काठमाडौं । धनुषा जिल्लाका कृषकले आफूहरु बीमाबारे स्पष्ट नभएको बताएका छन् । उनीहरुले चैतेधान, आँप र माछा लगायतको बीमाबारे स्पष्ट नभएको गुनासो गरेका हुन् ।
नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा यही माघ १९ गते बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रममा बोल्दै कृषकहरुले सो गुनासो गरेका हुन् । योसँगै उनीहरुले पशुबीमा दाबी भुक्तानी ढिलो हुने गरेको र बीमाशुल्क बुझाए अनुसारको दाबी भुक्तानी नपाएको पनि उल्लेख गरे ।
कार्यक्रममा प्रमुख अतिथि लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले बीमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक सुरक्षण हुने भएकाले एक कप चिया नखाएर भए पनि जीवन तथा निर्जीवन बीमा गर्न सबैलाई आग्रह गरे ।
अध्यक्ष मिश्रले समय अनुसार सबै कुरा परिवर्तनशील भएकाले रकम बचत गरेर घर, कृषिबाली र पशुको बीमा गर्नुपर्ने आवश्यकता औंल्याए ।
यसैगरी, नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा यही माघ १८ गते सिरहा जिल्लाको नवराजपुर गाउँपालिकामा बीमा सम्बन्धी जानकारीमूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा नवराजपुर गाउँपालिकाका अध्यक्ष शिव उद्गार यादवले सबै वडाअध्यक्षहरुलाई आ-आफ्ना वडाका गाउँ गाउँ, टोल टोलमा गएर बीमाका बारेमा प्रचार प्रसार गर्न आग्रह गरे ।
कार्यक्रममा सहभागीहरुले कृषि बीमाका लागि बीमा अभिकर्ता वडा वडामा जानुपर्ने, बीमाका बारेमा जानकारी अभावका कारण बीमा गरेपछि भुक्तानी पाइँदैन भन्ने सोचाई रहेको, दाबी भुक्तानी प्रक्रिया झण्झटिलो रहेको लगायतका धारणा राखेका थिए ।