जनक शिक्षाको गुणस्तरहीन ४ ट्रक कागज प्रहरी नियन्त्रणमा, ३ दिनदेखि सडकमै ९ ट्रक

<p>भक्तपुर । पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि ४ ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ । केन्द्रको पदाधिकारीको मिलेमतोमै फिर्ता भएको कागज पुनः केन्द्रमा आएको आरोप लागेपछि बिहीबार शिक्षा मन्त्रालयको सहसचिवको टोलीसहित स्थानीय सरकारका रूपमा रहेको मध्यपुरथिमि नगरपालिकाले केन्द्रको अनुगमन [&hellip;]</p>

भक्तपुर । पुस्तक छपाइ गर्न गुणस्तरहीन कागज ल्याएको भन्दै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले फिर्ता गरेको कागज सप्लायर्स कम्पनीले पुनः जनक शिक्षामै ल्याएपछि ४ ट्रक कागज प्रहरीले नियन्त्रणमा लिएको छ ।

केन्द्रको पदाधिकारीको मिलेमतोमै फिर्ता भएको कागज पुनः केन्द्रमा आएको आरोप लागेपछि बिहीबार शिक्षा मन्त्रालयको सहसचिवको टोलीसहित स्थानीय सरकारका रूपमा रहेको मध्यपुरथिमि नगरपालिकाले केन्द्रको अनुगमन गर्दै यसबारे चासो लिएको छ । मन्त्रालयका प्रवक्ता दीपक शर्मासहितको टोलीले जनक शिक्षाको कागज प्रकरणमा आएको चर्चाको बारेमा केन्द्रका प्रबन्ध निर्देशक अनिलकुमार झासँग जानकारी लिएको थियो । झाले केहीले केन्द्रका बारेमा भ्रम छरेको भन्दै केन्द्रमा आएको ४ ट्रक कागजको गुणस्तर परीक्षण गर्न बाँकी रहेको र यसबारेमा मन्त्रालयसहितलाई छानबिन गर्न आग्रह गरेका थिए ।

त्यसलगतै मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठ र उपप्रमुख विजयकृष्ण श्रेष्ठले केन्द्र पुगेर कागज प्रकरणका बारेमा प्रबन्ध निर्देशक झासँग जानकारी मागे । उनीहरुले नगरपालिकालाई जनक शिक्षालगायतका यहाँका शैक्षिक कार्यालयले अहिलेसम्म कर नतिरेको भन्दै तत्काल नगरपालिकाले निर्धारण गरेको कर तिर्न आग्रह गरे ।

केन्द्रका प्रबन्ध निर्देशक झाले जनक शिक्षामा कक्षा ११ र १२ को पुस्तक छपाइका लागि ७० ग्रामको कागज ल्याउन ठेक्का सम्झौता भए पनि असोज २५ गतेदेखि कात्तिक ४ गतेसम्म आएका १६४ टन कागज गुणस्तरहीन रहेका र ६५ ग्रामको मात्र रहेको पाइएपछि गत कात्तिक १७ गते फिर्ता गरेको बताए । ‘केन्द्रले गुणस्तरहीन कागज फिर्ता लगेर सम्झौताअनुसार गुणस्तरीय कागज ल्याउन कात्तिक १७ गते सप्लायर्सलाई पत्र पठाएका हौँ, गत २४ र २५ गते कागज फिर्ता गर्याे र हिजो बिदाको दिनमा कागज लिएर आएछ, गुणस्तर जाँचपछि कारबाही प्रक्रिया अगाडि बढाउँछौँ,’ उनले भने ।

यसबारेमा शिक्षा मन्त्रालयको टोलीसँग छलफल भइसकेको र आन्तरिकरूपमा पनि छानबिन गर्ने उनले बताए । उनले सप्लायर्स कम्पनीको बदमासी पाइए उसले राखेको ५  करोड रुपैयाँ धरौटी जफतसमेत हुनसक्ने बताए । केन्द्रका प्रवक्ता चित्रराज आचार्यले केन्द्रमा दैनिक कागज आउने गरेको जानकारी दिँदै आएका कागज नापतौल तथा गुणस्तर विभागले गुणस्तर परीक्षण गरेपछि मात्रै प्रयोगमा ल्याउने प्रक्रिया रहेको बताए ।

केन्द्रले टेण्डरमार्फत ललितपुरको नेपाः हिमा ट्रेड लिङ्क प्रालिसँग गत भदौ २७ गते १ हजार मेट्रिकटन कागज ३० दिनभित्र र थप ५ मेट्रिकटन गरी कूल १ हजार ५ मेट्रिकटन कागज आउँदो माघ ४ गतेसम्म ल्याइसक्नुपर्ने सम्झौता गरेको थियो । सम्झौता गरेको सप्लायर्सले जनकपुरको एभरेष्ट पेपर मिल्स प्रालिबाट कागज ल्याएपनि गुणस्तरहीन कागज ल्याएको प्रमाणित भएपछि केन्द्रले कात्तिक १७ गते फिर्ता गरेको थियो ।

‘समयमै कागज दिन नसक्दा गत वर्ष एउटा कम्पनीको ८ करोड रुपैयाँ धरौटी जफत गरेका थियौँ, अहिले पनि समयमै कागज ल्याउन नसके र यस्तै भए ५ करोड रुपैयाँ धरौटी जफत गर्छौं तर, केन्द्रका बारेमा बाहिर फैलाइएको अफवाहमा हाम्रो आपत्ति छ, केन्द्रबाट कुनै भ्रष्टाचार र अनियमितता भएको छैन,’ केन्द्रका प्रवक्ता आचार्यले भने ।

सप्लायर्स कम्पनीले भने जनक शिक्षाबाट फिर्ता लगेको ९ ट्रक कागज नजिकै मनोहरा किनारामा रहेको एक ग्यारेजमा २ दिन राखेर पुनः सोही कागज केन्द्रमा फिर्ता ल्याएको बताइएको छ । ४ ट्रक प्रहरीले नियन्त्रणमा लिएर केन्द्रमै राखेको छ । कागज बोकेको अन्य ९ ट्रक भने ३ दिनदेखि सानोठिमी सडकमै रहेको छ ।

Share News