बाख्रापालनबाट ४ लाख आम्दानी गर्दै किसान

<p>तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–५ चिमखानाका कृषक कृष्ण खड्काले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् । विगत केही वर्षदेखि बाख्रापालन व्यवसाय सुरु गरेका उनले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आएका छन् । उनले बाख्रापालनबाट वार्षिक करिब चार लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । कृपा कृषि तथा पशु फार्म दर्ता गरेर बाख्रापालन गर्नुभएका खड्का फार्ममा [&hellip;]</p>

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिका–५ चिमखानाका कृषक कृष्ण खड्काले बाख्रापालनबाट मनग्य आम्दानी गर्दै आएका छन् ।

विगत केही वर्षदेखि बाख्रापालन व्यवसाय सुरु गरेका उनले बाख्रापालनबाट भएको आम्दानीले घरखर्च चलाउँदै आएका छन् । उनले बाख्रापालनबाट वार्षिक करिब चार लाख रुपैयाँ आम्दानी गर्दै आएका छन् । कृपा कृषि तथा पशु फार्म दर्ता गरेर बाख्रापालन गर्नुभएका खड्का फार्ममा अहिले २८ वटा बाख्रा छन् । खड्कालाई बाख्रापालनका लागि श्रीमती, छोरा र बुबाले सघाउँदै आएका छन् ।

‘जहाँ गए पनि केही न केही गर्नुपर्दछ, त्यो भन्दा आफ्नै गाउँमा नै बाख्रा र कृषि गर्छु भन्ने सोचसहित व्यवसाय सुरु गरेको हुँ’, उनले भने । लगातारको निरन्तर प्रयासले बाख्रापालनबाटै घरखर्च चलेको उनको भनाइ छ । ‘घरमा खाली बस्नुपरेको छैन । आम्दानीको स्रोत पनि बनेको छ’, उनले भने, ‘काममा दत्तचित्त भएर लाग्ने भए पैसा कमाउन विदेश जानुपर्दैन ।’

खड्काले बाख्राका लागि आवश्यकपर्ने घाँसखेती गरेका छन् । आफ्नै जग्गामा घाँसखेती गरिरहेको उनले बताए । ‘स्थानीय जातका बाख्राको मूल्य राम्रो हुने र जोखिम पनि कम हुँदा व्यवसायले सन्तुष्टि दिएको छ’, उनले भने ।

कृषक खड्काले बाख्रापालनबाट खर्च कटाएर मासिक ३० हजार रुपैयाँभन्दा बढी आम्दानी गर्दै आएका छन् । ‘बाख्रा बिक्रीका लागि बजारको समस्या छैन, खर्च कटाएर बचेको पैसाले घरखर्च चल्दै आएको छ’, उनले भने ।

उनले बाख्रापालका अलवा तरकारी खेती पनि गर्दै आएका छन् । पाँच रोपनी क्षेत्रफलमा काउली खेती गरेका खड्काले तरकारी बिक्रीबाट पनि राम्रो आम्दानी भएको बताए । ‘बजार नजिक भएका कारण तरकारी बिक्रीमा समस्या छैन’, उनले भने । पशुपालनमा लागे पनि कतैबाट केही अनुदान नलिएको उनको भनाइ छ ।

गाउँपालिकाले व्यावसायिकरुपमा पशुपालन तथा कृषि गररहेका कृषकलाई प्रोत्साहनका लागि अनुदान दिने व्यवस्था मिलाएको छ । त्यसका लागि गाउँपालिकाले अनुगमन सुरु गरेको गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए । ‘कृषकलाई प्रोत्साहन गर्नका लागि अनुदानको व्यवस्था मिलाएका छौँ, त्यसका लागि विभिन्न ठाउँ पुगेर अनुगमन गरिरहेका छौँ’, उनले भने ।

गाउँपालिकाले व्यावसायिक कृषकका लागि चालू आर्थिक वर्षमा बोका वितरणका लागि तीन लाख ५० हजार रुपैयाँ, च्यापकटर वितरणका लागि रु एक लाख, गोठ खोर निर्माणका लागि चार लाख रुपैयाँ, लोकल कुखुरा वितरणका लागि एक लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

‘व्यावसायिकरुपमा पशुपालन गरिरहेका कृषकलाई पशुपालनमै टिकाइराख्न अनुदान नीति गाउँसभाबाट पारित भएर बजेट विनियोजन भइसकेको छ’, गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले भने, ‘अनुदान लिन चाहने कृषकसँग निवेदन माग गरेका छौँ ।’ उनका अनुसार कृषकले गाउँपालिकामा निवेदन दिएका कृषकको फार्म अनुगमन सुरु गरिएको छ । रासस

Share News