
काठमाडौं । निरन्तर उकालो लागेको सेयर बजार बिहीबार पनि बढेको छ । नयाँ सरकार गठन भएसँगै उकालो लागको सेयर बजारले बिहीबार पनि निरन्तरता पाएको हो । आज नेप्से परिसूचक दोहोरो अंकले बढेसँग कारोबार रकममा उछाल आएको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १७.९२ अंकले बढेर २१४३.७६ अंकमा बन्द भएको छ । अघिल्लो दिनको तुलनामा बिहीबार ०.८४ प्रतिशतले बजार बढेको हो ।
यस्तै, साताको अन्तिम दिन २५९ कम्पनीको १ करोड २५ लाख ८१ हजार ९८२ कित्ता सेयर ७१ हजार ८१६ पटक किनबेच हुँदा ५ अर्ब ४ करोड ७ लाख ४० हजार ९३७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज विभिन्न ९ कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । आज चन्द्रागिरी हिल्स, बुद्धभूमि नेपाल हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त, सिर्जनशील लघुवित्त, बाराही हाइड्रोपावर, हिमालय उर्जा विकास, इस्टर्न हाइड्रोपावर र हिमालयन हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।
बिहीबार हिमालयन डिस्टीलरीको सर्वाधिक ४३ करोड १९ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यस्तै, रिडी पावर कम्पनीको २१ करोड ४१ लाख ८ हजार रुपैयाँ, हिमालयन दोलखा हाइड्रोपावरको ११ करोड ८४ लाख ७८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।