निर्जीवन बीमाको लघुबीमा व्यवसाय ४ सय प्रतिशत बढ्यो, उठाए ३ करोड बढी प्रिमियम

<p>काठमाडौं । पछिल्लो समय लघुबीमा व्यवसाय बढ्दो छ । गत पाँच महिनाको अवधिमा निर्जीवन लघुबीमा व्यवसायमात्रै करिब ४०० प्रतिशतले बढेको छ । नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुले गत साउनको तुलनामा मंसिर महिनासम्ममा ३९६.२६ प्रतिशतले लघुबीमा व्यवसाय बढाएका हुन् । कम्पनीहरुले मंसिरसम्ममा ३ करोड १२ लाख रुपैयाँ बराबरको प्रिमियम निर्जीवन बीमा व्यवसायबाट संकलन गरेका [&hellip;]</p>

काठमाडौं । पछिल्लो समय लघुबीमा व्यवसाय बढ्दो छ । गत पाँच महिनाको अवधिमा निर्जीवन लघुबीमा व्यवसायमात्रै करिब ४०० प्रतिशतले बढेको छ ।

नेपाल बीमा प्राधिकरणका अनुसार निर्जीवन बीमा कम्पनीहरुले गत साउनको तुलनामा मंसिर महिनासम्ममा ३९६.२६ प्रतिशतले लघुबीमा व्यवसाय बढाएका हुन् । कम्पनीहरुले मंसिरसम्ममा ३ करोड १२ लाख रुपैयाँ बराबरको प्रिमियम निर्जीवन बीमा व्यवसायबाट संकलन गरेका छन् । जुन गत साउनमा ६३ लाख ३ हजार रुपैयाँ थियो ।

त्यस्तै, समीक्षा अवधिमा बीमाशुल्कसँगै बीमालेख संख्या पनि बढेको छ । गत साउनमा २ हजार ९०९ वटा लघुबीमा बीमालेख जारी गरेका कम्पनीले मंसिरसम्ममा १५ हजार ८५ वटा जारी गरेका छन् ।

सबैभन्दा बढी बाग्मती प्रदेशमा, कुनमा कति ?

समीक्षा अवधिमा बाग्मती प्रदेशबाट सबैभन्दा बढी बीमाशुल्क संकलन भएको छ । निर्जीवन बीमा कम्पनीले बाग्मती प्रदेशमा मात्रै ४ हजार २७६ वटा बीमालेख जारी गरी ९२ लाख ८३ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन गरेका छन् ।

बाग्मतीपछि सबैभन्दा बढी लघुबीमा व्यवसाय गण्डकी प्रदेशमा भएको देखिन्छ । मंसिरसम्ममा गण्डकीमा लघुबीमाबाटै ९२ लाख ६४ हजार रुपैयाँ बराबरको प्रिमियम संकलन भएका छन् । कूल ३ हजार ७५५ वटा बीमा पोलिसीबाट सो मात्राको प्रिमियम संकलन भएको हो ।

त्यस्तै, प्रदेश १ बाट ५१ लाख ६८ हजार, लुम्बिनी प्रदेशबाट ४३ लाख ९२ हजार, सुदुरपश्चिमबाट २० लाख ३० हजार, कर्णालीबाट ७ लाख ३८ हजार र मधेश प्रदेशबाट ४ लाख ४ हजार रुपैयाँ बराबरको बीमाशुल्क संकलन गरेको छ । निर्जीवन बीमा कम्पनीहरुले प्रदेश १ मा ४ हजार २७६ वटा, लुम्बिनी प्रदेशमा ३ हजार ५०४ वटा, सुदुरपश्चिममा ८७१ वटा, कर्णालीमा ४३२ वटा र मधेशमा २२१ वटा लघु बीमालेख जारी गरेका छन् ।

नयाँ लघुबीमा कम्पनीहरु आउने भएसँगै पुराना कम्पनीहरु लघुबीमा व्यवसायमा आक्रामक भएको तथ्यांकले देखाउँछन् । बीमा प्राधिकरणले हालै ७ वटा लघुबीमा कम्पनीलाई लघुबीमा व्यवसाय गर्न छनोट गरेसँगै पुराना कम्पनीहरु पनि उक्त व्यवसाय विस्तारमा केन्द्रित भएको जानकारहरु बताउँछन् । प्राधिकरणले बीमाको पहुँचलाई विपन्न वर्गसम्म पुर्याउन उक्त व्यवसाय गर्नमात्रै छुट्टै कम्पनीलाई लाइसेन्स दिन लागेको हो ।

Share News