
काठमाडौं । इन्डियन आयल कर्पोरेसन (आइओसी) ले नेपाललाई बिक्री गर्ने पेट्रोलियम पदार्थको मूल्य बढाएर पठाएको छ । नेपाल आयल निगमका अनुसार आइतबार आईओसीबाट मट्टितेलबाहेकका इन्धनको नयाँ मूल्य पठाएको हो । भारतले इन्धनको मूल्य बढाएर पठाए पनि इन्धनको नेपाल आयल निगमले मूल्य यथावत राख्ने जनाएको छ ।
निगमका अनुसार पेट्रोलमा २.५४ रुपैयाँ, डिजेलमा २.९५ रुपैयाँ, हवाई इन्धनमा ४.१३ रुपैयाँ प्रतिलिटर र एलपीजी ग्याँसमा प्रतिसिलिन्डर ७८.२२ रुपैयाँ मूल्य बढेर आएको छ । मट्टितेलमा भने घटेर आएको छ ।
अहिलेको मूल्यमा इन्धन बेच्दा एलपीजी ग्याँसमा प्रति सिलिन्डर ३५९.५० रुपैयाँ घाटा रहे पनि समग्रमा भने पेट्रोल, डिजेल, हवाई इन्धन र मट्टितेलमा भएको नाफाका कारण १५ दिनमा ९९ करोड नाफामा नै रहेको छ ।
निगमलाई १५ दिनमा एलपीजी ग्याँसमा मात्रै ४६.४४ करोड घाटा भएपनि समग्रमा नाफा नै रहेको छ । निगमको सरकारलाई तिर्नुपर्ने र आइओसीलाई तिनुपर्ने सम्पूर्ण रकम जोडेर झन्डै १८ अर्ब बक्यौता रहेको छ ।