दुबईमा प्रेम बसेको रोज ग्राण्डा र जंगबहादुरको जोडीको मोरङमा ‘फुड ट्रक’ व्यवसाय

<p>काठमाडौं । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेका छन् । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि ग्रान्डाले प्रोत्साहित गरे । ती दम्पतीले अहिले ‘फुड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहेका छन् । विश्वकर्मा र [&hellip;]</p>

काठमाडौं । मोरङको सुन्दरहरैंचाका नेपाली युवासँग वैवाहिक सम्बन्धमा बाँधिएर नेपाल आएकी फिलीपिनो महिला रोज ग्रान्डा समाजका लागि उदाहरण बनेका छन् । कोरोनाकालमा आर्थिक अभावका कारण वैदेशिक रोजगारीमा जान ठिक्क परेका आफ्ना पति जङ्गबहादुर विश्वकर्मालाई नेपालमै काम गर्नका लागि ग्रान्डाले प्रोत्साहित गरे । ती दम्पतीले अहिले ‘फुड ट्रक’ सञ्चालन गरी प्रशस्त आम्दानी गरिरहेका छन् ।

विश्वकर्मा र ग्रान्डाले फुड ट्रक सञ्चालन गरिरहेका छन् । फुड ट्रक भनेको ४ चक्के गाडीमा मांसाहारी र शाकाहारी खानाका विभिन्न परिकार पकाएर बिक्री गर्ने होटल हो । विराटनगर–४ को कञ्चनबारीको सडक छेउमा यी दम्पतीले दिनको ३ बजेदेखि बेलुकीको ७ बजेसम्म फुड ट्रक चलाउने गरेका छन् । विराटनगरमा यो एकमात्र फुड ट्रक हो । फुड ट्रकबाट दैनिक १५ देखि २० हजार रुपैयाँसम्मको व्यापार हुने गरेको छ ।

वि.सं २०५२ मा दुबईको स्पिनिस क्याटेरिङमा व्यवस्थापक पदमा काम गर्न विश्वकर्मा दुबई गएका थिए । त्यहीको अर्को कम्पनी केयरफोरमा काम गर्ने फिलिपिन्सकी महिला ग्रान्डासँग विश्वकर्माको प्रेम बस्यो । २०७५ मा दुवै स्वदेश फर्किएर अदालतमा आधिकारिक विवाह गरे ।

वि.सं २०७६ चैत ११ गतेदेखि देशमा कोरोनाका कारण लकडाउन लागेपछि विश्वकर्मा र ग्रान्डालाई पनि आर्थिक समस्या पर्यो । लकडाउन खुल्नेबित्तिकै विश्वकर्माले पुनः वैदेशिक रोजगारमा जाने तयारी गर्न थाले । तर, ग्रान्डाले नेपालमै प्रशस्त सम्भावना देखिन् । आफ्ना श्रीमानलाई नेपालमा नै व्यवसाय गर्न प्रेरित गरिन् ।

४ चक्के गाडीमा विभिन्न खानेकुराको परिकार बनाएर घुम्ती होटलको व्यवसाय चलाउनु विदेशमा सामान्य हो । क्याटेरिङमा काम गरिरहेका विश्वकर्मालाई खाना बनाउने ज्ञान थियो । ग्रान्डाको सल्लाह र सुझावमा विश्वकर्माले गाडी किने र होटलको आकार दिए । यसमा उनको २२ लाख रुपैयाँ खर्च भयो । गाडीवाला होटलले हाल दैनिक २० हजार रुपैयाँसम्मको कारोबार गर्ने गरेको छ । शान्त र जति पनि अवसर रहेको नेपाल छाड्न मनै नलागेको ग्रान्डाले बताइन् ।

उनले वैदेशिक रोजगारीमा जाने युवायुवतीका लागि नेपालमै प्रशस्त अवसर रहेको जनाईन् । ३ महिनाअघि मात्र नेपाली नागरिकता पाएकी ग्रान्डा आफ्ना श्रीमान् विश्वकर्मासँग अङ्ग्रेजीमा वार्तालाप गर्छिन् भने ग्राहकसँग मज्जाले नेपालीमा कुराकानी गर्छिन् ।

विराटनगर–४ स्थित नोबेल मेडिकल कलेजका चिकित्सक डा.सूर्यप्रकाश सोनीले आफू फुड ट्रकको नियमित ग्राहक भएको बताए । उनले फिलिपिन्सकी महिलाको मेहेनत देखेर आफू दङ्ग हुने गरेको बताए । विराटनगर–२ की रेणुका श्रेष्ठले गाडीमा पकाएको खाना स्वादिष्ट हुने गरेको तर्क गरिन् । उनले फिलिपिन्सबाट आएकी ग्रान्डाबाट विदेश जान खोज्ने युवायुवतीले धेरै कुरा सिक्न सक्ने बताइन् । जाँगर भए नेपालमा प्रशस्त आम्दानी गर्न सकिने भन्ने उदाहरण ग्रान्डाले प्रस्तुत गरेको श्रेष्ठले बताइन् । रासस ।

Share News