
काठमाडौं । विभिन्न ५ कम्पनीको लाभांश सुरक्षित गर्ने मंगलबार अन्तिम दिन रहेको छ । नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंक, राधी विद्यूत कम्पनी र बिन्ध्यबासिनी हाइड्रोपावरको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।
नेपाल एसबिआई बैंक, सिद्धार्थ बैंक, लुम्बिनी विकास बैंक, राधी विद्यूत कम्पनी र बिन्ध्यबासिनी हाइड्रोपावरले लाभांश वितरण तथा साधारण सभा प्रयोजनार्थ भोलि बुधबार बुक क्लोज गर्ने भएका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम सेयरधनीहरुले मात्र यी ५ कम्पनीको लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन पाउनेछन् ।
नेपाल एसबिआई बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद (कर समेत) गरी कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश प्रस्ताव पारित गर्न बैंकले २९ औं वार्षिक साधारण सभा पुस २५ गते त्रिभुवन आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे बोलाएको छ ।
सिद्धार्थ बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.६६ प्रतिशत नगद गरी कूल १३.१६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले २१ औं वार्षिक साधारण सभा पुस २८ गते आर्मी अफिसर्स क्लब, भद्रकाली काठमाडौंमा बिहान ११ बजे बोलाएको छ ।
लुम्बिनी विकास बैंकले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस सेयर र ९ प्रतिशत नगद गरी कूल १२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । बैंकले १५औं वार्षिक साधारण सभा पुस २६ गते अमृतभोग कालिकास्थान, काटमाडौंमा बिहान ११ बजे बोलाएको छ ।
राधी विद्युत कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले पुस २८ गते कम्पनीको कार्यालय त्रिपुरेश्वर काठमाडौंमा बिहान ११ बजे वार्षिक साधारण सभा बोलाएको छ ।
बिन्ध्यबासिनी हाइड्रोपावर कम्पनीले गत आर्थिक वर्ष २०७८÷७९ को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३ प्रतिशत नगद लाभांश गरी कूल ५.२६३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले छैठौं बार्षिक साधारणसभा पुस २२ गते केन्द्रिय कार्यलय बानेश्वर काठमांडौमा बिहान १० बजे बोलाएको छ ।