काठमाडौं । पुर्वाञ्चल ल्युव आयलले आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले सर्वसाधारण लगानीकर्ताका लागि चुक्ता पूँजी ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्ता सेयर बिक्री गर्ने भएको छ ।
कम्पनीले आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकका लागि प्रभु क्यापिटललाई नियुक्त गरेको छ । बिक्री प्रबन्धकमा नियुक्त भएसँगै आईपीओ निष्काशनको अन्य प्रक्रियाको काम प्रभु क्यापिटलले गर्नेछ ।
पुर्वाञ्चल ल्युव आयल र प्रभु क्यापिटलबीच माघ १८ गते आईपीओ बिक्री प्रबन्धकमा नियुक्त गर्ने सम्झौता भएको छ । पुर्वाञ्चल ल्युव आयलका प्रबन्ध संचालक भोलेश्वर दुलाल र प्रभु क्यापिटलका प्रबन्ध संचालक दिनेश थकालीले सम्झौतामा हस्ताक्षर गरेका छन् ।
पुर्वाञ्चल ल्युव आयलको रजिष्टर्ड कार्यालय सुन्दरहरैचा ९ मोरङ्गमा रहेको छ । कम्पनीले विगत २३ बर्षदेखि पीएलओ ब्राण्डका ल्युब्रीकेन्ट उत्पादन तथा बिक्री वितरण गरिरहेको छ । कम्पनीको उत्दपादन ल्युब्रीकेन्ट नेपालभर ९० भन्दा बढी डिलर, ५ हजारभन्दा बढी खुद्रा व्यापारी र २ लाखभन्दा बढी ग्राहकहरुले उपयोग गरिरहेको छन् । विदेशबाट आयातीत ल्युब्रीकेन्टलाई प्रतिस्थापन गर्न कम्पनीले योगदान गरिरहेको छ ।