ४ मा अनुमतिपत्र प्राप्त गरेको थियो भने वि.सं. २०६९ श्रावण १६ देखि मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा विभिन्न संघ संस्थाहरुको धितोपत्रको सार्वजनिक निष्काशन र प्रत्याभूति सेवा कार्य गर्दै आएको छ । हाल कम्पनीले आफ्नो सेवालाई विविधीकरण गर्दै सेयर रजिष्ट्रार सेवा, लगानी व्यवस्थापन तथा निक्षेप सदस्यको सेवा प्रदान गर्दे आइरहेको छ । साथै, कम्पनीले वि.सं. २०७० भदौ ७ मा नेपाल धितोपत्र बोर्डबाट योजना व्यवस्थापक तथा डिपोजिटरीको कार्य गर्नको लागि समेत अनुमति प्राप्त गरी हालसम्ममा एनआईबिएल समृद्धि फण्ड-१ (२०७८ साल पौष २२ गते परिपक्क भैसकेको) र एनआईबिएल समृद्धि फण्ड-२ तथा एनआईबिएल प्रगति फण्ड नामक दुईवटा बन्दमुखी योजना र एनआईबिएल सहभागिता फण्ड नामक खुलामुखी योजना सञ्चालन गरिरहेको छ ।

साविक एनआईबिएल क्यापिटल मार्केट्स र साविक एस क्यापिटल एक आपसमा मर्जर भई वि.सं. २०७४ माघ २८ गतेदेखि एनआईबिएल एस क्यापिटलको नामबाट एकीकृत कारोबार सञ्चालन हुँदै आएको छ । क्यापिटलमा नेपाल इन्भेष्टमेन्ट बैंकको १ सय प्रतिशत लगानी रहेको छ । क्यापिटलको चुक्ता पुँजी २७ करोड रुपैयाँ रहेको छ ।

क्यापिटलको आगामी योजना

कम्पनीले व्यवसाय तथा कार्यक्षेत्र विस्तार, आयमिक सोचका साथ अन्तराष्ट्रिय स्तरको सेवा प्रवाह योजनाका साथ यस प्रकारको व्यवसायमा व्यवसायिक तथा प्रतिस्पर्धि संस्थाको रूपमा अघि बढ्ने रणनीति लिएको छ । यस्तै, व्यवसायर सेवा बृद्धिका लागि योजना व्यवस्थापकको भावी योजना र त्यस्तो योजनाको प्राप्तिका लागि चालिने समयवद्ध रणनीति र प्रतिस्पर्धा, विद्यमान आर्थिक स्थिति र समान किसिमको उद्योगको स्थितिको आधारमा योजना व्यस्थापकको व्यवसायको भविष्य रहेको छ ।

३ वर्षसम्मको अवधीलाई अल्पकालीन अवधिको रुपमा इङ्गित गर्दै आर्थिक वर्ष २०८१/८२ भित्र हाल संचालनमा रहेका एनआईबिएल सहभागिता फण्ड र एनआईबिएल समृद्धि फण्ड २ योजनाहरुका अलावा अन्य ४ वटा थप सामूहिक लगानी कोष योजनाहरु संचालन गर्ने योजना क्यापिटलको छ । योजनाहरुको चुस्त दुरुस्त व्यवस्थापनका लागी आवश्यक जनशक्ति तथा संयन्त्रलाई प्रभावकारी रुपमा स्पष्ट कार्यदिशा रहित परिचालित गर्ने कम्पनीले जनाएको छ ।

पीई/भीसी तथा अन्य नविनतम सेवाहरुलाई समेत पूँजी संकलन तथा नवप्रर्वद्धित उद्योगहरुको लागी लगानी जुटाउने संयन्त्रको रुपमा तयार गर्ने कम्पनीको योजना रहेको छ । लगानी व्यवस्थापन सेवालाई थप प्रभावकारी बनाई ग्राहक संख्या र कूल लगानी रकममा हालको भन्दा गुणत्मक वृद्धि गरिने लक्ष्य राखिएको छ भने ग्राहकको लगानीमा उचित प्रतिफल प्राप्ति गर्ने तर्फ विशेष रणनिति अंगिकार गरिने छ ।

विभिन्न क्षेत्रका २० भन्दा बढी कम्पनीको सार्वजनिक निष्काशन गर्दै छरिएको पूँजीलाई एकिकृत गर्दै पूँजी निर्माणमा सहायक भूमिका निभाउने लक्ष्य लिएको छ । प्रत्याभूति सेवालाई थप परिष्कृत गर्ने र सेवालाई थप ग्राहक मैत्रि बनाईने कम्पनीले बताएको छ ।

कम्पनीले आफ्नो मध्यकालिन रणनिति अनुरुप आगामी ५ वर्ष सम्मको लक्ष्यहरु निर्दिष्ट गरेको छ । प्रत्येक वर्ष दुई नयाँ प्रकारको योजना दर्ता तथा संचालनको प्रक्रियामा लैजाने र ग्राहक संख्या ३ गुणाले बृद्धि गर्ने, सबै प्रदेश राजधानीहरुमा शाखा कार्यालयहरु स्थापना गर्ने, देश बाहिर समेत सेवालाई विस्तार गर्ने योजना कम्पनीको छ ।

Share News