काठमाडौं । जीवन बीमा गर्ने बीमितहरुले एक अर्ब बढी रकमको बीमा पोलिसी त्याग (सरेन्डर) गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार मंसिरमा ७ हजार ६५० जना बीमितले एक अर्ब १ करोड ६२ लाख रुपैयाँ बराबरको बीमा पोलिसी सरेन्डर गरेका हुन् ।
जसमध्ये सबैभन्दा बढी नेपाल लाइफ इन्स्योरेन्सको पोलिसी सरेन्डर भएका छन् । कम्पनीमा जीवन बीमा गरेका २ हजार ४७२ बीमितले ३३ करोड १ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका हुन् ।
त्यस्तै, १० करोडभन्दा बढी रकमको पोलिसी सरेन्डर हुनेमा नेपाल लाइफसहित अन्य दुई कम्पनी रहेका छन् । लाइफ इन्स्योरेन्स (नेपाल)का बीमितले १८ करोड ८५ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण गरेका छन् । कम्पनीका ५७२ जना बीमितले सो रकमको पोलिसी बीचमै रोकेका हुन् ।
मंसिर महिनामै नेशनल लाइफका ७१० जना बीमितले ११ करोड ८३ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर गरेका छन् ।
त्यस्तै, ८ कम्पनीका बीमितहरुले करोड बढीको पोलिसी सरेन्डर गरेका छन् । प्राइमको ८ करोड २३ लाख, राष्ट्रिय बीमा संस्थानको ७ करोड ९७ लाख, गुराँस लाइफको ४ करोढ ९५ लाख, युनियन लाइफको ३ करोड ७७ लाख, एशियन लाइफको ३ करोड २८ लाख, मेटलाइफको २ करोड ५० लाख, सूर्या लाइफको २ करोड १ लाख र ज्योति लाइफको १ करोड ३९ लाख रुपैयाँ बराबरको पोलिसीहरु सरेन्डर भएका छन् ।
यता ८ कम्पनीको करोडभन्दा कम रकमको बीमा पोलिसी सरेन्डर भएको छ । जसमा आईएमई लाइफ, सन नेपाल लाइफ, रिलायन्स लाइफ, रिलायबल नेपाल, सिटिजन, सानिमा, प्रभु र महालक्ष्मी लाइफ इन्स्योरेन्स रहेका छन् ।
यीमध्ये रकमका आधारमा सबैभन्दा कम महालक्ष्मी लाइफ इन्स्योरेन्सको पोलिसी सरेन्डर भएको छ । समीक्षा अवधिमा महालक्ष्मीको ३४ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएका छन् ।
संख्याको आधारमा हेर्ने हो भने सानिमा लाइफको सबैभन्दा कम छ । कम्पनीका २६ जना बीमितले ३६ लाख रुपैयाँ बराबरको पोलिसी बीचमै रोकेका छन् ।