काठमाडौं २८, असोज । दसैंमा विशेष गरी दीर्घायु र सुखसमृद्धिको आशिष दिइन्छ । तर, कालिकोटमा यसपालि फरकखाले आशिष दिइयो । महिला हिंसाविरूद्धको अभियानस्वरूप सरोकारवालाले बालविवाह न्यूनीकरणका शुभकामना आदानप्रदान गरे ।

उनीहरूले आफन्तलाई आशिष दिए, ‘कसैले बालविवाह नगरून्, छोरीचेलीले अकालमा ज्यान गुमाउनु नपरोस्, बालविवाह अन्त्य होस् ।’
२०७५ सालभित्र कालिकोटलाई बालविवाह मुक्त जिल्ला बनाउन अघि सारिएको रणनैतिक योजना पूरा गर्न गाउँगाउँमा अभियान सञ्चालन भइरहेको छ ।
अभियानअन्तर्गत जिल्लाका ३० मध्ये जुविथा, सुकाटिया, छाप्रे, मान्म, दाहा, पाखा, कालिका, रकु र राचुली गरी ९ गाविस बालविवाह मुक्त घोषणा भइसकेको जिल्ला बालकल्याण समिति महिला विकास अधिकृत सीता थापामगरले बताइन् ।
अन्य गाविसमा पनि गाउँ बाल संरक्षण समितिमार्फत अभियान चलिरहेको उनले जानकारी दिइन् । कान्तिपुर दैनिकबाट ।