
काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक मर्जर सम्झौता हुने भएको छ । दुवै बैंकबीच समान हैसियतमा सोमबार मर्जरको प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर हुने भएको हो ।
लक्ष्मी बैंक र सनराइज बैंकले आ–आफ्नो मर्जर समिति गठन गरेर काम मर्जरका लागि विभिन्न चरणमा छलफल गरेका थिए । धेरै पटक दुई बैंकका मर्जर समितिबीच छलफल भएपछि १ः१ अनुपातमा मर्ज हुने सहमति भएको हो । तर, सम्पति तथा दायित्वको मूल्यांन (डीडीए) रिपोर्टमा ५ प्रतिशतभन्दा बढिको फरक पर्न गएमा सोही अनुसार स्वाप रेसियो निर्धारण हुने लक्ष्मी बैंकका अध्यक्ष रमण नेपालले बताए ।
‘स्वाप रेसियो डीडीएले तय गर्छ, राष्ट्र बैंकको मर्जर विनियमावलीमा १० प्रतिशत भनिएको छ तर, ५ प्रतिशत भन्दा बढी भयो भने सोही अनुसार स्वाप रेसियो निर्धारण हुनेछ, अहिले समान हैसियत भनिएको छ,’ उनले भने ।
मर्जर पश्चात् बैंकको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सीईओ) दुवै लक्ष्मी बैंकले पाउने सहमति भएको छ । लक्ष्मी बैंकका अध्यक्ष रमण नेपाल मर्जर पश्चात् बन्ने बैंकको अध्यक्ष बन्नेछन् भने सीईओ अजय बहादुर शाह बन्ने सहमति भएको छ ।
मर्जर पश्चात् बैंकको नाम लक्ष्मी सनराइज बैंक राख्ने सहमति भएको छ । छिटो छरितो काम गर्ने सानो सञ्चालक समिति बनाउने योजना रहेको उनको भनाइ छ ।
‘धेरै विषयमा कुराकानी हुन बाँकी छ, एमओयू भएपछि संयुक्त मर्जर समिति बन्छ, सबै कुराहरुको टुंगो सम्झौता पछि हुनेछ,’ उनले भने, ‘५ जनाको मात्रै सञ्चालक समिति बनाउने योजना छ तर भोलिका दिनमा के हुन्छ त्यहि अनुसार अघि बढ्छौं, जति जनाको सञ्चालक भएपनि बराबर हैसियतमा सञ्चालक समिति बन्छ ।’
सनराइज बैंकको चुक्ता पूँजी १० अर्ब ११ करोड रुपैयाँ रहेको छ भने लक्ष्मी बैंकको चुक्ता पूँजी ११ अर्ब ५५ करोड रुपैयाँ रहेको छ । यदि समान हैसियतमा मर्ज भएभने बैंकको चुक्ता पूँजी २१ अर्ब ६६ करोड रुपैयाँ पुग्नेछ ।
यस्तै, लक्ष्मी बैंकको निक्षेप संकलन १ खर्ब ४२ अर्ब ६४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ रहेको छ । यस्तै, लक्ष्मी बैंकको कर्जा १ खर्ब ३७ अर्ब ४ करोड रुपैयाँ र सनराइज बैंकको १ खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ रहेको छ ।
मर्जर पश्चात् बन्ने बैंकको निक्षेप संकलन २ खर्ब ६७ अर्ब ८३ करोड रुपैयाँ र कर्जा २ खर्ब ५६ अर्ब ४१ करोड रुपैयाँ पुग्नेछ ।
लक्ष्मी र सनराइज बैंक मर्जरको तयारीमा, पुसभित्रै सम्झौता हुने सम्भावना कति ?