
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले रिडी हाइड्रोपावरका अध्यक्षलाई कारबाही गरेको छ । आफू अध्यक्ष रहेकै बेला कम्पनीको सेयर किनबेच गरेको भन्दै नेपाल धितोपत्र बोर्डले रिडी हाइड्रोपावरका अध्यक्ष गुरूप्रसाद न्यौपानेलाई कारबाही गरेको हो ।
धितोपत्र दर्ता तथा निष्कासन नियमावली २०७९ अनुसार संगठित संस्थाको सञ्चालक, कार्यकारी प्रमुख, लेखापरीक्षक, कम्पनी सचिव वा संस्थाको व्यवस्थापन वा लेखासम्बन्धी कार्यमा प्रत्यक्ष संलग्न व्यक्तिले पदमा बहाल रहँदासम्म वा अवकाश लिएको एक वर्षसम्म उक्त संस्था वा सहायक कम्पनीको सेयर खरिदबिक्री गर्न नपाउने व्यवस्था रहेको छ । सोही व्यवस्थालाई उलङ्घन गर्दै न्यौपानेले रिडी हाइड्रोपावरमा अध्यक्ष रहेकै बेला २०७७ चैतदेखि २०७८ भदौ पहिलो सातासम्म कम्पनीको सेयर किनबेच गरेका थिए ।
उनलाई ७५ हजार रूपैयाँ जरिवाना र १० वर्षसम्म कुनै पनि पब्लिक कम्पनीको सञ्चालक, महाप्रबन्धक वा त्यस सरहको पदमा रहन नपाउने गरी कारबाही गरिएको बोर्डका अध्यक्ष रमेश हमालले जानकारी दिए । उनका अनुसार धितोपत्र बोर्डसम्बन्धी ऐन र नियम पालना नगर्नेलाई कारबाहीको सुरूआत गरिएको हो ।
त्यस्तै, केयर रेटिङ नेपालले क्रेडिट रेटिङ नियमावली २०६८ उल्लघंन गरी आफ्नो मुख्य सेयरधनीको क्रेडिट रेटिङ गराएको भन्दै कारबाही किन नगर्ने भनेर सफाइ पेस गर्न भनिएको छ ।
यस्तै बोर्डले तोकिएको वित्तीय प्रतिवेदन नबुझाउने र त्रैमासिक विवरण नदिने तीनवटा ब्रोकर कम्पनीलाई जरिबाना गरेको छ । सनी सेक्युरिटिज, इम्पेरियल सेक्युरिटिज र त्रिशूल सेक्युरिटिजले समयमा प्रतिवेदन पेस नगरेको भन्दै जरिवाना तिराएको बोर्डले जनाएको छ । सनीलाई १० हजार रुपैयाँ, इम्पेरियल र त्रिशूल सेक्युरिटिजलाई ७५/७५ हजार रूपैयाँ जरिवाना तोकिएको छ ।