
काठमाडौं । पर्वत उद्योग वाणिज्य संघले ‘सातौं पर्वत महोत्सव’ आयोजना गर्ने भएको छ । पर्वतको कृषि, उद्योग, खेलकुद, पर्यटन लगायत समग्र आर्थिक व्यवसायका क्षेत्रको प्रवर्द्धन गर्ने उद्देश्य सहित उक्त महोत्सव गर्न लागिएको संघले जनाएको छ ।
पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीका अनुसार उक्त महोत्सव यही माघ ११ गतेदेखि २१ गतेसम्म सञ्चालन हुनेछ । १० दिन चल्ने उक्त महोत्सवमा आन्तरिक तथा बाहृय पर्यटक सहित करिब ३ लाख भन्दा बढीले अवलोकन गर्ने अनुमान गरिएको छ ।
‘पर्वत महोत्सव ११ गतेबाट सुरु हुँदै छ, हामी महोत्सव व्यवस्थापनको अन्तिम चरणमा छौं, यहाँका स्थानीय उत्पादनदेखि हरेक क्षेत्रको प्रवर्द्धन गर्नको लागि सो महोत्सवको आयोजना गर्न लागेका हौं,’ उनले भने ।
उक्त महोत्सवमा २ सय ७५ वटा स्टल रहने र पर्वतका व्यवसायीहरुलाई ५० प्रतिशत छुटको व्यवस्था गरेको पनि अधिकारीले बताए ।
मेलामा ५ करोड रुपैयाँभन्दा बढीकाे आर्थिक कारोबार हुने अपेक्षा राखेको अध्यक्ष अधिकारीले जानकारी दिए ।