
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले महिला लघुवित्त वित्तीय संस्था र महुली लघुवित्त वित्तीय संस्थाको कारोबार रोक्का गरेको छ । दुवै लघुवित्तले कारोबार समयमा लाभांश वितरण गर्ने घोषणा गरेको भन्दै कारोबार रोक्का गरेको हो ।
कारोबार समयमा लाभांश वितरण गर्ने प्रस्ताव गरेर सेयर मूल्यमा प्रभाव पार्न खोजेको आरोपमा दुवै कम्पनीलाई नेप्सेले स्पष्टिकण समेत सोधेको छ ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१) बमोजिम जानकारी नगराएको र धितोपत्रको कारोबार तथा मूल्यसँग सम्बन्धित संवेदनशिल सूचना तथा जानकारी सर्वसाधारणलाई सूचनाको पहुँचबाट कम्पनीका पदाधिकारीले वञ्चित गराई धितोपत्रको मूल्यमा प्रभाव पारेको नेप्सेले जनाएको छ ।
विनियमावलीको विनियम १६ (१) (ख) मा भएको व्यवस्था अनुरूप धितोपत्रको कारोबार रोक्का गरिएको र के कति कारणबाट समयमानै जानकारी नदिएको हो ? भन्दै ३ दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन दिएको छ ।
महिला लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि २.५ प्रतिशत नगद गरी कूल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।
त्यस्तै, महुली लघुवित्तले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल २५ नगद लाभांस वितरण गर्ने प्रस्ताव गरेको हो ।